स्वास्नी हैन, आमा बन्ने रहर
गाडीको झ्यालबाट मुस्कानसाथ मलाई हेरिरहेको बच्चा होस् या आमाको औंला समातेर सडकको पेटीमा टुकुटुकु हिँडिरहेका सानी नानीहरू देख्दा भुतुक्कै हुन्छु म। गएर गालामा चुमिहालूँ लाग्छ मलाई।
उमेरले तीन दशक पार गरिसक्यो तर कुनै पल पनि आएन मेरो मनमस्तिष्कमा विवाह गरूँ। तर हिजोआज एउटा कुराले सधैंजस्तो मेरो मनमस्तिष्कलाई कब्जा गरिरहेको हुन्छ।
गाडीको झ्यालबाट मुस्कानसाथ मलाई हेरिरहेको बच्चा होस् या आमाको औंला समातेर सडकको पेटीमा टुकुटुकु हिँडिरहेका सानी नानी, ती दृश्य देख्दा भुतुक्कै हुन्छु म। गएर गालामा चुमिहालूँ लाग्छ, मलाई। तर अरूको बच्चालाई त्यसो गर्न सक्दिनँ। म आफ्नो मनलाई आफैं नियन्त्रित गर्न बाध्य हुन्छु।
मनलाई यसरी नियन्त्रित गर्दागर्दा मलाई बिस्तारै आफू ढुंगामा रूपान्तरित हुँदै गइरहेको लाग्न थालेको छ। सपनामा पनि म चट्टानहरू देख्छु। पहाडबाट ढुंगाहरू खसेको र त्यसमा आफैं पुरिएको सपना पनि कति देख्छु कति !
घरमा धेरैपटक मेरो विवाहको कुरा उठिसक्यो। तर, हरेक प्रस्तावलाई म लत्याइदिन्छु। मलाई विवाहको झन्झटमा फस्नु नै हुन्न भन्ने आभास भइरहन्छ। विवाहको डर यति भयानक किसिमले मनभित्र गाडिएर बसेको छ कि कसैकी स्वास्नी भएर बस्न सक्छु जस्तै लाग्दैन।
एक त, स्वास्नी भएपछिका दायित्वको भारी म केटाकेटीजस्तै स्वभाव भएकी युवतीले धान्न सक्छुजस्तो पटक्कै लाग्दैन। मलाई त यसरी नै स्वतन्त्र र निर्बन्ध भएर बाँच्नै सर्वाधिक प्रिय लाग्छ। अर्को कुरा, सहरमा जताततै सम्बन्ध टुटिरहेको खबर सुन्छु म। टोलछिमेकमा सम्बन्धहरू भत्कँदै गइरहेको देख्छु। त्यसैले सम्बन्धहरूसित मेरो लगातार मोहभंग भइरहेको छ। यस्तोमा आफूले विवाह गर्ने कुरालाई मेरो आफ्नै मनले अनुमति दिँदैन।
तर, विरोधाभाष भने छ मेरो मनभित्र। विवाह नगरे पनि अचेल मेरो मनमा बच्चाको चाहना तीव्र रूपले बढ्दै छ। त्यसो त मलाई आफ्नो अधिकार पनि राम्रैसँग थाहा छ। मेरो सानो इच्छाले त्यो सम्भव पनि हुन सक्छ। सोच्छु, ‘एक्काइसौं शताब्दीकी युवती हुँ। आफ्नो खुट्टामा उभिएकी छु। एउटा बच्चा पाल्नसक्ने हैसियत पनि छ मसँग। तर, आफ्नो मनसितको यो संवादलाई एकैछिनमा मेरो मनले नै खारेज गरिदिन्छ र उल्टो मलाई सम्झाउँथ्यो, ‘तँ एक्लै छैनस्। तँसँग तेरो परिवार छ। तेरो समाज पनि त छ नि।
मैले एकपटक आमासित भनेँ पनि, ‘आमा ! म बिहा नगरी बच्चा पाउँछु, हस्पिटलबाट स्पर्म लिएर।’
‘जे मन लाग्यो त्यही गर्ने नभन है कैली !’
मेरी आमा मलाई हकार्नुपर्यो भने कैली भन्नुहुन्छ। काम अह्राउन पर्यो भनेचाहिँ कान्छी छोरी। आमा एक किसिमले मेरो साथीजस्तै हुनुहुन्छ। त्यसैले म निर्धक्क आमालाई आफ्नो मनको कुरा भन्न सक्छु। मलाई आमासँग कत्ति पनि डर लाग्दैन। आमाले कहिल्यै पनि आफ्ना छोराछोरीलाई करकाप गर्ने, जबरजस्ती आफ्नो कुरा लाद्नुभएको थाहा छैन मलाई। त्यसैले त म यसरी स्वच्छन्द र निर्बन्ध बाँच्न पाइरहेकी छु।
जतिसुकै आधुनिक विचारधाराको भए पनि आमा त फेरि आमा नै हो नि। अझै पनि बेलाबेलामा भावुक हुँदै भनिरहनुहुन्छ, ‘मरेपछि यमराजले सोध्छ, सबै छोराछोरीको बिहादान गरिस् कि गरिनस् भनेर। ओहो, एउटी छोरीको गरेको रैनछ भनेर नर्क पठाइदिन्छ मलाई।’
आमाको यी कुरा सुन्दा हाँसो रोक्न सक्दिनँ म।
आमालाई अझै पनि छोरीले विवाह गर्दिए हुन्थ्यो भन्ने अभिलाषा छ।
मलाई भने विवाह नगरी बच्चा पाउने अभिलाषा छ।
म कथा लेख्छु। आफ्नो कथामा ‘बोल्ड’ नारीपात्र सिर्जना गर्न सक्छु। मेरा लेख पढेर आफूमा परिवर्तन लेराएका पाठकका मेसेज पढ्दा खुबै आनन्द लाग्छ मलाई तर आफैं भने कतिपल्ट कमजोर भइदिन्छु ? अनि आफ्नै कथाका शब्दहरूप्रति अविश्वास व्यक्त गर्दै म आफैंसित प्रश्न गर्छु— के मेरो लेखाइ अरूका लागि मात्र हो ? किन मैले मेरो सोचअनुरूप आफ्नो जिन्दगी बाँच्न चाहँदा अरूको टाउको दुख्छ ? हिम्मत गर्न मैले नसकेकी किन होला ? म सक्दिनँ। त्यो जन्मँदै नजन्मिएको बच्चाका लागि म मेरो आमाबुवा, दाइभाउजू, दिदीभिनाजु र आफ्ना इष्टमित्रसँग टाढिन सक्दिनँ। उहाँहरूबाट तिरस्कृत हुन बिल्कुलै सक्दिनँ म। यसो भनेर म मेरो बच्चाप्रतिको मोहलाई त्याग्न पनि त सक्दिनँ। के धर्मसंकट भनेको यही हो ?
एकपल्ट दाइसँग सल्लाह गर्छु भनेर, साहस बटुलेर दाइका अगाडि उभिएँ। ‘दाइ, एउटा कुरा गर्नु छ’ पनि भने तर, त्यसपछिको कुरा भन्न सकिनँ मैले। मलाई दाइकै अगाडि आफ्नो मुटु नै बाहिर आउलाजस्तो भयो। असाध्यै डर लाग्यो मलाई। भन्नै सकिनँ।
मैले फेरि सोचेँ, ‘म परिवारबाट अलग्गिएर खुसी हुन सक्दिनँ भने मैले केका लागि विद्रोह गर्ने ?
यही मनले भन्छ, ‘तर, अलिकति विद्रोह नगरी कहाँ पूरा हुन्छ ‘बाबु’बिना नै बच्चा पाउने मेरो रहर ? फेरि बिस्तारै मेरो उमेर त बितिजान्छ र मेरो रहर जस्ताको तस्तै रहन्छ। अधुरो र अतृप्त भएर त्यो रहरले जीवनपर्यन्त मलाई पिरोलिरहनेछ।
मलाई लाग्थ्यो, आफ्नो अस्तित्वभन्दा ठूलो कुरो केही हुँदैन। तर, अचेल बिस्तारै मलाई आफ्नो अस्तित्वभन्दा पनि ठूलो अरू केही कुरा रहेछ भन्ने लाग्न थालेको छ। त्यो आभास पनि कठोर ढुंगा भएर मेरो मनमा जम्न थालेको छ। सपनामा त्यही ढुंगाको पहिरो जान थालेको छ र त्यसले मेरो अस्तित्वलाई पुर्न थालेको छ।
म फेरि सोच्छु, ‘मैले विवाह नगरी बच्चा पाएँ भने सबैभन्दा धेरै असर मेरा भदैनीहरूमा पर्नेछ। पक्कै पनि दाइ–भाउजूहरूले मन दुखाउनु हुनेछ।
यी सबै कुरा सम्झँदैमा पनि मलाई विरक्त लागेर आँउछ। म पलभरका लागि छाडिदिन्छु, बच्चा पाउने रहर। रहर बेलुन बनेर मेरो मनको आकाशमा उड्छ र मनमै कतै बेपत्ता हुन्छ।
‘राज्य नारीका लागि क्रमशः उदार बन्दै गएको छ। अब त आमाको नामबाट पनि नागरिकता प्राप्त गर्न सकिन्छ।
सहरमा यही चर्चा छ। बाटाघाटा र साहित्यिक बहस, सबैतिर म यही सुन्छु। तर, मेरो मन र मस्तिष्क म आफैंसित उदार बन्न सकेको छैन। मलाई थाहा छ, मेरो मनलाई राज्यले हस्तक्षेप गरेर हैन, म आफैंले परिवर्तन गर्नुपर्छ। तर, मनलाई बदल्नु सजिलो कुरा होइन। म आफैंसित संवाद गर्दै भुतभुताउँछु, ‘हजारौं वर्षदेखि जन्जिरमा जकडिएको मन हो यो मेरो। करोडौं पुरुषहरूले विभिन्न साइनो गाँसेर बन्धनमा पारेको मन हो यो मेरो। यो बन्धनबाट रातारात मुक्ति सम्भव छैन। रातारात यो समाजमा मेरो मनको सत्ता स्थापित गर्न सक्दिनँ। सायद यसका लागि मैले आफैंभित्र एउटा क्रान्ति बेहोर्नुपर्छ। एउटा आन्दोलन र विद्रोह भोग्नुपर्छ।
यस्ता अनेक तरंग उठ्छन् मेरा मनमा। ती तरंग बिस्तारै माथि—माथि उड्छन् र फेरि ढुंगामा रूपान्तरित हुन्छन्। ती ढुंगाहरूको पहिरो गइरहन्छ मेरो मनमा। ती पहिरो पन्छाएर निस्कन्छन् केही बालबालिका र मेरा हत्केलामा चुम्छन्। मलाई पनि ती बालबालिकाको गालामा चुम्ने रहर छ।
मेरो रहर पनि अब त ढुंगा बन्ने क्रममा छ।
— एक दिन त पहिरो हट्ला र आफैंले आफूलाई पूर्ण कदमा उभिएको देखूँला।
मेरो आशा यही हो। मेरो विश्वास यही हो।
@nirupadhungana को पछिल्लो पुस्तक ‘तिम्रो लोग्ने र म’ कथासंग्रह हो।