रेबिजका कारण पशुपतिको साँढे मर्यो
ललितपुर : रेबिज रोगका कारण राजधानीमा एक साँढे मरेको छ। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दका प्रमुख डा.नारायण श्रेष्ठका अनुसार पशुपतिनाथ क्षेत्रमा पालिएको उक्त साँढे बिहीबार मरेको हो।
पशुपति परिसरको एक सेल्टरमा राखिएको साँढेले बुधबारदेखि अनौठो व्यवहार देखाउन थालेको थियो। ‘म त्यहाँ पुग्दा साँढे जताततै हान्दै थियो र पागल झैँ दौडिरहेको थियो’ डा.श्रेष्ठले भने,‘त्यसपछि तुरुन्त नियन्त्रणमा लिएर केन्द्रिय पशुपंक्षी रोग प्रयोगशाला त्रिपुरेश्वर पठायौं।’
बिहिबार मात्रै रिपोर्टमा साँढेको मृत्यु रेबिजकै कारण भएको श्रेष्ठले बताए। ‘बाँदरले टोकेर रेबिज लागेको हुन सक्छ’, उनले भने।
प्राय सबै जंगली जनावरबाट रेबिज सर्न सक्ने भएपनि कुकुर, बाँदर र न्याउरीमुसाबाट रेबिज सार्ने सम्भावना अत्यधिक हुन्छ। ललितपुरमा साउन १९ गते १७ वर्षे मनिषा अर्यालको रेबिजका कारण मृत्यु भएको थियो।
प्रतिक्रिया दिनुहोस !