प्रदेश र संघको जुहारीमा पिल्सियौं

प्रदेश र संघको जुहारीमा पिल्सियौं

जनकपुरधामलाई प्रदेश २ कै नमूना सहर बनाउने लक्ष्य उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले लिएका छन्। यो सहरलाई मिथिला सांस्कृतिक सहरका रुपमा स्थापित गराउन संघीय र प्रदेश सरकारसँग जुन प्रकारको समन्वय र सहकार्य हुनुपर्ने हो त्यो हुन नसकेको साहको गुनासो छ। जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख साहसँग मनिका झाले गरेको कुराकानी :

आर्थिक वर्ष २०७५/०७६ को समक्षिा कसरी गर्नुहुन्छ ?

हामी अत्यन्त चुनौतीपूर्ण अवस्थाबाट गुज्रेका छौं। हिजोको एउटा माइन्डसेट व्याप्त थियो। जनप्रतिनिधिका हैसियतमा आफ्नो कामकारबाही अघि बढाउन त्यस्ता बिग्रेको मानसिकतालाई सही ठाउँमा ल्याउन गाहे भएकै हो। कर्मचारीको निकै अभाव झेल्नुपर्‍यो। ५० प्रतिशतभन्दा पनि कर्मचारी कम छन् अहिलेसम्म। तर, पनि हामीले अहोरात्र काम गर्‍यौं। केही कुरा पाउन सक्षम भएका छौं।

कस्ता कामले तपाईंलाई सन्तुष्टि दिएको छ ?

वर्षौ देखिको लम्बित प्रोजेक्ट एकीकृत सहरी विकास परियोजना (आईयूडीपी) सहरी विकास आयोजनाअन्तर्गतको जनकपुरमा पनि सञ्चालित थियो। म निर्वाचित भएर आएसम्म त्यसको काम न्यून अवस्थामा थियो। अन्य उपमहानगरपालिका र नगरपालिकाभन्दा यहाँ कामको गति निकै सूस्त थियो। यो प्रोजेक्ट जनकपुरमा असफल हुनेसम्मको वतावरण थियो। तर, जनताको सहयोगमा हामी सडक विस्तारमा लाग्यौं। अहिले त्यो काम सम्पन्न भइसकेको छ।

वडाका ससाना बाटो निर्माणलाई प्राथमिकता दिएर काम भयो। ६ हजार मिटर जति नाला निर्माण गरियो। ७ हजार मिटर जति पीसीसी ढलान, त्यसै अनुपातमा कच्ची सडकमा ग्राभल हाल्ने काम गरेका छौं। उपमहानगरपालिकाका वडा कार्यालय भाडामा रहनु हुन्न भन्ने योजनासाथ २५ वटै वडा कार्यालय बनाउने काम भइहरको छ। लामखुट्टे नियन्त्रणका लागि केही प्रयास भएको छ।

चालू आर्थिक वर्षको योजनामा के के कुरा प्राथमिकतामा परेका छन् ?

गत वर्ष हामीसँग ठूलै कार्ययोजना नभए पनि जे थियो त्यसमा हामीले आरोहअवरोह पार गर्दै काम गर्‍यौं। चालू आर्थिक वर्षको बजेट बनाउँदा हामीले सक्दो बहस र छलफल गरेका छौं। तर, अहिले पनि बजेटमा संशोधनको पाटो हामीले खुला छाडेका छौं। ठूला योजनाहरु हामीले प्राप्त गरिसकेको अवस्था छैन।

संघीय सरकारबाट हामीले प्राप्त गर्नुपर्ने विशेष अनुदान सहरी विकास मन्त्रालयबाट प्राप्त हुनुपर्ने, खानेपानी विकास मन्त्रालयले पनि सहरी क्षेत्रलाई नै प्राथमिकतामा राखेर काम गरेको छ। दुःखद पक्ष के हो भने विगतमा जसरी जनकपुरधाम उपमहानगरपालिका उपेक्षित भएको थियो अहिले पनि सोही अवस्था छ। बाहिर जे जस्तो कुरा गरिए पनि जनकपुरका लागि कहींकतैबाट सहयोग भएको छैन।

यस वर्षको बजेट कतिको छ ?

एक अर्ब ३० करोडको बजेट निनियोजन गरिएको छ। यसमा ३३ करोड सामाजिक सुरक्षाको रकम हो। १४ करोड जति आईयूडीपी प्रोजेक्टकै रकम हो। शिक्षा–स्वास्थ्यमा ४४ करोड जति रकम छ। यी सबै सःसर्त रकम हुन्।

समानीकरणको ३२ करोड र १२ करोड जुन हाम्रो आन्तरिक आम्दानी छ त्यसलाई मात्र हामी चलाउन सक्छौं। यसमा पनि जनप्रतिनिधि र कर्मचारी सबैको तलब हामीले व्यवस्थापन गर्नैपर्छ। बाँकी ३० करोडमुनिको रकम मात्र हामी विकास निर्माणतर्फ खर्चिन सक्छौं।

तपाईंले प्राथमिकतामा राखेका योजना र काम के के पूरा भए ?

विगतमा यसरी कार्यकारी पदमा बसेर काम गरेको अनुभव मेरो थिएन। कार्यकारी पद सम्हालेर काम गरेको पहिलो अनुभव हो। निर्वाचित भएको पहिलो वर्षमा धेरै कुरा चाहेर पनि गर्न सकिनँ। यसपालि म सर्तक थिएँ। कार्यपालिकाबाट भएका निर्णयहरुलाई राम्ररी अवलम्बन गरियो। पछिल्लो तीनचार महिनामा हामीले सक्दो काम गर्ने प्रयास गर्यो।

कार्यालयमा बैठक गरी राजस्व फाँटका कर्मचारीलाई ओभरटाइम गराउन खाजाभत्ताको व्यवस्था गरें। योजनाका प्राविधिक खटाएर काम गरें। आर्थिक वर्ष सक्नुपूर्व दुई महिना अगाडि नै हाम्रो विषयमा निकै प्रचारबाजी भएको थियो। उपमहानगरपालिकाले आफ्नो बजेटअनुसारको काम पूरा गर्न सक्दैन भनेर अडकलबाजी पनि निकै गरियो।

जनकपुरधाम उपमहानगरपालिकाका विशेष योजना के के छन् ?

जनकपुर धर्म, संस्कृति र परम्परागत इतिहास बोकेको नगर हो। यसको आफ्नो पौराणिक र ऐतिहासिक महŒव छ। प्राचीन मिथिलाको राजधानी, माता सीताको जन्मथलो हो यो। यहाँ जानकी मन्दिरको इतिहासलाई कसरी जोगाउने र बचाउने हाम्रो मुख्य दायित्व हो। हामीले यस सहरका लागि मिथिला सांस्कृतिक सहरको अवधारणा ल्याएका छौं।

जनकपुरधाममा प्रवेश गर्न बित्तिकै यहाँ रेलवे स्टेसन र विमानस्थल सडकको कनेक्टिभिटी साढे चार किलोमिटरको छ। यस्तो राम्रो कनेक्टीभिटी भएको सहर नेपालमा अर्को छैन्। यहाँ चारैतिरबाट प्रवेश गर्दा आगन्तुकले मिथिला सांस्कृतिक सहरको झलक जाओस् भन्ने दिशामा हामी प्रयत्नरत छौं। जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सक्रिय छौं।

यसलाई टुरिज्म हबका रुपमा विकास गर्ने हाम्रो मुख्य लक्ष्य छ। पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीले यहाँको विमानस्थलको स्तरउन्नतिका लागि निकै काम गरेर जानुभएको छ।

सुशासन र पारदर्शिता कायम गर्न कसरी काम गर्नुभएको छ ?

हामी निर्वाचित भएलगत्तै केही निर्णय गरेका थियौं। जसमा जनकपुरको नाम परिवर्तन गरी जनकपुरधाम उपमहानगरपालिका गर्नु पनि थियो। जुन हामीले गरिसक्यौं। त्यसैगरी उपमहानगरपालिकाअन्तर्गत पर्ने कार्यालयमा मदिरा, पानपराग, गुटखा र सुर्तीजन्य पदार्थ प्रयोगमा रोक लगायौं। यी केही साना प्रयासहरु सुशासन कायम गर्न गरिएका छन्। सुशासनका लागि सबैभन्दा पहिला राम्रो आचरण हुनु आवश्यक छ।

हामीले कार्यालयबाट दिनुपर्ने सेवा सुविधायुक्त रुपमा सेवाग्राहीलाई प्राप्त होस् त्यसका लागि सक्दो व्यवस्थापन गरेका छौं। उपमहानगरपालिकाले ल्याएको भूउपयोग नीतिलाई प्रभावकारी बनाउन नक्सा पास गराउने तर्फ विशेष ध्यान दिएका छौं।

संघीय सरकार र प्रदेश सरकारसँग समन्वय र सहकार्यको अवस्था कस्तो छ ?

यस्ता अनगिन्ती बुँदा र सवाल छन् जसले गर्दा प्रदेश र संघीय सरकारसँगको समन्वयमा प्रभाव पारेको छ। प्रदेश र संघको जुहारीमा स्थानीय तह पिल्सिरहेको मेरो ठम्याइ छ। स्थानीय तहको अधिकार हनन गर्ने खालका कानुन संघ वा प्रदेशले नल्याऊन् भन्ने हाम्रो धारणा छ।

सिंहदरबार गाउँगाउँमा पस्यो भनेर त भनियो तर, सच्चाइ के छ भने सिंहहरुलाई छोडेर दरबार संघमै राखियो। यी सिंहले स्थानीय सरकारलाई हान्ने काम मात्र गरेका छन् र दरबारले त्यहाँबाट नियन्त्रण गरेको छ। यसैले स्थानीय तहलाई काम गर्न निकै असहज छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.