परिवार नियोजनको फरक पाटो
गर्भलाई सुनियोजित गर्नु नै वास्तविक परिवार नियोजन हो। परिवार नियोजनका साधन प्रयोगले सन्तानको संख्या कम हुने मात्र हुँदैन, थोरै र जन्मान्तरले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ। बच्चालाई राम्रो स्याहार गर्न सकिने, पोषणयुक्त खाना अनि स्वस्थ वातावरणले बिमारी कम हुने तथा स्वास्थ्यमा हुने खर्चमा कमी आउने हुन्छ। त्यस्ता बच्चालाई राम्रो शिक्षादीक्षा दिन सकिने र त्यसैले राम्रो रोजगार पाउनेजस्ता कुराले आर्थिक, सामाजिक, स्वास्थ्य, शिक्षा हरेक क्षेत्रको प्रगति र सन्तुलनमा परिवार नियोजनले प्रत्यक्ष वा परोक्ष रूपमा मद्दत गरेको हुन्छ। राष्ट्रलाई पनि कम जनसंख्या भएको अवस्थामा स्वास्थ्य, शिक्षा, रोजगारजस्ता अति आवश्यक सुविधाको कुशल व्यवस्थापन गर्न सजिलो हुन्छ। त्यसैले राज्यले पनि यसलाई उच्च महत्व दिएको छ र सरकारी स्वास्थ्य संस्थाहरूमा परिवार नियोजनका सबै सेवा निःशुल्क गरेको छ।
परिवार नियोजनका साधनहरूका बारेमा सबैले जानेको भनिए पनि ‘सुनेका मात्र हुन्, जानेका होइनन्’ भन्ने स्पष्ट छ। परिवार नियोजनका बारेमा जान्नु र सुन्नु फरक कुरा हो। परिवार नियोजनबारे जान्नु आवश्यक छ, सुनेर पुग्दैन। नेपाल डेमोग्राभी एन्ड हेल्थ सर्भे २०१६ अनुसार १५ वर्षदेखि ४५ वर्षका हरेक महिलालाई परिवार नियोजनका कुनै एक साधनबारे जानकारी रहेको देखाएको छ। तर आधुनिक परिवार नियोजनका साधन प्रयोग गर्नेको संख्या ४३ प्रतिशत मात्र रहेको सो सर्वेले देखाएको छ। सन् १९७६ मा २.४ प्रतिशत १५-४५ वर्ष समूहका महिलाले मात्र परिवार नियोजनका साधन प्रयोग गर्ने गरेको भए पनि सन् १९९६ मा २६ प्रतिशत, सन् २००१ मा ३५ प्रतिशत र सन् २००६ मा सो संख्या ४८ प्रतिशतसम्म पुगेको थियो।
परिवार नियोजनका विज्ञसँग परामर्श नगरी सामान्य मानिसको सुझावका भरमा परिवार नियोजनका साधनबारे भ्रम पाल्दा धेरै दम्पती तनावमा परेका छन्।
महिलालाई परिवार नियोजनका साधनबारे जानकारी हुँदाहुँदै पनि १० वर्षदेखि यसको प्रयोग बढेको देखिएको छैन। अधिकांश महिलामा परिवार नियोजनका साधन प्रयोग गर्नाले सधैंका लागि गर्भ नरहने डर रहने गरेको पाइन्छ। कसैकसैमा यसले महिनावारी गडबडी गर्ने तथा पाठेघरका असर गर्ने तथा क्यान्सर नै हुन सक्ने डर पनि रहेको हामीले पाएका छौं। परिवार नियोजनसम्बन्धी विज्ञसँग परामर्श नै नगरी यससम्बन्धी पूर्ण ज्ञान नभएको मानिसले भनेका आधारमा परिवार नियोजनका साधनबारे भ्रम पालेर तनावमा बसेका धेरै दम्पती हाम्रावरिपरि रहेको पाउँछौं। यस्ता अधिकांश महिलामा गर्भ नराख्ने चाहना हुने गरेको तर परिवार नियोजनका साधन प्रयोग गर्न डराएका अनि यससम्बन्धी परामर्शका लागि लजाउने गरेको पाइन्छ। यी महिलाको त्यही डर, लाजले गर्दा अनेच्छित गर्भ रहने र गर्भपतन सेवाका लागि भौंतारिने गरेको हामी पाउँछौं।
शिक्षाले परिवार नियोजनमा ठूलो महत्व राखेको पाइन्छ। शिक्षित परिवारमा ढिलो विवाह हुने, थोरै सन्तान पाउने र राम्रो जन्मान्तर कायम गरेको पाइन्छ। त्यसैले शिक्षित वर्ग परिवारप्रति जिम्मेवार र संवेदनशील रहेको आभास गराउँछ, तर यस्ता वर्गमा परिवार नियोजनका साधन कम प्रयोग गर्ने गरेको अध्ययनहरूले देखाएको छ। २०१६ को नेपाल डेमोग्राभी एन्ड हेल्थ सर्भेअनुसार लेखपढ नभएका ५२ प्रतिशत महिलाले परिवार नियोजनका साधन प्रयोग गर्ने गरेका छन् भने माध्यमिक वा सोभन्दा बढी पढेका केवल ३४ प्रतिशत महिलाले मात्र यो प्रयोग गर्ने गरेका छन्। शिक्षित महिलाले प्राकृतिक विधि अपनाउने गरेको वा निजी वा सरकारी परिवार नियोजन क्लिनिकमा नगएर आफ्नै किसिमले परिवार नियोजनका साधनहरू प्रयोग गर्ने गरेको हुन सक्ने अनुमान सहजै लगाउन सकिन्छ।
परिवार नियोजनका साधनहरूका बारेमा सबैले जानेको भनिए पनि ‘सुनेका मात्र हुन्, जानेका होइनन्’ भन्ने स्पष्ट छ। जान्नु र सुन्नु फरक कुरा हो। परिवार नियोजनका बारेमा जान्नु आवश्यक छ। यसबारेमा नजानेकाले एकातिर गर्भपतन गराउनुपर्ने बाध्यता छ भने अर्कोतिर जोखिम लिएर भए पनि नचाहिएको बच्चा पनि जन्माउनुपरेको छ। सन् २००२ देखि २०१७ सम्ममा करिब १० लाख महिलाले सुरक्षित गर्भपतन गराइसकेको र सोभन्दा बढी असुरक्षित गर्भपतन भएको हुन सक्ने अनुमान गरिएको छ। गर्भपतनलाई व्यवस्थित गर्न पनि परिवार नियोजनका बारेमा परामर्श सेवा बढाउनु आवश्यक छ। हिजोआज मान्छेका चाहना बढिसकेको छ। अहिले सामान्य बिसञ्चोमा पनि विशेषज्ञसँगको सेवा नै चाहना राख्छन्। परिवार नियोजनका लागि पनि विज्ञसँगको परामर्शको चाहना राख्नु ठूलो कुरा रहेन। अर्को कुरा, अहिलेको जीवनयापन र खानपानले कम उमेरमै उच्च रक्तचाप, मधुमेहजस्ता दीर्घरोगको समस्या अनि त्यस अवस्थामा चाहिने परिवार नियोजनको परामर्शलाई अलिक गम्भीर हुन आवश्यक छ।
परिवार नियोजनका साधन रोज्न हतार गर्नु हुँदैन। आफूलाई उपयुक्त हुने साधन अनि त्यसको फाइदा-बेफाइदाका सम्बन्धमा राम्रो जानकारी लिनुपर्छ। यसबारेमा चिकित्सक, स्वास्थ्यकर्मी वा स्वास्थ्य कार्यकर्तासँग परामर्श लिन सकिन्छ। उचित परामर्शपछि मात्र यसको सेवन वा प्रयोग गर्नुपर्छ तर परिवार नियोजनका साधारहरू प्रयोग गर्न अप्ठ्यारो मानेर, डर वा चिन्ता लिएर गर्भ रहन दिनु हुँदैन। आफू वा महिलाले नचाहँदानचाहँदै गर्भ रहन गएमा त्यस्तो गर्भका लागि १८ वर्ष पार गरेका महिलाले आफ्नै मञ्जुरीमा गर्भपतन रोज्न पाउने कानुनी प्रावधान रहेको छ। नेपालमा गर्भपतन सेवाले २०५९ सालमा कानुनी मान्यता पाएको हो। परिवार महाशाखाको पछिल्लो तथ्यांकअनुसार हाल ७५ वटै जिल्लामा गरेर ३ हजारभन्दा बढी गर्भपतन सेवा दिने स्वास्थ्यकर्मी तथा चिकित्सकहरू छन्।
परिवार नियोजनका साधनका लागि परामर्श तथा सेवा दुवै सरकारी स्वामित्वका अस्पताल तथा स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध छ। अहिले धेरै प्रसूति तथा स्त्रीरोग विशेषज्ञहरूले आफ्नो निजी क्लिनिकमा पनि परिवार नियोजनका परामर्श तथा सेवा दिन सुरु गरिसकेकाले डर र त्रासविना आफ्नो चिकित्सकसँग सल्लाह गर्न सकिन्छ। राम्रो पक्ष के छ भने अहिले निजी क्लिनिकमा पनि हर्मोन प्रयोग नगरिएको १२ वर्षसम्मका लागि पुग्ने तथा आवश्यक भए झिक्न पनि मिल्ने कपर टी (ओके प्लस) स्त्रीरोग विशेषज्ञले लगाउने भएकाले विज्ञको सेवा नै खोज्नेहरूका लागि सजिलो भएको छ। त्यस्तै स्थायी बन्ध्याकरण गर्ने मन भएर पनि दुखाइको डरले नगरेर बसेकाहरूका लागि पनि मैलेजस्तै धेरै स्त्रीरोग तथा प्रसूति विशेषज्ञले निजी अस्पतालमा पूरै नदुख्ने बनाएर स्थायी बन्ध्याकरण गर्ने सेवा पनि दिने गरेका छन्। यसले एकातिर दीर्घरोगी तथा विज्ञबाटै सेवा खोज्नेहरूका लागि सजिलो भएको छ भने अर्कोतिर परिवार नियोजनका साधनको सही छनोटले अनच्छित गर्भ राख्नुपर्ने बाध्यताको अन्त्य हुने गरेको छ। त्यसैले समयमै उचित परिवार नियोजनका साधनसम्बन्धी परामर्श र सेवा उपभोग गर्नु बुद्धिमानी सावित हुन्छ।
-साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन्।