नेपालले बेइजिङसहित चीनका १५ सहरमा सिधा उडान गर्ने

नेपालले बेइजिङसहित चीनका १५ सहरमा सिधा उडान गर्ने

बेइजिङ : नेपालले बेइजिङसहित चीनका १५ सहरमा सिधा उडान गर्न पाउने भएको छ।

बेइजिङमा सम्पन्‍न दुईदिने वार्तापछि शुक्रबार नयाँ हवाई उडान स‌ंचालन सम्बन्धमा सम्झौता भएको हो। पहिले सात सहरमा नेपाललाई उडान अनुमति प्राप्त थियो। अब यसलाई विस्तार गरेर १५ बनाइएको हो। नयाँ सम्झौताअनुसार नेपाल र चीनबीच थप ८ रुटमार्फत हप्तामा ९८ उडान गर्न पाउने अवस्था छ। 

सन् २०१४ मा नेपाल र चीनबीच दुवै देशले सातामा ५६ वटा उडान गर्ने सम्झौता भएको थियो। एक वर्षभित्रै बढाएर ७० वटा उडान गरे तापनि नेपालले भने चिनियाँ आकाशमा उडान भर्न सकेको थिएन। नयाँ सम्झौताअनुसार नेपालले क्‍वाङ्‌चावो (ग्वाङझौ) र पैचिङ (बेइजिङ)का साथै चीनका अरु सहरमा उडान भर्ने अनुमति प्राप्त भएको छ।

त्यसैगरी चीनले पोखरा र गौतमबुद्ध विमानस्थलमा पनि सिधा उडान गर्न सक्ने भएका छ। उनीहरुले त्यहाँ हप्तामा २१ उडान गर्न पाउने व्यवस्था उल्लेख छ। नेपाल-चीन हवाई उडानमा यो सम्झौतालाई निकै महत्वपूर्ण सम्झौताको रुपमा हेरिएको छ। ‘बेइजिङ, ल्हासा, सांघाई, क्‍वाङ्‌चावो, सियान, चेङ्दु, चुङछिङ, खुन्मिङ लगायत विभिन्न १५ गन्तव्यमा नेपाललाई चीनले  उडान अनुमति दिने सहमति गरेको छ,’ वार्तामा सहभागी बेजिङ स्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्सालले अन्नपूर्णसँग भने, ‘चीनमा रहेको सात गन्तब्यबाट बढाएर १५ पुर्‍याइएको हो।’

यो सम्झौता भएपछि काठमाडौं र बेइजिङबीच सिधा उडानका लागि हिमालयन एअरलाइन्सले स्लट पाएर उडान संचालन गर्ने तयारी भइरहेको छ। उसले अनुमति पाइसकेको छ। 

बेइजिङमा यसै सेप्टम्बरबाट नयाँ तासिङ विमानस्थल सञ्चालन हुँदैछ। ६० भन्दा बी देशीविदेशी वायुसेवाले यस नयाँ विमानस्थलको प्रयोग गर्ने भइसकेका छन्। यस विमानस्थलबाट सन् २०२५ सम्ममा ७२ मिलियन यात्रुले ओहोरदोहोर गर्ने अनुमान छ। सन् २०१४ मा थालिएको यस विमानस्थलको निर्माण यसै वर्षको जुनमा सम्पन्न भइ परीक्षण उडानका साथै विमानस्थलको सम्पूर्ण परीक्षण पनि सम्पन्‍न भइसकेको छ। 

योसँगै बेइजिङको व्यस्त क्यापिटल विमानस्थलमा केही स्लटहरूसमेत उपलब्ध हुने छन्। सन् २०१८ मा उक्त विमानस्थलले दश करोड भन्दा बढि यात्रुहरूलाई स्वागत गरेको थियो। यस नयाँ तासिङ विमानस्थलको आरम्भसँगै नेपालले फाइदा उठाउनसक्नु पर्छ। नेपाली वायुसेवाले पनि चिनियाँ आकाशमा उडान भर्दै असमान हवाई सम्बन्धको अन्त्य गर्नु पर्छ। हाल चीनका ५ वटा वायुसेवा कम्पनीले नेपालमा नियमित उडान गरिरहेका छन्।

नेपालबाट हिमालको सौन्दर्य नियाल्दै तिब्बतको कैलाश मानसरोवर उडान गर्ने भनिएको ‘लेक फ्लाइट’ को अनुमति दिन चीन सकारात्मक बनेको लम्सालले बताए। नेपालले पर्यटकलाई मानसरोवर पुर्‍याउन तिब्बतको गुन्सा विमानस्थल प्रयोग गर्न माग गर्दै आएको छ। चीनले गुन्सा विमानस्थल अन्तराष्ट्रिय स्तरको नभएको र यसको अपग्रेड गरेपछि अनुमति दिने विषयले यस्तो धारणा बाहिर आएको हो।

नागरिक उड्यान तथा पर्यटन मन्त्रालय अन्तर्गतको हवाइ उद्योग व्यवस्थापन महाशाखाका प्रमुख सुरेश आचार्य नेतृत्व नेपाली टोली र चीनको सिभिल एभिएसन अथोरिटी अफ चाइनाको उनपनिर्देशक  जनरल बाई वेनलीको नेतृत्वमा रहेको टोलीबीच बेइजिङमा शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको दूतावासले जनाएको छ। नेपाल र चीनबीच हवाई सेवा सम्झौता पुनरावलोकनका लागि नेपाली टोली बुधबार बेइजिङ पुगेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.