प्रधानाध्यापक चुनौतीपूर्ण पद हो

प्रधानाध्यापक चुनौतीपूर्ण पद हो

भनिन्छ ‘जस्तो साथी बनायो त्यस्तै भइन्छ।’ प्रधानाध्यापक राजु राईको जीवनमा यो भनाइ यथार्थ साबित भयो। कुरा २०४८ सालको हो। त्यतिबेला उनी अंग्रेजी विषय लिएर स्नातक गरिरहेका थिए। उनको मनमा शिक्षक बन्ने रहर जाग्यो। रहर त्यसै त कहाँ जाग्छ र ! कारण थियो, उनीसँगै पढ्ने सबै साथीहरू शिक्षक हुनु। त्यतिबेला के बन्ने, के गर्ने भन्ने करियर काउन्सेलिङको जमाना थिएन। पढेपछि जस्तो भए पनि जागिर खानुपर्छ भन्ने मानसिकता हाबी थियो। उनले विगत सम्झिँदै भने, ‘म पनि के बन्ने भन्ने अलमलमा थिएँ। सबै साथीहरू शिक्षक भएको देखेर आफू पनि शिक्षक बन्नुपर्‍यो भन्ने रहर जाग्यो। अनि म पनि शिक्षक बनेँ।’

रहरै रहरमा शिक्षक बनेका राईको त्यो रहर कतिबेला कर्ममा बदलियो उनी आफैले पत्तो पाएनन्। २०४८ देखि २०५२ सालसम्म उनले अनामनगरस्थित मिलन विद्या मन्दिरमा पढाए। अध्यापनको त्योे पाँचवर्षे अनुभवले उनको जीवनमा फेरि अर्को रहर जन्माइदियो; आफ्नै स्कुल खोल्ने र प्रधानाध्यापक बन्ने।

शिक्षक राईमा केवल रहर मात्र थिएन। उनी एकदमै मेहनती पनि थिए। अध्यापनसँगै होस्टेल वार्डेनको जिम्मेवारी पनि उनले पाए। त्यहाँबाट शिक्षण र व्यवस्थापनसम्बन्धी आफूले संगालेको अनुभवले उनलाई शिक्षा क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोच पलायो। नभन्दै स्कुलमा सँगै पढाउने केही साथीहरू मिलेर स्कुल खोल्ने निर्णय गरे। त्यही निर्णयस्वरूप २०५२/५३ को शैक्षिक सत्रबाट जन्मियो ‘बेबीलोन नेसनल स्कुल’ र उनी बने त्यहाँका संस्थापक प्रधानाध्यापक।

प्रधानाध्यापकका चुनौती

प्रधानाध्यापक आफैँमा ठूलो र जिम्मेवार पद हो। किनभने प्रधानाध्यापकको निर्णयमा स्कुल, विद्यार्थी र अभिभावकको भविष्य जोडिएको हुन्छ। त्यसैले प्रधानाध्यापक हुन चाहने र भएको व्यक्ति एकदमैै संवेदनशील, अध्ययनशील, लगनशील, मेहनती र क्षमतावान् हुनु आवश्यक छ। नत्र सबैको भविष्य अन्धकार हुने राईको बुझाइ छ।

‘शिक्षक भएर काम गर्नु र प्रधानाध्यापक भएर काम गर्नुमा एकदमै फरक छ ’ आफ्नो अनुभव सुनाउँदै प्रधानाध्यापक राई भन्छन्, ‘यो एकदमै चुनौतीपूर्ण पद हो। यो कार्य (पद) जो कोहीले गर्न सक्दैनन्।’ सबै जना यसका लागि उपयुक्त नहुन सक्छन्। हरेक प्रधानाध्यापकलाई यो कुरामा ध्यान दिन उनले सुझाए।

उनका अनुसार प्रधानाध्यापकका लागि सबैभन्दा ठूलो चुनौती शिक्षक र विद्यार्थीलाई खुसी पार्नु हो। शिक्षकका लागि सुविधा र विद्यार्थीका लागि समयसापेक्ष शिक्षाको व्यवस्थापन गर्नु पनि उत्तिकै महत्वपूर्ण रहेको उनी बताउँछन्। ‘कुनै बेला म आफैं शिक्षक भएर काम गरेको हुनाले शिक्षकका पीडा कस्ता हुन्छन्, उनीहरू के चाहन्छन् भन्ने बुझेको छु।’ यस्ता कुरामा जहिले पनि प्रधानाध्यापकको ध्यान पुग्नु जरूरी छ भन्दै उनी भन्छन् ‘प्रधानाध्यापकले शिक्षकलाई अह्राउन सजिलो छ। तर आखिर पढाउने भनेको शिक्षकले नै हो। त्यसैले सबैको भावना बुझ्नु र महसुस गर्नुपर्ने हुन्छ।’

प्रत्येक मानिस फरकफरक प्रवृत्तिका हुन्छन्। त्यसैले सबैलाई खुसी पार्न सकिँदैन भन्ने उनलाई लाग्छ। व्यक्तिगत रूपमा सबैलाई खुसी पार्न थाल्दा आफू र संस्था पनि असफल हुने सम्भावना उनी देख्छन्। त्यसैले यसलाई बचाउनु अर्को चुनौती रहेको बताउँदै उनी भन्छन्, ‘विद्यालय एउटा संस्था हो र प्रधानाध्यापक एउटा पद। यसका केही आफ्ना नियम हुन्छन् जुन पालना गर्नुपर्ने हुन्छ।’ संस्था स्थापना नभएसम्म संस्थापक ठूलो हुन्छ र संस्था स्थापनापछि संस्था ठूलो हुन्छ भन्ने उनको मान्यता छ। उनी थप्छन्, ‘यी सबै कुरामा गम्भीर भएर काम गर्नु प्रधानाध्यापकका लागि अर्को चुनौती हो।’

बेबीलोन नेसनल स्कुलमा सुरुआती चरणमा कक्षा ३ सम्म मात्र पढाइ हुन्थ्यो। राई र उनको समूहले कुनै हतार नगरी विस्तारै यसलाई सुविधासम्पन्न बनाउँदै लगे। स्कुलमा अहिले कक्षा १० सम्म पढाइ हुन्छ। विस्तारै विद्यार्थीलाई आवश्यक सबै शिक्षण सामग्रीको व्यवस्थापन गर्दै अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने प्रयास गरिरहेको उनी बताउँछन्।

शिक्षक व्यवस्थापन अर्को चुनौती

सरकारले शिक्षा क्षेत्रमा पर्याप्त लगानी गर्न सकिरहेको छैन। लगानी गरे पनि उचित किसिमले हुन सकिरहेको छैन। यसले समग्र शिक्षा क्षेत्रमै प्रभाव पारिरहेको उनको बुझाइ छ। ‘सरकारी विद्यालयको भवनहरू हेर्ने हो भने भौतिक पूर्वाधारले सम्पन्न छन् तर राम्रो व्यवस्थापनको अभावले शिक्षामा गुणस्तरीयता देखिँदैन ’ राई भन्छन्, ‘ त्यसैगरी संस्थागत विद्यालय जथाभावी स्थापना भइरहेका कारण शिक्षामा प्रगतिभन्दा दुर्गति (बन्द/मर्ज हुने) अवस्था छ।’ जुन ठाउँमा जति विद्यालय चाहिन्छ त्यति मात्र स्थापना गर्न दिइनुपर्ने र यसबारे सरकारले नक्सांकन गर्नु आवश्यक रहेको उनको भनाइ छ।

प्रधानाध्यापक राईका अनुसार शिक्षा क्षेत्रमा देखिएको अर्को चुनौती शिक्षक व्यवस्थापन हो। उनी भन्छन्, ‘शिक्षक कुनै न कुनै पार्टीका कार्यकर्ता हुन्छन्। त्यसैले शिक्षाको गुणस्तर सुधारभन्दा पार्टीको सुधारतिर बढी ध्यान दिएको देखिन्छ।’

शिक्षक विशुद्ध शिक्षक भएर काम गर्ने हो भने शिक्षा क्षेत्रमा एकदमै छिटो गुणस्तर बढ्ने उनको अनुभव छ। उनी भन्छन्, ‘ कार्यकर्ता नभई विशुद्ध शिक्षक भएर आएको प्रधानाध्यपक छ भने त्यो विद्यालय सुध्रेको थुप्रै उदाहरणहरू पनि छन्।’

बेग्लै बाल्यकाल

यस्तो फरक सोच र फरक विचार राख्ने प्रधानाध्यापक राईको बाल्यकाल पनि अलि बेग्लै छ। उनी २०२८ सालमा खोटाङको खोट्याह्याङ गाउँपालिका वडा नं.५ मा जन्मेका हुन्। उनका बुवा ब्रिटिस लाहुरे थिए। उनी नौ वर्षको हुँदा हङकङ गएँ। कक्षा ७ सम्म त्यतै पढे। फर्केर नेपाल आएपछि खोटाङबाटै २०४४ सालमा एसएलसी पार गरे। २०४५ सालमा उनी काठमाडौं आएँ र शिक्षा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.