हेलिकप्टरबाट सामान बोकेर रिसोर्ट

हेलिकप्टरबाट सामान बोकेर रिसोर्ट

गोरखा : गोरखाको दुर्गम गाउँमा १८ करोड रुपैयाँको लागतमा सुविधा सम्पन्न रिसोर्ट निर्माण गरिएको छ। चुमनुब्री गाउँपालिका–४ नाम्रुङका व्यवसायी लाक्पा डुण्डुप लामाले नाम्रुङ गाउँमा फोर सिजन रिसोर्ट प्रालि निर्माण गरेका हुन्।

नाम्रुङ मनास्लु पर्यटन पदमार्गमा पर्ने बजार हो। विदेशी पर्यटक काठमाडौंबाट पाँचौ दिनमा यहाँ पुग्छन्। मनास्लु क्षेत्रमा पर्यटक बढ्दै गएको र पर्यटकलाई गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले रिसोर्ट निर्माण गरेको सञ्चालक लामा बताउँछन्। ‘गुणस्तरीय पर्यटकले त्यस्तै सेवा खोज्छन्’, उनले भने, ‘ पैसा खर्च गरी गुणस्तरीय सेवा लिन चाहने पर्यटकलाई चाहेजस्तो सेवा दिन मैले लगानी गरेको हुँ।’ रिसोर्टमा १५ वटा लक्जरी र ३० वटा बजेट कोठा छन्।

नेपाल भ्रमण वर्ष २०२० को सरकारी लक्ष्य सफल बनाउन यस खालका गुणस्तरीय रिसोर्ट खुल्नुपर्ने लामाको भनाइ छ। नाम्रुङ २६५० मिटर उचाइमा पर्छ। ‘मनास्लु आरोहण गर्न आउने पर्यटक अल्टिच्युडका बिरामी भए भने उनीहरूलाई अक्सिजनको ब्यालेन्स मिलाउने विशेषता भएको तीनवटा कोठा छन्’, लामाले भने, ‘भरिया र गाइडका लागि ‘नेपालका हीरोको घर’ भनेर छुट्टै घर व्यवस्था गरिएको छ।’ सात सय वर्ष पुरानो ओखरको रुखमुनि रिसोर्ट छ। रिसोर्टसँगै करिब २५ सय वर्ष पुरानो पुरातात्विक छ्योर्तेन दरबार छ।

भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी गोरखाको दुर्गममा सुविधा सम्पन्न रिसोर्ट निर्माण गरिएको छ।

रिसोर्टमा साउना बाथ, चिसो तातो पानीको व्यवस्था छ। भित्रै तिर हान्ने खेल (अर्चरी)को व्यवस्थासमेत छ। रिसोर्टले अर्गानिक फाम पनि सञ्चालन गरेको छ। फार्ममा रुखको बोक्राले बनेको आठकोठे छुट्टै होटल पनि छ। ‘राजधानी छोडेर हिँडेको लामो समयसम्म सुविधा सम्पन्न होटल, रिसोर्टको सुविधा नपाउँदा पर्यटकलाई असजिलो महशुस भएको हुन सक्छ’, उनले भने, ‘त्यसैले पर्यटकको मनोविज्ञान बुझेर मैले जतिसुकै खर्च गरेर पनि सेवा सुविधा सम्पन्न रिसोर्ट बनाएको हुँ। यहाँ साउना छ, तातो, चिसो पानीमा नुहाउने सुविधा छ, वाइफाइ छ। घोडा चढेर तिर हानी खेल्ने सुविधा छ। संग्रहालय छ।’ प्राचीन नाम्ला गुम्बा, वृद्धा श्रम, वन बिहार आदिको सुविधा रहेको उनले बताए।

मनास्लु आरोहणका लागि अभ्यास गर्न नाम्रुङमा उपयुक्त वातावरण रहेको उनले बताए। फोर सिजन होटलका सञ्चालक लामाले अर्गानिक कृषि फर्म सञ्चालन गरेका छन्। जंगलका बीचमा रहेको सो फार्मभित्र रूखको बोक्राको मात्र प्रयोग गरेर बनाइएको अर्को होटल छ। आठ कोठा रहेको होटलमा बस्ने पाहुनाले चाहेमा फर्मबाट आफैले तरकारी तथा फलफूल टिपेर पकाएर खान पाउने व्यवस्था छ। स्याउ र भुइँस्याउबाट बनेको लोकल वाइन पनि रहेको सञ्चालक लामाले बताए।

यातायातको सेवा नभएको यस ठाउँमा हेलिकप्टरबाट सामान ढुवानी गरेर रिसोर्ट निर्माण गरिएको हो। चार वर्ष लगाएर निर्माण सम्पन्न गरिएको रिसोर्ट हालै सञ्चालनमा आएको छ। यति दुर्गममा आइपुगेपछि पनि राजधानीमा झै सुविधा सम्पन्न रिसोर्टमा बस्न पाउँदा पर्यटक असाध्यै खुसी हुने गरेको होटल सञ्चालक लामाको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.