उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
सोल : उत्तर कोरियाले एकपछि अर्को अत्याधुनिक हातहतियारको परीक्षण गरिरहेको दक्षिण कोरियाले आरोप लगाएको छ। उत्तर कोरियाले बुधवार दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ।
उत्तर कोरियाको वोनसान क्षेत्रबाट पूर्वी तटीय क्षेत्रमा बुधवार बिहानै दुईवटा क्षेप्यास्त्र प्रहार गरिएको र यो करिब २५० किलोमिटर टाढा झरेको दक्षिण कोरियाली प्रधानसेनापतिले बताएका छन्। सेनापतिको कार्यालयले निरन्तर भइरहेका हतियार परीक्षणले कोरियाली द्वीपमा उत्पन्न तनाव कम हुन नसक्ने जनाउँदै उत्तर कोरियालाई धैर्य राख्न अनुरोध गरिएको छ।
संयुक्त राष्ट्रसंघीय सुरक्षापरिषद्ले पारित गरेको प्रस्तावमा उत्तर कोरियालाई ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्न प्रतिबन्ध लगाइएको छ। यद्यपि एक हप्ताभित्रै उत्तर कोरियाको यो दोस्रो क्षेप्यास्त्र प्रहार हो। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भेटवार्ता भएको एक महिना नपुग्दै दुईपटक क्षेप्यास्त्र परीक्षण र पनडुब्बी परीक्षण गरिएका छन्। उत्तर कोरिया र अमेरिकाबीच उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र कार्यक्रम सुल्झाउने बारेमा कूटनीतिक प्रयत्न भइरहेको छ। यही सिलसिलामा एकै वर्षभित्र उत्तर कोरिया र अमेरिकाका शीर्ष नेताहरूबीच तीनपटक भेटवार्ता भइसकेको छ।
कोरियाली संकट समाधानका बारेमा अवरुद्ध वार्ता पुनः शुरु गर्ने सहमति भए पनि त्यस्तो वार्ता अझै शुरु हुन सकेको छैन। राष्ट्रसंघीय प्रतिबन्धका कारण मुलुकको अर्थतन्त्र थिलथिलो भए पनि उत्तर कोरियाले आणविक र अन्य अत्याधुनिक हतियार निर्माण कार्यलाई तीव्र बनाइरहेको छ।
उत्तर कोरियाले निर्माण गरिरहेका आधुनिक र लामो दूरीसम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्रका कारण क्षेत्रीय र विश्व शान्तिमा असर पर्ने खतरा देखिएको अमेरिकी बुझाइ छ। –रासस/एएफपी