जिम र कफीको नशामा रमेश

जिम र कफीको नशामा रमेश

भुवन केसीले बनाएको फिल्म ‘करोडपति’ रमेश उप्रेतीलाई चिनाउने पहिलो फिल्म हो। नारायण पुरीले निर्देशन गरेको फिल्म ‘रगत’ मा उनले सानो भूमिकामा अभिनय गरे पनि ‘करोडपति’ को भिलेन चरित्रले उनलाई चिनाएको थियो। यसपछि ‘यो मायाले लौन सतायो’ मा पनि उनले भिलेनकै रूपमा काम गरे। तर, चौथो फिल्म ‘पराई घर’ मा हिरो भएपछि उनको अभिनय यात्रा हिरोका रूपमा अघि बढ्यो। जल्दोबल्दो करिअर छाडेर बीचैमा अमेरिका हानिएका रमेश त्यहाँ नौ वर्ष बसे र फर्केपछि ‘ब्रासलेट’ मार्फत अभिनयमा ‘कमब्याक’ गरे। ‘ऐश्वर्य’बाट निर्मातासमेत बनेका उनी आजभोलि नयाँ फिल्मको तयारीमा छन्। उनी दिनहुँ जिममा पसिना चुहाउँछन्। ‘सम्पूर्ण’ सँग उनले आफ्नो व्यायाम अनुभव बाँडेका छन्। 


दुई महिनामा १६ किलो घटाएँ

फिल्ममा आउनुअघिदेखि नै मार्सल आट्र्स खेल्थेँ र डान्स गर्थें। त्यतिबेला स्लिम थिएँ। तर, बीचैमा दुर्घटना परेर हात भाँच्चिएपछि दुवै कुराको अभ्यास छुट्यो। डाक्टरले एकदुई वर्षसम्म केही नगर्न भनेका थिए। त्यतिबेला नराम्ररी मोटाएँ। वजन बढेर ८६ केजी पुगेको थियो। यही बीचमा ‘करोडपति’ बाट फिल्म खेल्ने अफर पाएँ। त्यसपछि ‘यो मायाले लौन सतायो’ फिल्ममा पनि काम गरेँ। त्यतिबेला साह्रै मोटो थिएँ। यी दुइटा फिल्मपछि दीपक रायमाझीले ‘पराई घर’ अफर गर्नुभयो। त्यसमा हिरोको रोल थियो। मोटो भएर काम चल्दैनथ्यो। धेरै समय थिएन। दुई महिनामै १६ केजी घटाएँ। ‘पराई घर’को सुटिङमा जाँदा मेरो तौल ७० केजी थियो। त्यसयता निरन्तर जिम जाने गरेको छु। 

औषधि नखान जिम

जिम जाने धेरैको कसिलो ज्यान बनाउने उद्देश्य हुन्छ। सिक्स प्याक एब्स निकाल्न मरिहत्ते गर्ने पनि धेरै देखेको छु। तर, म बुढेसकालमा कुनै औषधि खान नपरोस् भनेर जिम जान्छु। जुनसुकै उमेरमा पनि मन लागेको कुरा खान पाइयोस्। पहिलेदेखि नै ज्यान हेरेर कसैले फिल्म खेल्न दिन्छन् कि भनेर जिम गरेको होइन। स्वस्थ रहनका लागि गरेको हो। सकुञ्जेल गरिरहन्छु। जिम गर्दा एकदमै इन्जोय गर्छु। 

जीउ भान्छामा बन्छ

जिमपछि मलाई कफी खान मन पर्छ। जिम र कफी मेरा नशाजस्तै हुन्। बडी बनाउने काम गाह्रो हो। दुई घण्टा ट्रेनिङ गरेर ज्यान बन्दैन। मलाई त जीउ भान्छामा बन्छजस्तो लाग्छ। मेरा लागि ३०-४० प्रतिशत जिम हो भने बाँकी खाना। खानामा चिल्लोपिरो बार्ने गरेको छु। दिनमा पाँचचोटि खानेजति खानुपर्छ भन्ने लाग्छ। म पनि यसै हिसाबले खान्छु तर धेरै खान्नँ। मात्रा मिलाएर खान्छु। मलाई मःमः धेरै मन पर्छ। तर, मःमः खानु हुन्न। कहिलेकाहीँ ‘चिट’ गर्छु। भात पनि मन पर्छ तर थोरै खान्छु। गुलियो खाँदिनँ। घीउ खान्छु, किनकि यसले हड्डी बलियो बनाउँछ। जिमको यस्तो प्यासन छ कि बैंकक गएर टोनिजासँग ट्रेनिङ लिन मन छ। घुँडा ठीक नभएकोले चुप लागेर बसेको छु। ठीक हुनेबित्तिकै जान्छु। 

शब्द : तस्बिरः कुबेर डंगोल


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.