उद्गमस्थलमै लोपोन्मुख बराम भाषा

उद्गमस्थलमै लोपोन्मुख बराम भाषा

गोरखा : अति सीमान्तकृत सूचीमा रहेको बराम समुदाय बारपाक सुलीकोट गाउँपालिका–६ को डाँडागाउँलाई आफ्नो उद्गमस्थल मान्छन्। तर डाँडागाउँमा नै बराम भाषाका बोल्ने र लेखपढ गर्ने मानिस छैनन्।

‘हाम्रो भाषा बुझ्ने केही बूढापाका त छन् तर दैनिक कामकाजमा प्रयोग गर्ने कोही पनि छैनन्’, स्थानीय शिक्षक प्रेम बराम भन्छन्, ‘गाउँभरि खोज्दा १५ प्रतिशतले दोहोरो सवालजवाफ गर्न सक्लान्।’ ४० वर्षभन्दा मुनिकाले बराम भाषामा सवालजवाफ प्रयोग गर्न नसक्ने उनले बताए। बराम समुदायको सबैभन्दा ठूलो गाउँ भनेर डाँडागाउँलाई चिनिन्छ। यहाँ करिब १ सय ५० घरधुरी बराम समुदाय बसोबास गर्छन्। उनीहरू आफ्नो मातृभाषालाई ‘बालकुरा’ भन्छन्।

उद्गमस्थलमै भाषा संकटमा परेपछि भाषा आयोग, नेपाल बराम महासंघ, आदिवासी जनजाति महासंघ र गाउँपालिकाको सक्रियतामा स्थानीय ‘बालकुरा’ संरक्षण कार्यक्रम सञ्चालन भएको थियो। बालकुराको प्रशिक्षण सञ्चालन गरिएको स्थानीय चन्द्रबहादुर बराम बताउँछन्। ‘बालकुरा संरक्षणका लागि पोहरसाल अन्तरज्योति माविमा भाषा प्रशिक्षण सञ्चालन भएको थियो’, उनले भने, ‘कक्षा ५ माथिका विद्यार्थी र इच्छुक गाउँलेले ९० घण्टा पढे। त्यसले नयाँ पुस्तालाई अलिअलि भाषाको ज्ञान त दियो, तर २ महिना मात्र पढेर दोहोरो बोल्न सक्ने बनाउन सकेन।’ यो वर्ष पढाइ हुन्छ कि हुँदैन थाहा नभएको उनले बताए।

डाँडागाउँको अन्तरज्योति माविमा ७५ प्रतिशत विद्यार्थी बराम समुदायका रहेको शिक्षक प्रेम बताउँछन्। उनीहरूलाई स्थानीय भाषाअन्तर्गत बराम भाषा पढाइ भएमा केही प्रगति हुने स्थानीय ज्येष्ठ नागरिक तोपमान बरामको भनाइ छ। ‘स्थानीय भाषाका रूपमा स्कुलमा बालकुरा पढाए हुन्थ्यो’, उनले भने, ‘तर अंग्रेजी पढाउँछन्। अनि कसरी भाषाको विकास हुन्छ ?        बगाल बढ्दै गयो, स्कुल खुल्दै गयो, हाम्रो भाषा पनि हराउँदै गयो।’

बराम भाषा लोप हुने अवस्थामा पुगेपछि भाषा आयोगका अध्यक्षसहित विज्ञहरू डाँडागाउँ पुगेर शब्दकोष तथा भाषाको पाठ्यपुस्तक तयार गरेका थिए। तर लिखित दस्ताबेज जस्तो मात्र बनेको, प्रयोगमा नआएको स्थानीय बताउँछन्। ‘शब्दकोष पनि बनेको छ। पाठ्यपुस्तक पनि छ तर सबै कहाँ थन्किएर बसेको छ पढाइ हुन्न’, स्थानीय चित्र बराम भन्छन्, ‘अहिलेका युवापुस्ताले गुगल, युट्युब चलाउँछन्। त्यस्तोमा सेटिङ गरिदिए जहाँ बसेर पनि नयाँ पुस्ताले सिक्ने थिए।’

आफ्नो गाउँपालिकामा अतिसीमान्तकृत बराम समुदायको बाहुल्य रहेको गाउँपालिकाका प्रमुख विष्णु भट्ट बताउँछन्। बराम समुदायको उत्थानका लागि गाउँपालिकाको लगानीमा प्रोफाइल तयार गरेको उनले बताए। ‘कामकाजी भाषा बने मात्र बराम भाषाको संरक्षण हुनसक्छ, नत्र गाह्रो छ’, उनले भने, ‘यस वर्ष पनि बरामको टोलटोलमा भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्ने नीति र कार्यक्रम बनाएका छौं।’

भाषा मात्र होइन, डाँडागाउँमा बराम समुदायको वेशभूषा, संस्कृति पनि लोपोन्मुख छ। १० वर्षअघि तयार गरेको ७ सेट बराम समुदायको पोसाक मेला, महोत्सवमा लगाउन मात्र प्रयोग हुने स्थानीय बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.