अन्नुको जादुमयी स्वर
![अन्नुको जादुमयी स्वर](https://annapurnapost.prixacdn.net/media/albums/Annu-Chaushary-Singer-2_20190811063807_GRa0DR78VE.jpg)
कुनै पनि फिल्डमा स्थापित हुन मान्छेलाई दशकौं कुर्नुपर्छ। तर गायिका अन्नु चौधरी यस मानेमा भाग्यमानी छन्। उनको पहिलो गीतले नै उनलाई स्थापित गरिदियो।
मात्र अढाई वर्षको गायन यात्रा तर यसबीचमा उनले एक सयभन्दा बढी थारू र ५० भन्दा नेपाली गीत रेकर्ड गरिसकेकी छन्। उनका प्रायः सबै गीत मुखमा झुन्डिने खालका छन्। त्यसैले त कुनै एकल एल्बम ननिस्कँदै बजारमा उनको माग ह्वात्तै बढेको छ। थारू समुदायको गायिकामा उनी अहिले पहिलो टे«न्डिङमा परेकी छन्।
२०७२ सालमा कैलालीको प्रतापपुर गाउँको स्कुलबाट एसएलसी सकाएर प्लस टु पढ्न उनी सदरमुकाम धनगढी उक्लिइन्। धनगढी बसाइ नै उनका लागि वरदान सावित भइदियो। उनले डेरा जमाएकी थिइन् आफ्नी ठूली आमाकहाँ। उनको सुरिलो स्वर सुनेर ठूली आमाले तिम्रो गीत तुरुन्त रेकर्ड गराउने व्यवस्था मिलाउँछु भनिछन्। नभन्दै उनले स्थानीय गायक मनिराम चौधरीलाई भेट गराइदिइन्।
मनिराम ‘मोर चम्फा फुलवारे’ एलबमको भाग २ का लागि थारू लोकगीत गाउने गायिकाको खोजीमा थिए। अन्नुको स्वरले उनलाई पनि तान्यो र रेकर्ड भयो।
‘माटि कोरे गइली हो रामा, ओहे मटकोरवा। लपकी झपकी हो छैला, मोर बाँहिया पकरलो’ अर्थात् माटो खन्न गयौं त्यही ढिस्कोमा, लपक्कै तिमीले मेरो हात समायो।
यो गीत बजारमा आएपछि थारू सांस्कृतिक कार्यक्रममा उनी नछुटाई नहुने हिट गायिकामा दर्ज भइन्। स्टेज उक्लिएको पहिलो गीतमै पारि श्रमिक थापेपछि दंगदास पर्दै उनले गायन अभ्यासलाई जोड दिन थालिन्। उनलाई अन्य गायकहरूले पनि आफ्नो एलबमका लागि भटाभट बोलाउन थाले। २०७४ सालको विन्डास म्युजिक अवार्डमा उनले आधुनिक गीतमा उत्कृष्टको अवार्ड हात पारेकी छन्।
गायक तथा संगीतकार उत्तमजंग लिम्बूलाई एक दिन खै के मुडले हो, थारू गीत सुन्न मन लाग्यो। उनले सुनेको गीत उही अन्नुको थियो। उनले थारू भाषा बझेनन् तर संगीतको भाषा बुझे। उनले अन्नुको जस्तै मेलोडियस स्वर खोजिरहेका थिए। आफूले खोजेजस्तो स्वर फेला पारेपछि सम्पर्क गरे। यसरी अन्नुलाई काठमाडौंको दैलो कुल्चने अवसर मिल्यो।
अन्ततः उनले गाउने मौका पाइन्, पूर्व नेपाल तारा दीपक लिम्बूको साथमा ‘मरेँ भने मरेको पल तिम्रो काख न हो, बाँचे भने हरेक पल तिम्रो साथ न हो।’ यही गीतले अन्नुलाई थारू गीतसंगीतको साँघुरो घेराबाट नेपाली गीतसंगीतको ठूलो बजारमा ल्याइपुर्यायो। ताराप्रकाश लिम्बूसँग गाएको ‘दुःखसँग सुख बढी’ बोलको गीतले उनलाई थप उचाइ दियो।
उनी आफैंलाई मन परेको नेपाली गीत भने ‘अलि–अलि हँसाउँदै, अलि–अलि रिसाउँदै, अलि–अलि खुसी हुँदै, अलि–अलि सताउँदै’ हो। यसमा उत्तमजंग लिम्बूको संगीत छ। त्यस्तै थारू गीतमा गणेश चौधरीको शब्दमा ‘नयना निहारे टोहार राह रे, जोबना मागेँ टोहार बाँह रे’ हो। उनी आफैंलाई मन परेको यी दुवै गीत युट्युबमा भने उपलब्ध छैनन्। यस गीतबाट पनि उनले धेरै आशा बाँधेकी छन्।
थारू, नेपालीका अलावा अन्नुले स्टेजमा हिन्दी कभर सङ पनि गाउने गरेकी छन्। स्थानीय मिडियाले उनलाई अलका याग्निकसँग तुलना गरेका छन्। भन्छिन्, ‘कहाँ बलिउडकी स्थापित गायिका। कहाँ म भर्खर बामे सर्दै गरेकी थारूकी छोरी। अलकासँग मेरो तुलना हुनै सक्दैन।’
अन्नुको बाल्यकालमा उनको गाउँमा छरछिमेकमा थारू नाच गीत गुञ्जिन छाडिसकेको थियो। १० वर्षे द्वन्द्वको मारले गाउँघरमा नाचगान गर्ने माहोल थिएन। तर खै, कसरी हो कसरी उनी सानैदेखि गुन्गुनाउन थालेकी थिइन्। ‘आ जा ना, आजा ना जब दिल नलगे मेरे यार, हमारे गली आ जाना’, उनकी आमाका अनुसार यो गीत उनी सानैदेखि गुन्गुनाउँथिन् रे।
कैलालीको उनको प्रतापपुर, धनचैया गाउँ, सदरमुकाम धनगढी साँघुरो भएपछि अन्नु उक्लिएकी छन् अहिले संघीय राजधानी काठमाडौं। तर उनको गाउँले बोलाइरहन्छ उनलाई, ‘जब दिल नलगे मेरा यार, हमारे गली आ जाना’ भन्दै।
संगीत सिक्ने क्रममा उनी अहिले काठमाडौंमा छिन्। बागबजारको एक संगीत केन्द्रमा संगीतको कखरा पढ्दै छिन्। संगीतको नशामा नजानिँदै डुबिसकेकी छन्। पौडी खेल्न नजानेपछि डुबिन्छ। उनी संगीतमा पौडी खेलेर उत्रिन चाहन्छिन्। अन्दाजको भरमा गाइरहेकी उनलाई संगीत सिक्दै गएपछि आफूले कुन स्केलमा गाइरहेको छु भनेर भर्खर थाहा हुन थालेको छ। भन्छिन्, ‘काठमाडौं आएको छ महिना भयो, संगीतको बाटो पहिल्याएझैं यहाँको गल्ली–गल्लीको बाटो पहिल्याउँदै छु।’
अन्नुका दुई बहिनी छन्। उनलाई लाग्छ, बहिनीहरू उनीभन्दा अझ सुरिलो गाउँछन् रे। अन्नु प्लस टुको रिजल्टपछि काठमाडौंमा भविष्य खोज्न चाहन्छिन्। उनलाई लागेको छ, दुई÷चारवटा कार्यक्रममा गाउँदैमा, वाहवाह हुँदैमा उनको गायन अघि बढ्नेवाला छैन। त्यसैले त उनी घुँडा धसेर संगीतमा चुर्लुम्म डुब्न चाहन्छिन्।
उनको सुन्दर मुहार हेरेर उनी आफैंले गाएको गीतमा मोडल बन्न पनि निर्माताहरूले आग्रह नगरेका होइनन् तर अन्नुलाई लाग्छ, गायन र मोडल फरक विधा हो। अभिनयमा लागेपछि रियाज गर्ने समय हुन्न भन्ने लाग्छ उनलाई। त्यसैले मोडलिङको प्रस्ताव नकारेकी छन् उनले।
आफ्नो स्वरलाई ‘भगवान्को वरदान ठान्ने’ अन्नु भगवान्मा विश्वास राख्छिन्। उनलाई काठमाडौंको ममले लोभ्याइसक्यो। कुराकानीका क्रममा तीनकुनेको एक रेस्टुरेन्टमा अर्डर भएको मम ल्याइएपछि मम खानुअघि सोधिन् उल्टै, ‘ममले मेरो स्वर त बिगार्दैन है।’
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)