रुपन्देहीमा ४८ जनामा डेंगुको संक्रमण, अस्पतालमा किटको अभाव
![रुपन्देहीमा ४८ जनामा डेंगुको संक्रमण, अस्पतालमा किटको अभाव](https://annapurnapost.prixacdn.net/media/albums/dengu-hospital_20190905083814_j38mis04h8.jpg)
बुटवल : रुपन्देहीमा ४८ जना डेंगुका बिरामी फेला परेका छन् । दुई वर्षअघि भयाभह रुप लिएको रुपन्देहीमा वर्षा रोकिनासाथ बिरामी फेला परेका हुन् । लुम्बिनी प्रादेशिक अस्पताल, भीम अस्पताल, युनिभर्सल मेडिकल कलेज र क्रिमसन अस्पतालमा उपचारका लागि आएका बिरामीमा डेंगु भेटिएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्रकुमार गिरीका अनुसार बिरामीको संख्या दैनिक बढिरहेको छ । भदौं १८ गतेसम्म ४८ जनामा संक्रमण देखिएको उनले जानकारी दिए।
रुपन्देहीमा छ वर्षदेखि डेंगुका बिरामी भेटिदै आएका छन् । अहिलेसम्म चारजनाको मृत्यु भएको छ । गतवर्ष ३८ जना मात्रै बिरामी भेटिएका थिए । दुई वर्षअघि भने बिरामीको संख्या एक हजारभन्दा बढी थियो ।
जमेको सङ्लो पानीमा डेंगु फैलाउने लामखुट्टेले प्रजनन् प्रक्रिया गर्ने भएकाले वर्षा रोक्रिएसँगै रुपन्देहीमा पोजिटिभ बिरामी भेटिएका हुन् । स्वास्थ्य कार्यालयले रोग फैलाउने लामखुट्टे मार्नका लागि अभियान थालेको छ । त्यसका लागि प्रहरीको सहयोग मागिएको प्रमुख गिरीले बताए ।
बुटवल क्षेत्रका बिरामीमा बढी संक्रमण देखिएको हो । डेंगु भाइरसको कारण हुने संक्रमण हो । केही दिनयता भाइरल ज्वरोका बिरामी बढसँगै डेंगु भएकाका बिरामी पनि देखिन थालेका हुन् । अस्पतालमा बिरामीको अत्याधिक चाप रहेको छ ।
तर डेंगु परीक्षण गर्ने किटको अभाव छ । स्वास्थ्य प्रमुख गिरीले केन्द्रबाट कम मात्रामा किट आएकाले बिरामीको चाप बढे उपचारमा कठिनाई हुने बताए ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भीम अस्पताल र युनिभर्सल मेडिकल कलेज भैरहवा र क्रिमसन अस्पताल मणिग्राममा डेंगु परीक्षण गर्न सकिन्छ । तीन दिनको लगातार ज्वरो, प्लेटलेसको मात्रा १ लाखभन्दा कम र डब्लुबिसीको संख्या ४ हजारभन्दा कम भयो भने किट प्रयोग गरेर डेंगुको निक्र्यौल गरिन्छ ।
चिकित्सकले ज्वरो आइहालेमा कुनै औषधि नखाई अस्पतालमा परीक्षणका लागि आउन आग्रह गरेका छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटबलका मेडिकल सुपरिटेन्डन डा. कृष्ण खनालले अस्पतालमा बिरामीको संख्या दैनिक बढिरहेको बताए ।
स्वास्थ्य प्रमुख गिरीले स्थानीय तहले किट किन्नका लागि पहल गर्नुपर्ने बताए । 'हामीलाई समन्वयको जिम्मेवारी छ, संघीय सरकारबाट किट आउन ढिलाई हुने संकेत देखिएको छ, उनले भने,'स्थानीय तहले छिटो पहल थाल्नुपर्छ ।'
सचेत हुन आग्रह
स्वास्थ्यकर्मीले नागरिकलाई सचेत हुन आग्रह गरेका छन् । सावधानी अपनाए डेंगुको संक्रमण नहुने भन्दै घर वरिपरी सफा राख्न आग्रह गरेका छन् । डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले टोकेपछि हुने एक प्रकारको ज्वरो हो । लामखुट्टेको लार्भा हुर्कने स्थान नष्ट गरे बच्न सकिने डा. गिरीले बताए ।
वर्षाको पानी जम्ने टीनका डब्बा, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमलामा यसले फुल पार्ने भएकाले त्यस्ता वस्तुमा पानी जम्न नदिन उनले आग्रह गरे ।
यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने भएकाले शरीर ढाकिने कपडा लगाउन सुझाव छ । बालबालिका र जेष्ठ नागरिकलाई विशेष ख्याल गर्नुपर्ने उनले सझाए।
डेंगुको संक्रमण भएमा ज्वरो आउने, असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ढाड, जोर्नी तथा मांसापेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुने आदि लक्षणहरू पनि देखा पर्छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)