उ-हारी कि बुहारी

उ-हारी कि बुहारी

सपना र अपना (आफ्नो मान्छे घर अनि आफू)को सम्झौतापछि मात्र केटी बुहारी बन्न सक्छे। जहाँ सम्झौता भनेको लगभग हार नै हो। ‘चाहेको पाउन नसक्नु’लाई मायामा त्यागको ट्याग लाग्छ होला। तर बिहेमा आजकाल माया कहाँ हुन्छ र ? हारेको शरीरमा हार लगाउनु नै विवाह हो। हारपछिको प्यारमा संसार कहाँ हुन्छ र ?       

- धेरै छिटो बिहे गरिस् त केटो ? (आँखामा अश्लीलता झल्किने, डबल मिनिङवाला प्रश्न थिएन)

- घरमा मम्मीलाई सजिलो हुन्छ भनेर।

भन्न त मन थियो ‘काम गर्ने मान्छे ल्याको’ भनेर। तर, भनिनँ। तेरो लेक्चर सुरु नगर् भन्ने वचन धेरै खाएरै हो, साथी संगतबाट पातलिँदै गएको। जे होस्, मेरो साथी एक्लो छैन यो समाजमा। ऊ जस्ता ४५ प्रतिशत मान्छे अझै पनि घरमा काम गर्ने मान्छे खोज्न जन्ती लिएर जान्छन् र धूमधामले बुहारी भित्र्याउँछन्।

‘भित्र्याउनु’, के यो शब्दले बुहारी बाहिर ननिकाल्नु भन्दै छ ? बाहिर ननिकाल्नु अर्थात् भित्र्याउनु !

इन्डियन आयल कर्पोरेसनको एउटा ट्रकमा लेखिएको थियो, ‘डिजेल चाहिए पेट्रोल नही, दुल्हन चाहिए नोकरानी नही।’

०००

फेरि पनि मेरो ज्वाइँ मेरो नजरबाट गिरे। परराष्ट्रमा अधिकृत छन्, उनी। सोचाइ राम्रो भइदेको भए होइसिन्छ भन्थेँ होला तर उन्लाई छन् नै सुहाउँछ। उनका बा आर्मीको अवकाशे मेजर। आमा पनि रिटायर्ड हाउस वाइफ (बैनीको नयाँ नियुक्तिपछि)।

महालक्ष्मीस्थानमा उनको घरको छतबाट ज्याकारान्डा फुलेको प्रस्ट देखिन्छ। हरेक साँझ-बिहान घरको काम सकेर मेरी बैनी यहीँ निलाम्मे फुलेको फूलसँग आफूलाई दाँज्दी हो र कालाम्मे हुने गरी उसलाई अँध्यारोले छोप्दो हो।

शृंखला खतिवडाको दुई वर्ष पहिले बिहे भएको भए ? रञ्जु दर्शना कसैकी बुहारी भइसकेकी भए ? हजारौं बुहारीको भीडमा उनीहरूको नाम पनि गुमनाम हुन्थ्यो कि ?

ब्याचलर जाँच बिगारी, लोकसेवामा नाम निकाल्नका लागि। उसका साथी कलेज जान्थे। बंक हान्थे। सिज्नल पिकनिक इएर्ली टुर जान्थे। तर ऊ कलेज-सोसियल मिडिया सबै हापेर, बन्द कोठामा सामान्य ज्ञानको जप, दिनको १६ घण्टासम्म गर्थी।

२०७२ सालमा सुब्बामा नाम निकाल्दा लोकसेवाको साइटमा त्यसको नामपछाडि, एक कक्षा पनि नपढेको हजुरबाको पनि नाम निस्क्यो। बूढा जिउँदै भा’को भए भन्थेँ होला, ‘हेर बूढा... नातिनीले पनि नाम राख्छन्।’

बैनी सधैं भन्थी, ‘तँ लफंगा बन्दै हिँड् है, एक दिन मेरो क्याबिनमा ‘म्याडम चिया’ भन्दै आउनुपर्दा अनि था पाउलास् !’

तर त्यसको सपना पूरा हुन सकेन। न मैले सरकारी अड्डामा क्यान्टिन नै खोलेँ। न त त्यसको वैकल्पिकमा निक्लिएको नाम सिफारिस नै हुन सक्यो। साह्रै मेहनती, हिमालको उचाइदेखि महासागरको गहिराइ, पूर्वका लेप्चादेखि पश्चिमका राउटे, संविधानका धारादेखि निजामतीका दफा-उपदफा सबै खरररर भन्थी। अहिले त्यसको निराशाको उचाइ सगरमाथाको भन्दा माथि र आत्मबलको गहिराइ धनुषाको मुसरनियाभन्दा तल पुगेको छ।

अर्को वर्ष पनि कोसिस गरी तर नाम निस्केन। २०७४ मा पनि तयारीमा थिई। तर उसको सपनामाथि बाआमाको जिम्मेवारी हाबी भयो। परराष्ट्रको अधिकृत भन्नेबित्तिकै उसको सपना प्राथमिकतामा पर्न सकेन। दुवैको इन्ट्रेस्ट एउटै लाइनमा भएकाले ज्वाइँले छोरीलाई नाम निकाल्न मद्दत गर्नेछन् भन्ने स्वघोषित मनोभाव सबैको मनमा भयो तर मुखमा आएन।

बिहे भयो। पछि बैनीको नियुक्ति निजामतीमा हैन निजी-मतिले भट्टराई निवासमा भयो। ज्वाइँले सम्झाएछन् बैनीलाई- हेर... म कमाउँछु। बुवाको पेन्सन आउँछ। घर भाडाबाट पनि राम्रै आम्दानी छ। तिम्ले जागिर किन खानु पर्‍यो ? भाग्यले साथ दियो भने पाकिस्तानको दूतावासमा सिफारिसमा पर्ने सम्भावना छ। सँगै जानुपर्छ।

महिनाको तलबले घर खर्चमा सहयोग गर्ने, घरको काम बूढाबूढी मिलेर गर्ने, रारा-तिलिचो टे«क जाने, वर्षमा एउटा इन्टरनेस्नल टुर जाने, रातो कलम नीलो कोटभित्रको खल्तीमा भिर्ने, जिल्लाको सीडीओ बनेर मेरो क्याफेमा रेड हान्ने मेरी बैनीको सपना, घरको चार भित्ता अनि उसको निराशामै सीमित हुने भयो।

डिभोर्सको सल्लाह गरेकी थिई, आमासँग। आमा बेहोस भएर तेस्रो दिनमा होस आएपछि उसको डिभोर्सको टपिक अहिलेसम्म बेहोस छ।

ज्वाइँलाई थुप्रै पल्ट सम्झाइसकेँ। मेरो घरको मामलामा नबोल्नुस् भनेपछि हद पार गर्ने कुरा आएन।

बैनीलाई तँ आइजो घर, छोड् त्यो गोरुलाई भन्दा बाबाआमाको मुख सम्झी भन्छे। आर्थिक रूपमा सक्षम अनि सबल हुन्थी भने उसलाई निर्णय लिन यति गाह्रो हुन्थेन। म हरेक पल्ट ‘सादी मे जरुर आना’ फिल्म सम्झिन्छु। सायद त्यसको बिहेभन्दा पहिला यो फिल्म हेर्न पाएको भए बैनी पनि भाग्थी होला। बाबाको थप्पड म हातले रोक्थेँ होला। अनि सायद महालक्ष्मीस्थानको ज्याकारान्डासँग तुलना गर्दा, त्यसले आफूलाई फूलभन्दा ब्युटिफुल पाउँथी होला।

मामाकी कान्छी छोरी सर्टिफिकेटमा रेन्जर छे। काम ? डक्टर लोग्नेको घर हेर्नु। बोटबिरुवासँगको मायालाई छतको गमलामा पानी हालेर सीमित बनाएकी छे। उसको सपनामा पानी हाल्ने मान्छे स्लाइन पानीमै व्यस्त छ।

ठूली फुपूको एउटै छोरी सर्टिफिकेटमा एमबीए छे। काम ? सीए लोग्नेको बाउआमा स्याहार्नु। व्यवस्थापन शब्द भान्छा अनि घरको सरसफाइमै सीमित छ। उसको सपनाको हिसाब किताब राख्नुपर्ने मान्छे, प्रोफिट लस अनि ब्यालेन्स सिटको हिसाब किताबमा मस्त छ।

बिहेपछि पनि रहरको पछाडि कुद्न नखोजेको हैन। पाइलामा पाइला चाल्ने वचन दिएको मान्छे नै खुट्टा तान्ने भएपछि कसको के लाग्छ ? रेन्जर बैनी मेकानिया म्याकरान्था (लहरे बनमारा, छड्के फिल्ममा सौगात मल्ल यही झारको अध्ययनका लागि चितवन रानि पुगेका हुन्छन्) मा विस्तृत अध्ययन गरेर यसैमा पीएचडी गरेर नाम अगाडि डा. जोड्छु दा भन्थी। एमबीए बहिनी नेपालको ठूला बिजनेस हाउसमा नामअगाडि सीईओ जोड्न चाहन्थी। तर नामअगाडि र पछाडि लोग्नेको नाम र थर जोड्नेबाहेक केही गर्न पाएनन्।

किन पाएनन् ? रहरभन्दा जिम्मेवारी ठूलो भयो। सपनाभन्दा बाबाआमाको अनुहार प्यारो भयो। बेलैमा छोरीको बिहे गरिदिन पाए व्यवहार सकिन्थ्यो भन्ने हरेक अभिभावकको मानसिकताका कारण आज पढेलेखेकी हरेक छोरीले जिन्दगीभरि पनि आफ्नो व्यवहार मिलाउन सकिरहेका छैनन्। दसैंमा बहिनीहरूको रातो टीका पछाडिको कालो नैराश्य अनि अर्को जीवन बोकेको पेट देख्दा लाग्छ- इच्छा मारेर बैनी बुहारी बनी अनि सपना मारेर बुहारी आमा बन्दै छे।

हरेक साल बैनीहरू हारेको खुसियालीमा बैन्ड बाजा बज्ने गर्छ। मान्छे नाच्ने गर्छन्। म पनि त कसैको हारमा बाजा बजाउँदै नाच्दै जान्छु होला।

- ल ओर्ल, यै हो हाम्रो घर।

- नाइँ नाइँ प्लिज, पछि जाने अहिले नाइँ। प्लिज, के बाबु पछि जाने।

मेरो घर जाने भनेपछि उसको सातो उड्छ। हँसिलो अनुहार बेहोस हुँलाजस्तो पार्छे। लुलो भएर जीउ पूरै छोडौंलाजस्तो गर्छे। उसलाई मेरो घर जान डर लाग्छ। एकपल्ट सिरियस्ली हामी घरको जेठो छोरा बुहारी हुन्छौं, थुप्रै व्यवहार गर्नुपर्छ भन्दा ‘व्यवहार’ शब्द निकै भारी लागेर ऊ आँखाभरि आँसु पारेर रोएकी थिई।

म रुँदा पनि नरुने ऊ जब्बर मान्छे घरव्यवहारको कुराले कमजोर भई। उसलाई लाग्छ- बिहे गरेर कसैको घर जाँदा धेरै कुरामा ध्यान दिनुपर्छ। र ध्यान दिँदा उसलाई निसास्सिएको जस्तो लाग्छ। उसलाई घरको काममा कहिल्यै इन्टे«स्ट लागेन (यो लाइन पढिरहँदा, आमाले के सोच्नुहुन्छ होला ? )

यो त्यस्तै इन्टे«स्ट हो जुन मेरी आमालाई फुटबलमा लाग्दैन। फुटबल र घरको काममा इन्टे«स्ट उस्तै हैन र ? तर के मेरो घरमा भित्रिएर तरकारी पकाउन आउँदैन भन्दा, घरले सहज रूपमा लिन सक्छ ? मेरो घरमा चना केराउ धेरै पाक्छ। उसको घरमा चना केराउ पाक्दा झोलसँग मात्र भात खान्छे। मेरी बैनी पनि घिरांैलाको तरकारी पाक्दा आलु छानेर बस्थी।

के ऊ घरमा आइसकेपछि चना पाक्दा, मीठो लाग्दैन खान सक्दिनँ भन्दा घरले ‘कस्तो सोख’ भन्ला कि नभन्ला ? बैनीको घिरौंला र उसको चना उस्तै हैन र ? बिहान ढिला उठ्ने उसको बानी छ। नानी पनि पढ्न नपरेको दिन ९ बजेसम्म मजैसँग सुत्थी। कति भैंसीजस्तो सुतेकी उठ् भन्दै आमाले गाली गर्नुहुन्थ्यो तर पनि बैनी सहजै सुतिदिन्थी। तर के मेरो घर आएर त्यही सहजता उसले पाउँछे होला ? घर सम्झेर रोई भने, म उसलाई कसरी भनौं यो तिम्रै घर हो भनेर। अथवा बैनी बिहे गरेर गएपछि भट्टराई निवासमा कतिवटा बिहान ९ बजे उठी होला ? के उसलाई अधिकृत सा’बले तिम्रै घर हो भन्न सक्नुभयो होला ? उसलाई घर बस्दा सर्ट लगाउनु पर्छ। कम्फर्टेबल लाग्छ। बुहारी भएपछि के उस्ले घरमा सर्टको अनुमति पाउँछे होला ? बैनीले लगाउँदा कसैले रोकटोक गरेका थिएनन्। के नानी र उसको कम्फर्टनेस एउटै हैन र ? इन्टे«स्ट, खाना, सुताइ, लगाइ सबै कुरामा त्याग ? तिमी मेरो छोरी हौ भनेर आमाले भित्याएको पनि सम्झिन्छे होला। भन्नु र गर्नुको फरक पनि देख्छे होला।

अनि एउटा म हुन्छु जो दुई दिन ससुराली जाँदा पनि आफ्नै टेबल बोकेर जान्छु। सबैले दूध चिया रुचाएको ठाउँमा मेरा लागि नेस्लेको सानो सिसी कफी आउँछ। राति सुत्दा गर्मी हुन्छ भनेर सिलिङ फ्यान छँदाछँदै नयाँ टेबल फ्यान आउँछ। अल्छी लाग्दा खिचडी पाक्ने ठाउँमा, म बसुन्जेल कम्तीमा दुई थरी तरकारी पाक्छ।

? ? ? उसको दिमागमा यस्ता प्रश्नचिह्न थुप्रै आउनेछन्। ऊ पनि हारेको महसुस गर्नेछे। आफू हुन नपाउनु, जस्तो छु त्योभन्दा फरक देखिनु पनि त हार नै हो। उसको भागमा एडजस्ट मेरो भागमा कम्फर्टनेस। उसको भागमा परिवर्तन मेरो भागमा यथास्थिति। उसले मलाई प्रश्न गर्नुपर्छ, के यही हो माया बराबर भनेको ? गरिनँ भने उसले पनि पक्कै विचार गर्छे उ-हारी कि बुहारी ?       

म कसैको घरमा पाहुना लाग्न जाँदा, मासु थपौं भन्ने प्रस्तावलाई मन लागी लागी हैन हैन पर्दैन भनेर टार्छु। जब कि घरमा मासु पाक्दा आधा कराई हसुर्ने मै हुन्छु। बिहान सुतेर उठ्दा, गुप्तांग कन्याएर झरेका रौंहरू कसैले देख्लान् भेट्लान् भन्ने लाजले ध्यान दिएर तन्नाबाट टिपेर फाल्छु। जब कि पोहोर साल एकपल्ट ओछ्यान मिलाको देख्दा आमा मक्ख परेर दालमा दुई चम्चा घिउ हाल्दिनुभएको थियो। मलाई आफ्नो घरभन्दा बाहिर दैनिकी बिताउनु पर्‍यो भने कसैले थिचेजस्तो लाग्छ। म साँघुरो हुन्छु।

हामी अरुको घरमा दुईचार दिन साँघुरिन सक्दैनौं। र चाहन्छौं, घरमा बुहारी पैmलिएर आओस्।

पोहोर मामाले माइजू भित्र्याउँदा आफन्तले बेहुलीको कानैमा पर्ने गरी गरेको कानेखुसी यस्तो थियो- कस्तो घोसेमुन्टे रै’छ। हाँस्न पनि सिकाएनन् कि के हो माइतमा ? अलि उज्यालो अनुहार गरेर त घरभित्र पस्नुपर्छ। पक्कै पनि माइजूको आत्मबल त्यही दैलोको ढोकामा ठेस् लागेर नराम्रोसँग पच्छारियो। पहिलो पल्ट कलेजको स्टेजमा डराई डराई स्पिच दिन लाग्दा तलबाट छिटो बोल्, तैंले बोली भ्याउँदा प्लस टु पास भइसक्छौ भनेर आएको बुलिङले जसरी ओठ र हातखुट्टा काँप्छन्, त्यसैगरी माइजूको आत्मबल काँपेको थियो। मामालाई बाल, हात समाएर हातैबाट म छु त भन्न पनि सकेनन्। बुहारीले दाइजोमा के के ल्याई भनेर घाँटी तन्काउनेहरूले, आँखा उघारेर उसले ल्याएको डर र संकोच पनि देखून्।

हामी आफ्नो चर्पीबाहेक अन्त दिसा पनि आउँदैन भनेर साथी सर्कलमा गफ दिइरहँदा, कैले सोच्यौं उसको स्वतन्त्रतालाई कब्जियत लागेको ? बाबा छतमै भएका कारण भित्री लुगा सुकाउन अप्ठ्यारो लागेर रुममा फ्यान खोलेर सुकाएको किस्सा, उस्ले घरमा कसैलाई भन्न सकी ? मिन्स हुँदा प्रयोग गरिएका प्याड फाल्ने ठाउँ थाहा नहुँदा भएको असहजता, उस्ले घरमा कसैलाई भन्न सकी ? तिमी सक्छौ, ससुरालीमा नुहाएर सासुको अगाडि छतमा कट्टु सुकाउन ?       तिमीलाई जस्तै उसलाई पनि आवाज निकालेर पाद्न मन लाग्छ होला। तिमीलाई जस्तै उसलाई पनि नुहाउँदा गीत गाउन मन लाग्छ होला। तिम्रो जस्तै उसको पनि लुगा नलगाई सुत्ने बानी छ होला। तिम्रो जस्तै उसको पनि घुर्ने बानी छ होला। तर उस्ले हरेक काम गर्नुपूर्व सोच्नुपर्छ- अरूले के भन्छन्, अरुले के सोच्छन् ?

उसले सहजता पनि हार्छे। राति खुट्टा चढाउनुअघि ‘वाज योर डे कम्फर्टेबल’ भनेर सोध्ने गर। सायद तिमीसँग असहजता सहजसँग भन्न सक्छे होला।

छोरी र बुहारी दुवै फूल नै हुन्। फरक यत्ति छ, छोरी बगैंचामा फुल्छे र बुहारी गमलामा। के गमलामा जरा सीमित गर्नु हार हैन ? फैलिने स्वतन्त्रता नपाएको गमलाको त्यो फूल हारेको हैन र ? रहर इच्छा अनि सपना मारेर, नयाँ सुरुआतका लागि कन्भिन्स गरिरहँदा, परिवारले किन सोच्दैन मैले छोरीलाई रेन्जर किन बनाएँ भनेर। घरमै सीमित गराउनु थियो भने पढाइमा लगानी बालुवामा पानी हैन र ? कि राम्रो ज्वाइँ पाउन राम्रो पढाइ पढाइन्छ छोरीहरूलाई ? इन्जिनियरिङ पढायो भने कम्तीमा इन्जिनियर, नत्र कुनै पीआरवाला त भेट्टाइहालिन्छ। छोरीलाई यसै कारण चम्काइन्छ कि परैबाट लायक केटोको आँखामा परोस् ? अनि उसको सपना, उसको कमाएर घुम्ने खाने लाउने रहर, आफूलाई आफ्नो नामले चिनाउने रहर ? यी सब रहरको कुनै अर्थ छैन ? छोरीलाई ताते गरेर हिँड्न सिकाउने बाउआमाले छोरीलाई आफ्नो खुट्टामा उभ्याउन किन चाहँदैन ? ज्वाइँकै खुट्टाको आश किन गर्छन् ? भोलिको दिनमा तिम्रो ज्वाइँको खुट्टा भाँचियो भने, छोरीलाई पनि अपांग नै मार्छौ ? सोचौं न, शृंखला खतिवडाको दुई वर्षअगाडि बिहे भएको भए ? रञ्जु दर्शना कसैकी बुहारी भइसकेको हुन्थी भने ? हजारौं बुहारीको भीडमा उनीहरूको नाम पनि गुमनाम हुन्थ्यो।

हामी हाम्रै घरको क्षमतालाई चिन्दैनांै। नेपालका थुप्रै घरमा हजारौं शृंखला र रञ्जु छन्, जो क्षमताका बीच पनि पछि परेका छन्। इमोस्नल भएर फोकटमा बेहोस हुने प्रवृत्ति बन्द गरौं, हस्पिटलको बेड जरुरी भएकाले पाउँछन्। तपाईं एकपल्ट हिम्मत गरेर भन्दिनुस्, आफ्नो मनको गर छोरी, पहिला करिअर अनि मात्र बिहे। अनि हेर्नुस्, देशले अझै कति दक्ष क्षमतावान् महिला पाउँछ। अनि नागरिकतापछाडि मेरो बैनीको रातो सही देखेर म पनि त खुसी हुन्छु नि !

हरेक दाइले बैनी बिदा गर्दा ‘मारे पाप, पाले पुण्य’ हैन ‘खुसी राखे आशीर्वाद, दुःख दिए थुन्ने’ भन्न सक्नुपर्छ। अनि मात्र ससुरालीमा मेजमानी गर्ने ज्वाइँहरूले बैनीलाई पनि मेजमानीमै राख्छन्। जस्तो तिमी उस्तै ऊ पनि हो। तिमी जुन व्यवहार र वातावरण सहन सक्दैनौ, उसलाई पनि त्यस्तै हुन्छ। तिम्रो घरलाई घर मानेर आएपछि तिमीले उसलाई संसार मान्नुपर्छ।

तिम्रो बाउआमालाई आफ्नो ठानेपछि तिमीले उसको बाउआमालाई आफ्नो ठान्नुपर्छ। माया मात्र हैन, जिम्मेवारी अनि व्यवहार पनि बराबरको हुनुपर्छ। सारा संसारको अगाडि उसले तिम्रो खुट्टा ढोग्दा, तिमीले पनि उसको खुट्टा छुन सक्नुपर्छ। सक्छौ नहाँसी लाज नमानी भन त, सक्छौ ? सक्छौ भने तिम्रो घरको बुहारी बुहारी हुन्छे, उ-हारी हैन।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.