क्याम्बोडियामा अलपत्र नेपालीका परिवारको गुनासोः सरकारबाट पहलै भएन

क्याम्बोडियामा अलपत्र नेपालीका परिवारको गुनासोः सरकारबाट पहलै भएन

दमौली : क्यासिनोमा सेक्युरिटी गार्डमा काम पाउने आशमा मानव तस्करलाई झण्डै आठ लाख बुझाएर क्याम्बोडिया पुगेका अलपत्र नेपालीलाई फर्काउन सरकारबाट कुटनैतिक पहल नभएपछि तिनका आफन्तले आफ्नै पहलमा फिर्ता ल्याउने प्रक्रिया थालेका छन्।

तनहुँ ऋषिङ गाउँपालिकाका पाँचसहित ६ युवा क्याम्बोडियाको सिमरिपमा हाल अलपत्र परेका छन्। तनहुँ ऋषिङ २ गैह्रा थोक निवासी जंगबहादुर थापा, ऋषिङ ७ मचदाङका रेशम थापा, ऋषिङ २ चैनपुर निवासी धनबहादुर राना र ऋषिङ ६ चालिसे निवासी गोपाल थापासँगै काभ्रेप्लाञ्चोक महादेवस्थान ८ निवासी विनोद खरेल हाल तनहुँ केशवटारकी रजनी थापाको आश्रयमा बसिरहेका छन्।

क्याम्बोडियामै रहेका प्युठान बरौला ३ घर भै ललितपुर २३ निवासी दुर्गाबहादुर गुरुङले उनीहरुलाई थाइल्याण्डहुँदै क्याम्बोडिया पुर्‍याएका थिए। क्याम्बोडिया पुर्‍याएर जनही ६ हजार अमेरिकन डलर बुझेपछि बेपत्ता भएका युवा नेपाली व्यावसायी थापाको आश्रयमा छन्। 

आफूहरु अलपत्र परेको बारे देशमा जानकारी गराए पनि सरकारीका तर्फबाट कुनै पहल नभएपछि युवाले आफन्तलाई फिर्ता गरिदिन अनुरोध गरेका छन्।'अलपत्र परेकाले उद्धार र दोषीमाथि कारबाहीका लागि परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार विभागमा पत्राचार गरेका थियौं,' आफन्त समेत रहेका ऋषिङ गाउँपालिकाका वडा सदस्य यामबहादुर सारुले भने, 'तर, अवैध तरिकाले पुगेकाले फिर्ता गराउन नसकिने जानकारी वैदेशिक रोजगार विभागबाट पाएकाले आफै फिर्तीका लागि पहल थालेका छौं।'

अलपत्र युवा जंगबहादुरका दाइ प्रेमबहादुरले पनि सरकारले फिर्ता ल्याउनका लागि पहल नगरेकाले निजीस्तरमा पहल गरेर फिर्ता गराउन लागिएको बताए।'उता सबै बेखर्ची भइसके,'उनले भने, 'टिकट खर्च पठाएर फिर्ताको पहल गर्दैछौं।'

उनले सरकारी निकायबाट सकारात्मक जवाफ र सहयोगको आश्वासन नमिलेकाले आफ्नै पहल गर्नुपर्ने अवस्था आएको बताए । 'एकजनाको झण्डै आठ लाख रुपैयाँ खर्च भइसकेको छ,'उनले भने, 'अब टिकट पनि किनेर नेपाल फर्काउन लाग्दैछौं।'

उनले रोजगारी दिने भनि बेपत्ता दुर्गाबहादुरलाई पक्राउका लागि पनि थाइल्याण्डको नेपाली दूतावास तथा नेपाल प्रहरीबाट पहल भएको जानकारी नपाएको बताए।

आफन्तले टिकटका लागि थप पहल गरिरहेको प्रेमबहादुरले बताए। 'दोषीलाई पक्राउ गरेर रकम असुल गर्ने सम्भावना पनि देखिएन। भाइहरु पनि आत्तिएका छन्,' उनले भने, 'फेरि ऋणै खोजेर भएपनि फर्काउनुको विकल्प देखिएन। कति दिन यसैगरी राख्ने?'

हाल आश्रय दिइरहेकी व्यवसायी रजनीले युवा फिर्तीका लागि बाटो खर्च ३० हजार रुपैयाँ बराबरको अमेरिकी डलर उपलब्ध गराएकी छन्।

'दोषीलाई कारबाही नहुँदा घटना दोहोरिन्छन्

६ जना युवालाई आफ्नै फल्याटमा आश्रय दिइरहेकी सिमरिपकी रजनीले यसअघि पनि नेपाली क्याम्बोडियामा अलपत्र पर्ने गरेको बताइन्। दोषीमाथि कारवाही नहुँदा यस्ता घटना दोहोरिने अवस्था आएको उनले बताइन्। 'यहाँ एनआरएन पनि छ। अरु संघ संस्था पनि छन्,' उनले भनिन्, 'तर कसैले दोषी भनि चिनिएकामाथि कारवाही गर्ने आँट नगर्दा अरु नेपाली फसिरहेका छन्।'

उनले सरकार र थाइल्याण्डको दूतावासले पनि यस्ता घटनामा सोचेजस्तो तदारुकता नलिंदा पीडित झनै पीडामा पर्ने अवस्था आएको सुनाइन्। 'यहीं बस्नेले पनि केही गरेनन्। सरकारले पनि हेर्दैन,' उनले भनिन्, 'यस्तो देख्दा वाक्क लाग्छ।'

भरपर्दो सम्पर्क माध्यम भेटिएनः विभाग

आफन्तले विभागबाट पहल नहुने जानकारी पाएकाले आफै फिर्ताको पहल गरेको बताए पनि वैदेशिक रोजगार विभागले भने भरपर्दो सम्पर्क माध्यम फेला नपर्दा समस्या परेको बताएको छ।

विभागका महानिर्देशक डा. भिष्मकुमार भुषालले अन्नपूर्णसँग भने, 'उहाँहरु समस्यामा परेको कुरा जानकारीमा छ तर सम्पर्कको गतिलो माध्यम नभएकाले समस्या परेको छ।'

उनले श्रम स्विकृती नलिइकन गएको भएपनि अलपत्र परेका नेपालीलाई फिर्ता गराउन सकिने बताए।'अलपत्र परेपछि फिर्ता गराउन दूतावासमार्फत हाम्रो पहल हुन्छ,'उनले भने। तर उनले यति भने पनि अलपत्र युवाले दूतावास वा अरु कोही निकायले सम्पर्क गरी नसकेको बताएका छन्। 

क्याम्बोडियामा अलपत्र ६ नेपाली स्थानीय प्रहरी कार्यालयमा मानव तस्करविरुद्ध कारबाहीको निवेदन दिएपछि उनीहरुले अझैसम्म पनि स्वदेश फर्कनका लागि सरकारबाट पहल नभएको र खर्च सकिएपछि आफन्तलाई गुहारेको बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.