हेटौंडा सिमेन्टलाई दैनिक ७० लाख घाटा

हेटौंडा सिमेन्टलाई दैनिक ७० लाख घाटा

हेटौंडा : सिमेन्ट मिलमा बिग्रिएको बेरिङ फेर्न नसक्दा दुई सातादेखि हेटौंडा सिमेन्ट उद्योग बन्द छ। उद्योग प्रशासनले बेरिङ फेर्न ढिलाइ गर्दा दैनिक ७० लाख रुपैयाँभन्दा बढी नोक्सानी व्यहोर्दै आएको छ।

उद्योगले एक दिनमा चार सय ५० मेट्रिक टनसम्म सिमेन्ट उत्पादन गर्दै आएको छ। एक मेट्रिक टनमा ५० केजीको २० बोरा सिमेन्ट हुन्छ। उद्योगले प्रतिबोरा आठ सय २६ रुपैयाँमा सिमेन्ट बिक्री गर्दै आएको छ। सिमेन्ट मिल बन्द भएपछि सिमेन्ट उत्पादनसँगै बिक्री पनि बन्द छ।

‘सिमेन्ट मिलमा रहेको बेरिङ मर्मत गर्ने काम भइरहेको छ’, उद्योगका प्राविधिक नायव महाप्रबन्धक कामेश्वर मण्डलले भने, ‘समस्या पत्ता लगाउन समय लाग्यो, केही दिनभित्र उद्योग सञ्चालन हुन्छ।’ सिमेन्ट मिललाई घुमाउन सहयोग गर्ने मुख्य एउटा बेरिङ बिग्रिएपछि नयाँ बेरिङ हाल्ने काम भइरेको उनले जानकारी दिए।

करिब ३० वर्ष पुरानो मेसिनबाट सिमेन्ट उत्पादन गर्दै आएको उद्योग प्रत्येक वर्ष दुई महिनाभन्दा बढी समय मेसिन बिग्रिएर बन्द हुँदै आएको छ। निजी सिमेन्ट उद्योगसँग प्रतिस्पर्धामा उत्रनुपर्ने बाध्यता रहेको सरकारी उद्योग लामो समय बन्द हुँदा त्यसको फाइदा निजी उद्योगले लिने गरेको छ। ‘एउटा बेरिङ फेर्न यति लामो समय लाग्दैन’, उद्योगको प्राविधिक क्षेत्रमा काम गरेका एक पूर्वकर्मचारीले भने, ‘कुनै समस्या आयो भने उद्योग नै बन्द गरेर लामो समय राख्ने उद्योगको पुरानो रोग हो, यसले कोही व्यक्तिलाई फाइदा होला तर उद्योगलाई ऋणको भार मात्र बढ्छ।’

उद्योगको क्रसर, रमिल र किल भने सञ्चालनमा रहेको उद्योगका खानी विभाग हेर्ने नायव महाप्रबन्धक अनिलकुमार कर्णले बताए। ‘मेसिन पुरानो भएकाले बेला बेलामा समस्या आइरहन्छ, अब नयाँ मेसिन जडान नगरेसम्म निजी उद्योगसँग प्रतिस्पर्धा गरेर काम गर्न समस्या हुन्छ।’

निजी उद्योगसँग प्रतिस्पर्धा गर्न पुराना मेसिनको स्तरोन्नति गरी क्षमता विस्तार गर्र्न उद्योग चार वर्षदेखि प्रयासरत छ। तर त्यसका लागि पर्याप्त रकम जुटाउन नसक्दा उद्योग पुरानै मेसिनको भरमा सञ्चालित छ। त्यसका लागि करिब ४५ करोड रुपैयाँ रकम जुटाइसकेको उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले बताए। स्तरोन्नतीका लागि थप ५५ करोड रुपैयाँ रकम आवश्यक रहेको उनले बताए।

सात सय ५० मेट्रिक टन दैनिक सिमेन्ट उत्पादन गर्ने क्षमता रहे पनि उद्योगले हाल दैनिक ४ सय ५० मेट्रिक टनसम्म सिमेन्ट उत्पादन गर्दै आएको छ। क्षमता बिस्तार गरी दैनिक दुई हजार मेट्रिक टनसम्म सिमेन्ट उत्पाद गर्ने उद्योगको लक्ष्य छ।

निजीसँग प्रतिस्पर्धा बढे पनि केही वर्षयता उद्योग नाफामा छ। आर्थिक वर्ष २०७४/७५ मा उद्योगले करसहित २४ करोड रुपैयाँ नाफा गरेको थियो। २०७५/७६ को नाफा यकिन भइनसकेको उद्योगकका महाप्रबन्धक सिंहले बताए।

२०७३/७४ मा २७ लाख ६६ हजार तीन सय २८ बोरा सिमेन्ट बिक्री गरेको उद्योगले आव २०७४/७५ मा २१ लाख २० हजार आठ सय ८५ बोरा सिमेन्ट बिक्री गरेको तथ्यांक छ। २०७५/७६ मा उद्योगले २० लाख ८६ हजार ६ सय ६७ बोरा सिमेन्ट उत्पादन गरेको उद्योगका बिक्री शाखा प्रमुख भुपेन्द्र सिंह रावलले बताए।

२०४२ सालबाट सिमेन्ट उत्पादन सुरु गरेको उद्योगले धादिङको जोगिमारा, मकवानपुरको आमभञ्ज्याङस्थित मजुवा, भैँसे र ओखरे खानीबाट चुनढुंगा उत्खनन् गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.