‘कृषिमा आकर्षित हुने वातावरण बनाउँछौं’

‘कृषिमा आकर्षित हुने वातावरण बनाउँछौं’

बाँकेको जानकी गाउँपालिकामा निर्वाचित जनप्रतिनिधि आएसँगै सडक निर्माणलगायत विकास निर्माणले गति लिएको छ। गाउँपालिकाले तीन वर्षे कार्ययोजना बनाएर काम गर्ने तयारी गरिरहेको अध्यक्ष रामनिवास यादव बताउँछन्। दुई वर्षे कार्यकालका उपलब्धी र भावी योजनाका बारेमा अन्नपूर्णकर्मी शंकरप्रसाद खनालले गाउँपालिकाका अध्यक्ष यादवसँग गरेको कुराकानी :

विकास निर्माणको काम कसरी भइरहेको छ ?

हामी निर्वाचित भएर आएपछि निरन्तर विकासमा ध्यान दिएका छौं। प्रत्येक वडामा जनसंख्याको आधारमा, भूगोलका आधारमा समानुपातिक ढंगले बजेट विनियोजन गरेका छौं। सिमित साधनस्रोत भए पनि विकासमा पछाडि परेको यो गाउँपालिकालाई समृद्ध बनाउने विशेष योजनाका साथ काम गरिरहेका छौं।

समृद्ध गाउँपालिका कसरी बन्छ त ?

हामीले वडा नम्बर ६ गनापुर क्षेत्रलाई औद्योगिक क्षेत्रको रुपमा विकास गरिरहेका छौं। यसका लागि पूर्वाधार विकास निर्माणको काम अघि बढाइएको छ। उद्योगलाई आवश्यक सेवा सुिवधा प्रदान गर्ने र उनीहरुलाई करको दायरामा ल्याउने कार्यको प्रारम्भ भएको छ।

खेतीयोग्य जमिनलाई सिँचाइ गरी व्यावसायीक खेती गर्दै कृषिको माध्यमबाट जनताको आर्थिकस्तर उकास्दै समृद्धि हासिल गर्ने लक्ष्यमै हाम्रो नीति तथा कार्यक्रम र बजेट बनेको छ। सोही अनुसार काम गर्न लागेका छौं।

औद्योगिक क्षेत्र निर्माणको काम कसरी अघि बढिरहेको छ ?

यहाँको वडा नम्बर ६ मा १० वर्षदेखि उद्योग खुलेका छन्। यो एउटै वडामा साना र ठूला गरी एक सय भन्दा बढी उद्योग छन्। सिमेन्ट, प्लाष्टिक, आइरन, जडिबुटी, कथ्था, स्टिल, प्लाइउड, खाद्य सामग्रीलगायतका सबै खालका उद्योग छन्। उद्योगलाई सुविधा दिएर कसरी हामीले फाइदा लिने भन्नेमा हाम्रो ध्यान गएको छ।

उद्योगका लागि बाटो बनाउँदैछौं। हाम्रो आन्तरिक आम्दानीको ठूलो हिस्सा यही कर हो। हाम्रो पालिकाको करको आधा हिस्सा त यही वडाले धानेको छ। गत वर्ष एक करोड राजस्व उठेको थियो। एउटा मात्र वडाबाट ५० लाख रुपैयाँ राजस्व संकलन भएको थियो।

गाउँपालिकाको प्रमुख प्राथमिकता के हो ?

हाम्रो प्रमुख प्राथमिकता भनेको भौतिक पूर्वाधार निर्माण नै हो। हामीले गाउँपालिका भवन बनाउनु छ। ६८ लाख बजेटमा सभाहल बनाइसकेका छौं। हामी गाउँगाउँमा सडक निर्माण, मर्मत, नाली निर्माण गरिरहेका छौं। यसअघि जस्तै यो वर्ष पनि हामी पूर्वाधार निर्माणमै विशेष ध्यान दिएका छौं। ठाउँठाउँमा सडक बनाइरहेका छौं।

गाउँपालिकाका सबै वडा कार्यालय पुग्ने सडक र मुख्य मुख्य सडक निर्माण भइरहेका छन्। आगामी आर्थिक वर्षसम्म गाउँपालिकाभित्रका मुख्य तथा सहायक सडक र नाली सबै निर्माण गरिसक्ने लक्ष्य छ। त्यसपछि हाम्रो दोस्रो प्राथमिकता कृषि र सिँचाइ हो

हरेक वडा जोडने सडक सञ्जाल कस्तो बनाउँदै हुनुहुन्छ ?

हामीले रिङरोड नै बनाउन खोजेका थियौं तर सिक्टा सिँचाइ आयोजनाको शाखा नहरका कारण यो सम्भव भएन। अब हामी लिंकरोड बनाइरहेका छौं। गनापुरको पिप्रहवा चोकदेखि नहरचोकसम्मको ७ किलोमिटर सडकलाई लिंक रोडका रुपमा विकास गरी ७ मिटर फराकिलो हुनेगरी पक्की सडक निर्माण गर्दैछौं। यो कार्यको लागि टेण्डरसमेत भइसकेको छ।

पिप्रहवा–खजुरा सडकमा सात किलोमिटर लामो सडकका लागि तीन करोड ३६ लाख गाउँपालिकाको र प्रदेश सरकारको डेढ करोड रकम छ। अर्को सडक खजुरा हाइवेदेखि साहादतपुर हुँदै शिवपुरी चौधरीपुरसम्म बनाउँदैछौं। यो सडकमा प्रदेश सरकारको डेढ करोड र गाउँपालिकाको डेढ करोड गरी तीन करोड बजेट छ। सडक निर्माणको टेन्डर पनि भइसकेको छ।

कृषि र सिंचाइ अन्तर्गतका योजना के–के छन् ?

गाउँपालिकामा धेरै खेतीयोग्य जमिन छ। किसानले बीउ, मल र सिँचाइको अभावमा कृषि उत्पादन पर्याप्त गर्न सकिरहेका छैनन्। किसानका आवश्यकता पूरा गर्न हामीले यो वर्षको बजेटमा किसानसँग गाउँपालिका अध्यक्ष कृषि तथा सिँचाइ कार्यक्रम बनाएका छौं। यसका लागि सवा एक करोड रुपैयाँ विनियोजन गरिएको छ।

कार्यक्रमले किसानका न्यूनतम आवश्यकतामा सघाएर उनीहरुलाई कृिषमा लाग्न प्रेरणा जगाउनेछ। किसानका समस्या हामी आफै फिल्डमा पुगेर बुझ्ने छौैं र तत्कालको आवश्यकता पुरा गर्ने व्यवस्था मिलाउने छौं। कृषिको माध्यमबाट गाउँपालिकावासीलाई आर्थिक रुपमा सबल र समृद्ध बनाउने हाम्रो प्रयत्न रहनेछ।

शिक्षा क्षेत्रको सुधार कसरी भइरहेको छ ?

यहाँ २४ वटा सामुदायिक विद्यालय छन्। तीन वटा मात्र माध्यमिक विद्यालय छन्। एउटा पनि प्लस टु छैन। जानकीलाई अर्को वर्ष पहिलो प्लस टु बनाउँछौं। अरु माविलाई पनि क्रमशः प्लस टु बनाउँछौं। प्राविलाई निमावि, निमाविलाई मावि र माविलाई प्लस टु बनाउने हाम्रो योजना छ।

हामी पालिकाभित्रका शिक्षकको पोशाक र विद्यालय भवनको रंग एउटै बनाउन लागेका छौं। भौतिक संरचना निर्माण र मर्मतको काम गरिरहेका छौं। यस कामका लागि ५८ लाख रुपैयाँ विनियोजन गरेका छौं।

आगामी योजना के–के छन् ?

हाम्रो दुई वर्षे कार्यकाल सकिएको छ। बाँकी तीन वर्षको कार्ययोजना बन्दैछ। यो महिनभित्र बनिसक्छ। चुनावमा प्रतिबद्धता जनाए अनुसार हामी काम गर्नेछौं। गाउँपालिकाभरी राम्रो बाटोे बन्छ। प्रत्येक घरमा स्वच्छ खानेपानी पुग्छ। हामीले नल्का बाँडिरहेका छौं। अबको तीन वर्षसम्मै बाँड्छौं। शिक्षा सुधार्न विद्यालयको स्तरवृद्धि गर्छौ।

प्लस टु र क्याम्पस बनाउँछौं। वडा नम्बर ६ मा फुटबल मैदान बनाउँछौं। हामी गाउँपालिकाको आफ्नै भवन बनाउँदैछौं। स्वास्थ्य चौकी बनाउँछौं। प्रहरी चौकी बनाउँछौं। जोगागाउँमा पार्र्क बनाउँछौं। गुरुवागाउँलाई पर्यटकीय क्षेत्र बनाउँछौं। चुनावमा बाचा गरे अनुसार नै काम गर्न खोजिरहेका छौं। कटिबद्ध भएर काम गरे सकिने रहेछ।

विकास निर्माणका काम गर्दा कस्ता चुनौती सामना गर्नुपर्‍यो ?

पर्याप्त कर्मचारी छैनन्। भएका दक्ष छैनन्। शिक्षा र चेतनाको अभावले जनतामा गाउँपालिकाबाट अपेक्षा बढी छ। सडक विस्तार गर्न खोज्दा स्थानीयको सहयोग मिल्दैन। पर्याप्त बजेट नहुँदा सोचे अनुसारको काम गर्न सकिरहेका छैनौं। जनतालाई सेवा दिन कुनै कुञ्जस्याइ गरेका छैनौं। हामी जनप्रतिनिधि कुनै विशेषज्ञ त होइनौँ नि ? सबै कुरा नयाँ छन्।

अहिलेसम्म हामी अन्तरक्रिया, अभिमुखिकरण, गोष्ठी गरेका छौँ। गाउँसभा के हो, यसको सञ्चालन कसरी गर्ने ? बजेट के हो ? यसको विनियोजन कसरी गर्ने ? भन्ने पाठ सिकिरहेका छौं। अझै सिक्न समय लाग्छ। संघीयताको नयाँ अभ्यासमा छौं। केही अप्ठारो भएकै हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.