पाका नै पाका छन् हाम्रो गाउँमा ...
‘नातापाता आफन्त कोही छैनन्। गाह्रोसाह्रो पर्दा सघाउने आफन्त पनि नहुँदा गाह्रो छ।’
सुकमाया गुरुङ ६५ वर्षकी भइन्। व्यास—७ बाँसपानी निवासी उनलाई चण्डी पूर्णिमामा मेला लागेको याद छ। बाक्लो गुरुङ अनि छेवैको नेवार बस्तीमा हरेक चाडबाड लाग्नै हुन्नथ्यो। ठूलो जमघट अनि नाचगान भइहाल्थ्यो। तर तीन दशकअघिको त्यो मीठो सम्झना सँगाल्दै मन अमिलो पार्दैछन्, उनी। भएका एक मात्र छोरा रोजगारीका लागि साउदीमा छन्। बुहारी काठमाडौंमा आफ्नै व्यवसाय चलाउँछिन्। उनी दुई नातिना र श्रीमान्सँगै घर कुर्दैछिन्। ‘सक्ने सबै हिँडिसके अब गाउँ कुर्ने हामी मात्रै हो,’ उनले भनिन्,’ उनले भनिन्, ‘अब गाउँमा पैलेजस्तो मेला पर्वको रन्को फर्किएलाजस्तो छैन।’
उनकै बाल्यकालदेखिकै साथी सुनिमायाको पनि अवस्था उस्तै हो। उनी पनि पतिसँग घर रुघ्दैछन्। फरक सुकमायाका नातिनातिनासँगै छन्। उनका ती पनि पढ्नका लागि सहर झरिसके। ‘पल्ला गाउँ त रित्तिसके,’ उनले भनिन्, ‘बरु हाम्रो गाउँमा बूढाबूढी भए पनि घर रुँघेर बसेका छन्।’
हिजोआज वर्षमा एकपल्ट मुस्किलले कुलपूजामा गाउँमा चहलपहल हुन्छ। पहिले निकै रसरंग र रमाइलो देखेका यी वृद्धवृद्धालाई त्यसैले बाँकी वर्षभरका लागि चित्त बुझाउनु छ। ‘कुलपूजामा चैं अन्त भएका पनि आउँछन्,’ सुकमाया भन्छिन्, ‘अरू बेला त गाँवै शून्य।’ गाउँमा युवा नभएपछि खेतीपाती पनि कम हुन थालेको छ। उर्वर खेतका फाँटमध्ये कमका मात्र रोपिएका छन्। धेरैका बारी बाँझै छन्। भएका वृद्धवृद्धालाई खेतीपातीको काम पनि गर्नुपर्ने दायित्व छ। उमेरले ५० पुगेकी पवित्रा क्षत्री भन्छिन्, ‘सबै बजार झरिसके। छोरा विदेश छ। बुहारी छोराछोरी पढाउन भनेर बजार छन्।’ बूढाबूढीले भएभरको सबै खेतीपाती धान्न सक्दैनन्। ‘सकेको त गर्ने हो नसकेपछि के गर्ने,’ उनी भन्छिन्, ‘खेताला लगाऊँ भने पनि मान्छे पाइन्नन्।’ उनले बल्लतल्ल पाएका खेतालाले पनि बढी ज्याला माग्दा सबै बारीमा खेती गर्न नसकिएको सुनाइन्।
बाँसपानी नजिकैको सामाली गाउँको अवस्था झनै कमजोर छ। पहिले व्यापार हुने भएकाले ठाउँ ठाउँमा नेवार समुदायका पसल देखिन्थे। अहिले व्यापार हुन छाडेपछि सबै बजार झरेका छन्। मुस्किलले एक घर नेवार मात्र भेटिए। वृद्ध बाआमासँग घरमा भेटिएका बिर्खलालले गाउँमा बस्न गाह्रो भएको बताए। ‘नातापाता आफन्त कोही छैनन्,’ उनले भने, ‘गाह्रोसाह्रो पर्दा सघाउने आफन्त पनि नहुँदा गाह्रो छ।’
‘सबैले सजिलो खोजे। दुःख गर्न छोडे,’ उनी भन्छन्, ‘गाउँमा सुविधा पनि छैन। किसानीबाट कमाउन पनि सकिन्न।’
खेती किसानीको काम सकिनसकी गरिरहेका उनले वर्षायाममा बारीभरि पलाएको झार देखाउँदै भने, ‘हामीले सबै सकिन्न। उखाल्ने मान्छे पनि पाइन्न्।’ नसक्ने उनका अरू छिमेकीले जग्गा बाँझै राखेका छन्।
नेवार बस्ती पूरै रित्तिएकाले पातलो गुरुङ बस्ती पनि कुनै दिन रित्तिने हो कि भन्नेमा यहाँका एकाध युवालाई चिन्ता परेको छ। वडा सदस्यसमेत रहेका युवराज गुरुङ अवसरको कमीले गर्दा गाउँमा मान्छे नटिकेको बताउँछन्। ‘गाउँमा ८० घरमा आधाभन्दा बढी हिँडिसके,’ उनले भने,‘केही होला भनेर गाउँमै छौं। गाउँमा विकास र रोजगारी हुने हो भने बाँकीलाई जोगाउन सकिन्थ्यो।’ वडा सदस्यका हिसाबले सकेको प्रयास गरेको बताउने उनले भने, ‘हाम्रो सानो प्रयासले त के होला स्थानीय, संघ र प्रदेश सरकारले गाउँमै मान्छे टिक्ने बनाउन सोच्नैपर्छ।’