कविताको मृत्यु कसरी हुन्छ ?
कविता मर्दो हो त विश्वकै गन्यमान्य शासकहरू पनि कविता लेख्दै हिँड्ने थिएनन्। मदन भण्डारीदेखि झलनाथ खनालसम्मको कविताकै बाटो हुने थिएन।
कविता के हो भन्ने कुरामा अनेकन शास्त्रीय व्याख्या होलान्। युगौंदेखि कविताबारे मान्छेहरूले आफ्नो धारणा राख्दै आएका छन्। भाषा विज्ञानको उत्पत्तिपछि मानिसले जानेको अर्को भाषा नै कविता हो। यो हृदयको भाषा हो।
यो दुःखको भाषा हो। यो वीरता र बलिदानीको भाषा पनि हो। कविता यही हो भनेर भन्न नसकिए पनि कविता मानव सभ्यताको दार्शनिक आवाज हो।
कविता मरिसक्यो ? ईश्वर मरिसक्यो ? समाजवाद मरिसक्यो ? यस्ता उत्तरआधुनिक तर्क हामीले सुन्दै आएका छौं। कहिलेकाहीँ लाग्छ, ईश्वर मरेको भए पनि उसको आत्मा भड्किरहेको छ। कहिले सिया हुन्छ, कहिले सुन्नी हुन्छ। कहिले बाबरी मस्जिदमा ताण्डव देखाउँछ। विश्वभर ईश्वरको संगठन छ। ईश्वरहरूसँग पेस्तोल छ। पेस्तोलको छेउमा इनामेलले लेखिएको छ— मानवताको रक्षा गरौं। सायद ईश्वरलाई कविता मन पर्दैन, भजन मन पर्छ। अहिले ईश्वरहरूले भजनको नयाँ युग जन्माइरहेका छन्।
भजन मन पर्नेलाई कविता मन पर्दैन किनकि आजको कविता विद्रोह बोल्छ। चेग्वे भाराको डायरीमा कविता भेटिएपछि सीआईएले सोच्यो होला— बाफ रे कविता पनि विद्रोहजस्तै हुँदो रहेछ किनकि चेले पनि कविता लेख्यो ? शासकलाई आफ्नो वरिपरि कवि र कविता राख्नु जोखिममय छ किनकि कविताले सत्य बोल्छ। न्यायको आवाज बोल्छ। एकजना शासकको भनाइ छ— आदर्श राज्यबाट कविहरूलाई बहिष्कार गर्नुपर्छ। यसैले कविताको मृत्युबारे शासकहरू हरदम सोच्ने गर्छन्।
कविता झन् जाग्दो छ।
शासकहरू नै कवितालाई अपहरण गरिरहेका छन्। चन्द्रागिरिको डाँडामा उक्लेर हाम्रा एकजना शासकले कविता वाचन गरे। वाहवाही कमाए। कविता मर्दो हो त विश्वकै गन्यमान्य शासकहरू पनि कविता लेख्दै हिँड्ने थिएनन्। मदन भण्डारीदेखि झलनाथ खनालसम्मको कविताकै बाटो हुने थिएन। कविता मर्दो हो त आङ साङ सुकी आँसुको भाषा कसरी बोल्दी हुन् ? मार्टिङ लुथर किङले गरेको विद्रोहले आममानिसलाई कसरी छुँदो हो ? हामीसँग कविताको भाषा नहुँदो हो त प्रेमको भाषा कसरी बोल्दा हौं। हाम्रो हृदयभाषा छुट्दो हो। हामी रोबर्टजस्ता हुँदा हौं।
कविता मरेको हल्ला जायज छैन। केही कवि अलोकप्रिय भए होलान्। भाइरल युगमा टेलिसिरियल र फेक न्युजजस्तो भाइरल भएर कविता सस्तो बजारको माल भएन होला। यो फरक कुरा हो। हिजो निरंकुश शासकहरू कविहरूलाई फाँसी दिन्थे। आज पनि शासकहरू कवितालाई बहिष्कार गर्छन्। भावुकता मात्र सम्झन्छन् किनकि उनीहरूलाई थाहा छ— सत्ता नांगो छ भन्ने हिम्मत कविहरूले मात्र गर्न सक्छन्। सत्तामा भ्रमको इन्द्रजाल हुन्छ भन्ने कुरा कविहरू मात्र भन्न सक्छन्।
एकखालका मान्छेहरू भन्छन्— कविता मर्यो। आख्यानको युग सुरु भयो। कविता मर्यो। ब्याटल गीतको युग सुरु भयो। सूचनाप्रविधिको युगमा कोही पनि कविता पढी बस्दैन आदि इत्यादि। यस्ता धेरै भ्रम हुन सक्छन्। एउटा उत्कृष्ट आख्यानमा कविता जरुरी छ। कलात्मक फिल्ममा कविता जरुरी छ। जनताका बीचमा विद्रोहीले गर्ने भाषणमा कविता जरुरी छ। संसद्को प्रतिपक्षी नेताले कविता वाचन गरेको सुन्नुभएकै होला। जता पनि कविता छ। यसैले कविता जाग्दो छ, ज्यूँदो छ।
एउटा सुमधुर गीतभित्र कविता हुन्छ। मानिसको आदिम लोकगीतमा कविता हुन्छ। मान्छेको सपना नै कवितात्मक अभिव्यक्ति हो। कविता जहाँ पनि छ। किसानले झुलाएको धानबाला किसानले लेखेको कविता हो। कलाकारको कला पनि कविता हो।
>>> कविताको अन्त्य !
कविता युगीन छ। मान्छे जति बाँच्छ यो त्यति नै बाँच्छ। मानिसमा अन्याय, अत्याचार, शोषण, दमन, जालझेल रहुन्जेल कविताको आयु हुन्छ। सिरियाको बालकलाई जब बन्दुक खेलौनाजस्तो लाग्छ। अखबारमा उक्त बालकको हृदय छुने तस्बिर छापिन्छ। कविताको काम आइहाल्छ। भारतमा भोकमरी रहुन्जेल कविता रहन्छ। मान्छेसँग भावना रहुन्जेल कविता रहन्छ। कविता मरेको दिन त सभ्यताको अन्तिम दिन हुन सक्छ।
हाम्रा कयौं युवालाई खाडीले कवि बनाउँछ किनकि कवितासँग दुःख बोल्ने भाषा हुन्छ। कतिकति कविता त दुःखको आवाज हो। यो देशलाई कहिल्यै भलो नहोस् भनेर सतीले श्राप दिँदा त्यहाँ कविता थियोे। कविताले मान्छेलाई प्रतिरोधात्मक बनाउँछ। कविताले मानिसलाई ज्युन सिकाउँछ। कतिपय मानिसहरू मृत्युको शड्ढयामा बसेर पनि कविता लेखिरहेका कयौं उदाहरण छन्। जीवन र मृत्युबीचको दार्शनिक भाषा भनेको नै कविताको भाषा हो।
म दुर्गम पहाडमा जन्मेँ। पाठ्यक्रमका कविताहरू पढेपछि कविताबारे थाहा पाएँ। जब म कविताको नजिक पुगेँ। मैले जीवनको खास ऊर्जा महसुस गरेँ। प्रकृति र समाजलाई चिन्न सकेँ। एकबारको जुनीमा कवि र कम्युनिस्ट बन्न झन् गाह्रो हुन्छ भन्ने बुझेँ।
वास्तवमा कविता विद्रोहकै निरन्तरता हो। हामी खास समयका आलोचनात्मक स्वरले भरिएका कविताहरू पढ्दा सधैं नयाँपनको महसुस गर्छौं। गृहमन्त्रीसमेत भएका केदारमान व्यथितले केही क्रान्तिकारी कविता लेखे। आफ्नै आदर्शविरुद्ध र सत्यका पक्षमा एउटा शासकलाई असल बाटोमा कविताले ल्याउन सक्छ। अनि कसरी कविता मर्छ ?
एकखालका कविहरूले गन्थन धेरै लेखे। एकखालकाले भजन धेरै लेखे। तिनलाई हेरेर समग्र कविता नै मर्यो भन्नु ठीक होइन। यो तर्ककारिता हो। तर्ककारिताले आची पनि पहेँलो भएकाले सुन हो भने कुरामा ढिपि कस्छ। यस्तै तर्ककारिताको सहारा लिँदाचाहिँ कविताको मृत्यु घोषणा गर्न सकिएला। अन्यथा कुनै पनि तर्कले कविताको मृत्यु भएको कुरालाई पुष्टि गर्न सक्दैन।
धर्म, दर्शन र राजनीति टिक्न पनि कविताको सहारा लिने चलन छ। राज्यले कविहरूको वर्ग तोक्छ। राष्ट्रकवि, आँसुकवि, आदिकवि, युगकवि आदि तोक्ने काम राज्यको हो। राज्यले भजनमण्डली पनि बनाएको हुन्छ र छ। यी भजनेहरूले कविताको हुर्मत लिइरहेका छन्। कविताको बेइज्जती गरिरहेका छन्। ती भजनेले कविताको आयु तोक्न कहाँ पाउँछन् ?
केही कविलाई प्रज्ञाभवनमा बोलाएर वर्षमा एक दिन कविता भन्न लगाउने र एकैखाले कवितालाई पुरस्कार दिने चलन आज चलेको हो। यसको लामो प्रक्रिया छ। राज्यको निगरानी र निर्देशनमा लेखिने कविताको आयु छोटो हुन्छ। जनताको पीडा, आक्रोश र जीवनलाई छोएर लेखिने कविताको आयु लामो हुन्छ। केही कविहरू इतिहासको गर्तमा हराउलान् तर कविता रहिरहन्छ किनकि दुःखको शृंखला लामो छ।
आज गुण्डा तस्कर र जनहत्यारा पनि भावुक कविता लेखेर फेसबुकमा पोस्ट गरिरहेका छन्। कवितामा दक्षिणपन्थ हावी छ। तर कविता विधा नै प्रगतिशील विधा हो। यथास्थितिवाद रहँदा वा लेखिँदा कविताहरू नै भजनकीर्तन र श्लोक बन्छन्। हनुमानहरू मात्र कवितालाई दक्षिणपन्थी करार गर्न तम्सेका छन्। हनुमानकारितामा कवितालाई जोगाउन जरुरी छ। हनुमानहरूको कविताको निजत्व समाप्त हुन सक्छ।
प्रहरी प्रशासक, मन्त्री, मुख्यसचिव, मेजर जर्नेल, सरकारी वकिलहरूले लेखेको कविताप्रति शंका गरौं किनकि हामीलाई कविताको साख जोगाउनु छ।
हरेक परिवर्तनको आन्दोलनमा कविता नै औजार बनेको छ। हतियार बनेको छ। शासकको मुटुको तीर बनेको छ। यसैले कविता झन् तरुनो बन्दै गएको छ। कविताको मृत्युको कल्पना नगरे पनि हुन्छ। कविता मर्दा बाँकीचाहिँ के रहन्छ ?