आधा
जिन्दगीको मध्यान्तरमा उठेर
नुहाउनु छ
आधा टाउको
र पखाल्नु छ सम्पूर्ण स्मृतिहरू !
हृदयको प्लेटफर्मबाट छुटी गएका
आत्मीय पाइतालाहरूको बिदाइमा
झार्नु छ
आँसुका असंख्य बर्खाहरू !
समयको बिसौनीमा मौन उभिएर
हेर्नु छ आधा जून
आधा घाम
र सँगाल्नु छ सिंगै ब्रह्माण्ड !
आधा टेक्नु छ प्रेमको बाटो
आधा तर्नु छ सम्बन्धको नदी
आधा उफ्रिनु छ
आधा खुम्चिनु छ।
फर्केर नआउनेहरू पर्खेर
आधा रुनु छ
आधा हाँस्नु छ।
पहाडजस्तै उभिएर
प्रकोपको हिउँ ओढ्नु छ !
बहेर गएका बतासका सुगन्धहरू
झरेर गएका पहेँला पातहरू
बितेर गएका दिन र रातहरू
हालेर सिरानीमुनि एक्लै सुक्सुकाउनु छ।
बिरानो बस्तीको गल्ली हुँदै
पीडाको अन्तिम सीमासम्म
ओहोरदोहोर गर्नु छ
बोकेर आधा अनुहार
अर्को आधा अनुहार खोज्नु छ।
अबेर हुनुपूर्व
तिमीले अपूरो छोडेको
आधा गीत गाउनु छ !
आधा झ्यालको आधा प्वालबाट
आधा बाहिरिनु छ
आधा खस्नु छ
आधा रहनु छ।
आधा ओठको आधा मुस्कान बाँकी छँदै
तिम्रो आँखाको डिलमा रोपेर जानु छ
संसारका सबै उमंगहरू
र तिमीसँग छुट्टिनु छ !
मलाई
आधा सपनाको आधा दृश्यबाट
आधा रातमै निस्कनु छ !
र आधा बाटोमा आधा हिँडेर
पूरा गर्नु छ
जीवनको यात्रा !