दुर्घटनाको दुर्दशा
![दुर्घटनाको दुर्दशा](https://annapurnapost.prixacdn.net/media/albums/trisuli-bus-accident_20190809002434_XRn480nzNq.jpg)
मलंगवाबाट काठमाडौं आउँदै गरेको बस शुक्रबार बिहान पृथ्वी राजमार्गमा दुर्घटनामा पर्यो। बस त त्रिशूली नदीमा फेला पर्यो। तर त्यसमा कति यात्रु थिए, कति बाँचे र कतिको ज्यान गयो भन्ने यकिन छैन। मानवीय त्रुटिका कारण उक्त बस दुर्घटना भएको प्रहरीको अनुमान छ।
सडक दुर्घटना नेपालमा बढ्दो छ। दैनिक सातजना नेपालीले सडक दुर्घटनामा ज्यान गुमाइरहेको ट्राफिक प्रहरीको तथ्यांक छ। सडकको दुरवस्था, क्षमताभन्दा बढी यात्रु ओसारपसार, लामो दूरीमा एकजना मात्र चालक, थोत्रा सवारीसाधन र चालकको लापरबाही सडक दुर्घटनाका मुख्य कारण हुन्। सवारीमा हुने यान्त्रिक गडबडी र मानवीय गडबडीले दुर्घटना बढ्दै गएका छन्।
बस व्यवसायीदेखि चालक, सहचालक र यात्रुलाई सडक सुरक्षाबारे जानकारी गराउने, ट्राफिक नियम पालना भएनभएको प्रभावकारी अनुगमन गर्ने र सडकको नियमित मर्मतसम्भारमा राज्यको ध्यान गएको देखिँदैन। राज्यका ससाना युनिटका नाममा सडकमा ढाँट राखेर कर असुल्ने त गर्छन्। तर सडक सुरक्षाबारे कुनै चासो राख्दैनन्। क्षमताभन्दा बढी यात्रु ओसारपसार भइरहे पनि सम्बन्धित निकायले ‘शुभलाभ’ गर्दै आँखा चिम्लिने गरेका छन्। सवारी व्यवसायीसँगको दुईचार पैसा लेनदेनले दर्जनौं यात्रुको यात्रा जोखिमपूर्ण बनेको कुरा त्यतिबेला बिर्सन्छन्, राज्यका निकायहरू।
केही वर्षदेखि रात्रिबसमा दुईजना चालक अनिवार्य गरिएको थियो। तर त्यसको कार्यान्वयन नहुँदा सयौंले ज्यान गुमाइसके, सयौं अंगभंग भइसके, लाखौं रकम उपचारमा खर्च भइसक्यो। कुनै दुर्घटना भइहाल्यो भने दुईजना चालकको चर्चा हुन्छ, अनि बिर्सने संस्कृति। सडक दुर्घटना न्यूनीकरण गर्न दुई चालकको राज्यको नीति कार्यान्वयन हुँदासम्म अझै कति निर्दोषले अनाहकमा ज्यान गुमाउनुपर्ने हो ? लामो दूरीमा एकजना मात्र चालक हुँदा सहचालकले गाडी चलाएर दुर्घटना गराएका दर्जनौं दुर्घटना छन्। सहरमा मात्र होइन, राजमार्गमा पनि मादक पदार्थ सेवन गरी सवारी चलाउन नदिने नीतिलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्छ।
सवारी दुर्घटना न्यूनीकरणमा व्यवसायीदेखि यात्रुको पनि जिम्मेवारी रहन्छ। सवारीको क्षमताअनुसार मात्र यात्रु बोक्न लगाउने, चालक र सहचालकलाई दुर्घटनाबारे सजग गराउने र सवारीको नियमित ‘मेन्टिनेन्स’ गर्नेतर्फ व्यवसायीको ध्यान पुग्न सके मात्र पनि सवारी दुर्घटनामा न्यूनीकरण हुन सक्छ। अर्कोतर्फ यात्रुले पनि सवारी साधन र सडकको अवस्था बुझेर यात्रा गर्ने, चालक र व्यवसायीलाई नियमविपरीत यात्रु चढाउने र ओराल्न प्रोत्साहन नगर्नेतर्फ यात्रुको ध्यान दिनुपर्छ। सडकको भारवहन नहेरी भेडा बाख्राजस्तै कोचिएर यात्रा गर्ने कि नगर्ने भन्नेमा यात्रुको पनि ध्यान पुग्न जरुरी छ। सरकारले सवारी साधनमा खारेज गरिएको भनिएको सिन्डिकेट अन्त्य नहुँदा पर्याप्त सवारी नपाई यात्रुले दुःख पाइरहेका छन्। थोत्रा र पुराना गाडीमा यात्रु बोक्न निषेध गर्नैपर्छ।
राजमार्गमा अत्यधिक गति पनि दुर्घटनाको अर्को कारण हो। सडक सुरक्षामा खटिने प्रहरीले अत्यधिक गतिका सवारी नियन्त्रणका लागि ‘टाइम कार्ड’ लागू गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ। सडक दुर्घटना बढ्दै गए पनि सरकारले सडक दुर्घटनाको राम्रोसँग अध्ययन नै गरेको छैन। सवारी दुर्घटनाको मुख्य कारण के हो ? मानवीय त्रुटि, सवारी साधनको यान्त्रिक गडबडी वा सडकको डिजाइन ? यसबारे सरकारले अध्ययन र अनुसन्धान गरेर न्यूनीकरणको कदम चाल्नैपर्छ। साँघुरा र बांगाटिंगा सडक, घुम्तीमा साना मोडजस्ता सडक इन्जिनियरिङको त्रुटिले पनि दुर्घटना हुने गरेको विज्ञहरूको भनाइ छ। त्यसो हो भने हाल भइरहेको सडक निर्माण शैली नै फेर्ने र मुलुकको भौगोलिक अवस्थाअनुसार सडक मापदण्ड बनाउनुपर्ने देखिन्छ।
धेरै मानवीय क्षति भएका दुर्घटनामा सरकारले छानबिन समिति बनाएर तत्काल दुर्घटना बिर्साउने उपाय निकाल्ने गरे पनि सडक सुरक्षालाई प्राथमिकता नदिँदा बर्सेनि दुर्घटनाको ग्राफ बढ्दो छ। हरेकपटक बन्ने समितिका प्रतिवेदनका सुझावलाई कार्यान्वयन गर्ने, दुर्घटनालाई न्यूनीकरण गर्ने कार्यक्रम ल्याउने र सडक सुरक्षाबारे चेतनामूलक कार्यक्रम सञ्चालन गर्नेतर्फ राज्यको उचित ध्यान पुग्न सकेको देखिँदैन। सडक सुरक्षालाई नागरिकको सुरक्षासँग जोडेर हेर्नुपर्छ। दुर्घटनासम्बन्धी विज्ञहरूले बनाउने प्रतिवेदनहरू सरकारले थन्क्याउनुभन्दा अध्ययन गरेर कार्यान्वयनमा ल्याउनुपर्छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)