‘मुइया, मेरो पहिचान’

‘मुइया, मेरो पहिचान’

नेपाल टेलिभिजनबाट प्रसारण हुने टेलिसिरियल ‘मेरी बास्सै’ मा ‘मुइया’ को भूमिकामा छु। टेलिसिरियलको सुरुवातदेखि नै त्यसमा छु। मुइया बनेको ११ वर्षजति भयो। बाल्यकालदेखि नै कलाकारितामा रुचि थियो। अभिनयमा रुचि भए पनि हास्य कलाकार बन्छु भन्ने थिएन। साँच्चै भन्ने हो भने मलाई कमेडियन भनेको के हो भनेर पनि थाहा थिएन। मनोरञ्जन क्षेत्रमा कमेडियन, हिरोइन, मोडललगायत विभिन्न थरी हुन्छ भन्ने थाहै थिएन। 

प्लस टू गर्दाताका केदार घिमिरे दाइसँग भेट भयो। उहाँले सोध्नुभयो, ‘हामीले ‘मेरी बास्सै’को डमी निकाल्दै छौँ। त्यसमा खेल्ने हो ?’ मैले ‘हुन्छ’ भनिदिएँ। यसअघि सविन बास्तोला दाइकोमा काम गर्दा थोरै भए पनि क्यामेरा फेस गरिसकेकी थिएँ। त्यसैले डमीमा काम गर्न असहज भएन। सिन पहिलो टेकमै ओके भयो। यसरी १५ वर्षको उमेरदेखि मेरो अभिनय यात्रा सुरु भयो। बीचमा कार्यक्रमका सबै जनाले छोडेपछि एक वर्ष ‘जिरे खुर्सानी’ मा काम गरेँ। त्यसमा चाहिँ ‘भोक लाग्यो’ की श्रीमती बनेकी थिएँ। ‘मेरी बास्सै’ सुरु भएपछि फेरि त्यसमा फर्किएँ। त्यहाँ काम गर्न थालेको एक वर्ष भयो।

‘मेरी बास्सै’ मा सुरुका २१ भागसम्म थापाकाजीको श्रीमतीको भूमिका गर्नुपर्‍यो। पछि मात्र बान्द्रेकी दिदी र माग्ने बूढाको श्रीमतीको भूमिकामा देखापरेँ। त्यसमा मैले ठेट गाउँले शब्द प्रयोग गर्नुपर्छ। झर्केर बोल्नुपर्छ।

सेटमा सबैभन्दा कम समयमा तयार हुन्छु। जम्मा १५ मिनेट लाग्छ। पाउडर, लिपस्टिक लगाउनु पर्दैन। भएको फेसमा कालो मेकअप गरेर, धोतीचोलो लगाएर, सिन्दुर, पोते, हातमा चुरा र कपालमा डोरी बाँधेपछि मुइया बन्छु। मैले आफ्नो उमेरभन्दा बूढी देखिनुपर्छ। अलि काली, फोहोरीजस्तो देखिनुपर्छ। सुरु–सुरुमा मेरो उमेर कलिलो भएकाले ४१ वर्षे पाको मान्छेसँग जोडी मिलाउन अलि अप्ठ्यारो हुन्थ्यो। अहिले त्यस्तो छैन। सुटिङमा मेकअप गरेर मलाई काली बनाइदिन्छन्। प्रत्यक्ष भेट्दा धेरैले ‘मेकअपबिना पो राम्री रहेछौ’ भन्छन्, कोही चाहिँ ‘भर्खरकी रहेछौ’ भन्दै हाँस्छन्। यस्तो प्रतिक्रिया पाउँदा खुशी लाग्छ।

मलाई अधिकांशले मुइयाकै रूपमा चिन्छन्। झर्केर, पटर–पटर बोलिरहने, छुच्ची, घरी ठुस्किने त घरी धाक लगाउने उसको विशेषता हो। यस्ती छुच्चीलाई दर्शकले रुचाइदिए। अहिले त आफैँलाई पनि मुइयाको माया लाग्छ। 

घरमा, साथीभाइसँग हुँदा कहिलेकाहीँ झुक्किएर र रिसाएको बेला झर्किएर बोलिदिन्छु। अनि, ‘ठ्याक्कै मुइयाजस्तो आयो है’ भनेर जिस्काउनुहुन्छ। कतिपयले मलाई बोलीबाट चिन्छन्। बाटोमा हिँड्दा कहिलेकाहीँ कोही–कोहीले ‘तपाईंको बोली कता–कता सुनेजस्तो लाग्यो’ भन्नुहुन्छ। ‘मुइयाको सुन्नुभएको होला’ भनिदिन्छु। त्यसपछि उहाँहरू हाँस्नुहुन्छ। मुइयाका नामले चिनिन पाउँदा खुशी लाग्छ। उसको लवाइखुवाइ, हिँडाइ, बसाइ र बोली केही पनि मेरो वास्तविक जीवनसँग मिल्दैन। तर, पनि ऊ मेरो पहिचान बनिसकेकी छ। 

अन्न्पूर्ण सम्मूर्णका लागि अस्मिता खड्काले तयार पारेको स्टोरी ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.