होटलमा लगानी गर्दै तन्नेरी

होटलमा लगानी गर्दै तन्नेरी

ईलाम : कन्याम र अन्तुमा पर्यटकको आगमन वर्षेनी बढ्दै गएपछि मेची राजमार्गको पाल्टाँगे–शान्ति चोक क्षेत्रको करिब तीन किलो मिटर क्षेत्रमा होटल लजको संख्या ह्वातै बढेको छ। केही वर्षअघि पातला घर देखिने यहाँ १० वटा होटल हालसालै मात्र खुलेका छन्।

सूर्योदय होटल एसोसिएसनका सचिव युवराज प्रधान एक करोडभन्दा माथि लगानी गरेर होटल खोल्ने क्रम बढेसँगै पर्यटकको आगमन र रोजगारीसमेत बढेको बताउँछन्। सूर्योदय नगरपालिका पर्यटकीय हवका रूपमा विकास हुन थालेपछि होटलमा लगानी बढेको उनको भनाइ छ। सिजनमा मुख्य गन्तव्य बन्ने गरेको श्रीअन्तुमा समेत होटल थपिँदै छन्।

स्थानीय होमस्टे सञ्चालक खगराज घिमिरे स्थानीयभन्दा पनि बाहिरबाट आउनेले होटलमा लगानी गरेको बताउँछन्। अन्तु पोखरीको आसपास रुखको छहारीमा समेत होटल खुल्ने क्रम जारी छ। होटल सञ्चालक प्रज्वल प्रधानका अनुसार अन्तुमा युवा व्यवसायी उत्साहका साथ होटलमा लगानी गर्न तम्सिएका छन्। ईलामको पर्यटकीय सम्भावना भएका सबै तहमा नयाँ होटल खोल्ने होड जस्तै देखिएको छ।

देउमाई नगरपालिका ४ का किरण राईले अफगानीस्तानमा चार बर्ष बिताए। नेपाल फर्केर होटलमा लगानी गरे। राईसँगै विक्रम श्रेष्ठ र पवन श्रेष्ठ मिलेर देउमाई नगरपालिकाको मंगलबारे बजारको तल्लो छेउमा रेष्ट्रो चिन्तुना सञ्चालनमा ल्याएका छन्। नौ रोपनी जमिनमा रिर्सोटको परिकल्पनासहित सुरु गरेको होटल तनावबाट पार पाउन चाहनेका लागि सहज गन्तव्य बन्न सुरु गरेको सञ्चालक मध्येका एक विक्रम श्रेष्ठले बताए। ४० वर्ष नपुगेका तीन युवाले १ करोड खर्च गरिसकेका छन्। विक्रमले सुनाए, ‘अब ५० लाख खर्च गर्ने योजना छ।’

अहिले सेमिनार हल, रेष्टुरेन्ट, बार, लज, स्नुकर र पुलको सुविधा रहेको होटलमा अन्य सुविधा थप्ने तयारी गरिरहेको सञ्चालक राईले बताए। देउमाई नगरपालिकामा मनमोहक पानीटार चिया बगानसँगै गुफाथुम्की, नाँगीडाँडा, गजरमुखी धाम, सिद्धिथुम्का, कुहिभीर लगायतका पर्यटकीय गन्तव्य रहेका छन्। पर्यटन प्रवद्र्धन गर्नकै लागि स्थानीय युवाले फराकिलो सोचका साथ पर्यटन क्षेत्रमा लगानी गर्न सुरु गरेको मंगलबारे उद्योग वाणिज्य महासंघ अध्यक्ष तारा थापा बताउँछन्।

सूर्योदय नगरपालिका पर्यटकीय हवका रूपमा विकास हुन थालेपछि होटलमा लगानी बढेको छ।

कोरियाको ३ वर्षे रोजगारीबाट फर्किएका देउमाई नगरपालिका १ चमैताका प्रकाश बस्नेतले राँके बजारमा होटलमा लगानी गरेका छन्। बस्नेतले खोलेको ‘चमु होटल’ पनि ३ करोड १५ लाखको लगानीमा खोलेका हुन्। चमु होटलले ईलाम, पाँचथर र ताप्लेजुङका पर्यटकलाई सहज भएको छ। करिब डेढ सयजना अटाउने व्यवस्थित मिटिङ हल पनि निर्माण गरेका छन्।

करोडौं खर्चेर होटल खोल्ने तन्नेरी जमात ईलाममा बढ्दै गएको छ। श्रीअन्तुका ‘३६० बेसक्याम्प’ होटलका सञ्चालक प्रज्वल प्रधान घुमघाम संस्कृतिको विकाससँगै होटल व्यवसायमा लगानी बढेको बताउँछन्।

ईलाममा गतवर्ष भन्दा ४२ प्रतिशत बढी पर्यटक यस वर्ष ईलाम प्रवेश गरेका छन्। थपिएका भौतिक सुविधा, ईलाममा भएका पर्यटकीय गतिविधिका कारण आन्तरिक र बाह्य पर्यटक बढेका हुन्। पर्यटकको आगमनसँगे होटलमा लगानी गर्ने तन्नेरी पुस्ता बढेको सचिव प्रधानको भनाइ छ।

गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा ४० हजार १०१ जनाभन्दा बढी पर्यटक ईलाम प्रवेश गरेको ईलाम प्रवेशद्धार जोर कलशको पर्यटन सूचना केन्द्रका अधिकृत गगन घिमिरेले जानकारी दिए। उनका अनुसार एक लाख ३४ हजार ७७ पर्यटकले ईलामको प्रवेश गरेका छन्। अघिल्लो वर्षको सोही अवधिमा आन्तरिक ९३ हजार ९ सय ७६ पर्यटकले ईलामको भ्रमण गरेको घिमिरेले बताए।

देशका पश्चिमी जिल्लाबाट पछिल्लो समयमा ईलामका गन्तव्य घुम्ने पर्यटकको संख्या बढ्दो क्रममा छ। गत आर्थिक वर्षमा ५८० विदेशी पर्यटकले ईलामको भ्रमण गरेका छन्। पर्यटकलाई रात्री मनोरञ्जनका लागि फिक्कलका युवाले प्रत्येक शुक्रबार खुला आकाशमुनि सांगीतिक कार्यक्रम सञ्चालन गर्ने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.