सेनापति सम्‍बोधनको तरंग

सेनापति सम्‍बोधनको तरंग

राजनीतिक तहमा व्याप्त भ्रष्टाचार र अपारदर्शिताका लागि सेनापतिको कदम पनि एउटा नैतिक दबाब हुन सक्छ


प्रधानसेनापति पूर्णचन्द्र थापाले सोमबार दिएको २५ पृष्ठ लामो सम्बोधनले सैनिक वृत्त मात्र होइन, राजनीतिक तहसमेत तरंगित भएको छ। नागरिक तहमा पनि यसबारे बहस सुरु भएको छ। मुलुकभरका कमान्डरहरूसँगको पाँच दिनको बसाइपछि सेनापतिले जंगीअड्डामा भदौ २४ मा लामो सम्बोधन प्रस्तुत गरे, त्यसले सिंगो संगठन र हरेक सिपाही घोत्लिनुपर्ने अवस्था आएको छ।

सेनापतिले यति लामो सम्बोधन यति भावुक बनेर प्रस्तुत गर्नु कति उचित हो ? यसमा बहस हुन सक्छ। सेनापतिको रुपमा एक वर्षे अनुभव र विश्लेषणसहितको सम्बोधन एउटा सामान्य  भाषण वा मन्तव्य मात्र होइन, यसलाई सेनाको आन्तरिक जीवनकै लागि एउटा महत्ववपूर्ण र ऐतिहासिक दस्ताबेजका रूपमा हेरिएको छ। ‘तत्कालको हिरो’बन्‍ने रहरभन्दा पनि ‘इतिहासकै हिस्सा’ बन्‍ने हिम्मत थापाले देखाएका छन्।

सत्य निरूपणमा सघाउने सेनापतिको प्रतिबद्धता प्रशंसनीय छ। यसले द्वन्द्वकालीन मुद्दाको दीर्घकालीन समाधानलाई सहज बनाउन बल पुग्‍ने विश्वास गरिएको छ। थापाको सम्बोधनमा कतै पनि सैनिक उन्माद तथा राजनीतिक महत्वाकांक्षाको गन्ध भटिँदैन। सेनालाई अझ व्यावसायिक र जवाफदेही बनाउने उच्च तृष्णा र दृढताबाट उनको सम्बोधन प्रेरित देखिन्छ।

सेनापतिको सम्बोधन प्रत्यक्ष सुन्‍न नीति र नेतृत्व तहमा रहेका मुलुकभरका जर्नेलहरू जंगीअड्डामा उपस्थित थिए। पच्चीस पृष्ठ लामो सम्बोधन सुनाउनुअघि सेनापतिले मुलुकभरका कमान्डरहरूलाई जंगीअड्डामा बोलाएर फिडब्याक सुनेका थिए। ‘पृतनापति समन्वयात्मक बैठक’भनिने चारदिने जर्नेल सम्मेलनमा मुलुकको पछिल्लो सुरक्षा अवस्था, राजनीतिको घरेलु वस्तुस्थिति र भूराजनीतिक परिवेशबारे सघन छलफल भएको थियो।

निर्मम चिरफार

उनले २५ पृष्ठ लामो वक्तव्यमा आन्तरिक सुधार र शुद्धीकरणका लागि जति मार्मिक र कठोर ढंगले प्रस्तुत भएका छन्, त्यो साहस कुनै पनि सेनापतिले गरेका थिएनन्। उनी सद्दे बनेर आरामले जागिर खानेभन्दा पनि छुच्चो बनेर संगठनको भविष्य र जीवन जोगाउने साहसिक प्रयत्‍नमा जुटेको देखिन्छ।

सम्भवतः उनको यो वक्तव्यको सैनिक वृत्तबाटै आलोचना र विरोध पनि हुन सक्छ। परम्पराको आडमा यथास्थितिमा रमाउने सेनाभित्रको ‘डरलाग्दो सुविधाभोगी प्रवृत्ति’ माथि उनले निकै तिखो प्रहार गरेका छन्। फौजी संगठनको कमान्डरले आफ्नो संगठनभित्रका कमजोरी, विकृति र चुनौतीबारे सार्वजनिक स्वीकारोक्तिसहित यति निर्मम ढंगले चिरफार गरेको यो सम्भवतः पहिलो घटना हो। यसले सेनामा ‘प्याराडाइम सिफ्ट’ गर्न खोजेको देखिन्छ।

सुरक्षा संवदेनशीलताको खोल ओढेर सेना पारदर्शिता र जवाफदेहिताबाट पन्छिँदै र भाग्दै आएको थियो। तर सेनापति थापा नेतृत्व सम्हालेदेखि नै आन्तरिक सुशासन, पारदर्शिता र जवाफदेहिताका पक्षमा निर्मम ढंगले प्रस्तुत हुँदै आएका छन्। फुली लगाएको केही दिनमै उनले सेनालाई अझ व्यावसायिक पारदर्शी र जवाफदेही बनाउने प्रतिबद्धतासहित आन्तरिक सुधार र सुशासनको कार्ययोजना सार्वजनिक गरेका थिए। त्यो अभियानमा उनी अलिकति पनि डग्मगाएका छैनन्, बरू थप कठोर बन्‍ने संकेत दिएका छन्।

राजनीतिक तरंग

सम्पत्ति विवरण सार्वजनिक गरेर पारदर्शिता र जवाफदेहिताको अभ्यास आफैंबाट सुरु गरेका छन्। उनको यो कदमले मातहतका अरू सहकर्मीलाई सम्पत्ति विवरण सार्वजनिक गर्न नैतिक दबाब पुगेको छ। सम्भवतः सेनापतिले सम्पत्ति विवरण सार्वजनिक समारोह गरेर सार्वजनिक गरेको यो पहिलोपटक हो।

सेनापतिबाट खुला रुपमा आएको दृष्टिकोणले राजनीतिक तथा नागरिक तहमा यसको स्वाभाविक तरंग गएको छ। एउटा कुनाबाट सेनापति वा सेना सक्रिय हुन थालेको प्रतिक्रिया पनि आउन थालेको छ।सुशासन तथा सुधारका लागि सेनापतिले जुन खालको तत्परता देखाएका छन्, अठोट गरेका छन्, त्यो राजनीतिक नेतृत्वका लागि पनि एउटा प्रतीकात्मक सन्देश पनि हो। यसलाई सेनापतिको सक्रियताको अर्थ लगाएर दलहरू तर्सिन थाले भने त्यो फेरि अर्को भूल हुनेछ। सेनापतिको साहसबाट तर्सिने होइन, दलहरूले पनि सिक्नुपर्छ। राजनीतिक तहमा व्याप्त भ्रष्टाचार र अपारदर्शिताका लागि सेनापतिको कदम पनि एउटा नैतिक दबाब हुन सक्छ।

सेनाजस्तो संवेदनशील फौजी संगठनमा सुशासन र पारदर्शिताका लागि यसरी कदम चाल्दा स्वाभाविक रूपमा नागरिक संस्थाहरूमा पनि सुधार र सुशासनका लागि सकारात्मक दबाब पर्न सक्छ।

जोखिमपूर्ण बाटो

३६ वर्ष सैन्य सेवा बिताएर सर्वोच्च पद सेनापतिमा आसीन थापालाई नपुग्दो केही छैन। उनीमाथि खासै आरोप र आशंका पनि छैन। शालीन स्वभाव र आकर्षक व्यक्तित्वका थापा सेनाभित्र लोकप्रिय छन् र बाहिर पनि उनको छवि राम्रो छ। उच्च अधिकृतदेखि सिपाहीसम्मको तहमा निरन्तर सम्पर्क र संवादमा बसिरहने थापाले अब्बल सैनिक अधिकृतको छवि बनाएका छन्। व्यक्तिगत रूपमा थापा जति सरल र नम्र छन्, व्यावसायिक रूपमा उनी निकै खरा छन् र आर्थिक अनुशासनमा उनी कठोर छन्।

चार वर्ष चुपचाप जागिर खाएर बिदा हुँदा पनि उनीमाथि औंला ठड्याउने अवस्था छैन। तर बेथिति र यथास्थितिको साक्षी भएर बिदा हुन उनलाई मन लागेन र उनले त्यो सजिलो बाटो हिँड्न चाहेनन्। थापालाई अवगत पनि छ र भनेका पनि छन् कि उनले रोजेको बाटो सहज छैन, जोखिमपूर्ण पनि छ।

जागिर र जीवनको उत्तरार्द्धमा थापाले किन अप्ठ्यारो र चुनौतीपूर्ण बाटो रोजे ? सेनालाई परम्पराको आवरणले छोपिएको ‘रहस्यमयी शक्ति’ होइन, साँच्चिकै व्यावसायिक, सक्षम र जवाफदेही सेना बनाउने सपना थापाले देखेका छन् र त्यही अठोटका साथ उनी कठोर अभियानमा लागेका छन्। सेनापतिको कुर्सीमा राज भएर आरामले जागिर खाने र सेवासुविधाको सेटिङ मिलाएर बिदा हुने परम्परालाई चुनौती दिँदै उनले इतिहास कार्ने कोसिस गरेका छन्।

उनको यो अभियानले फौजी वृत्तमा व्यक्तिगत रूपमा उनको लोकप्रियता तत्कालका लागि घट्न पनि सक्छ, उनले अनेक अपजस र आक्षेप सुन्नुपर्ने अवस्था आउन सक्छ। किनभने, उनको कदमले वर्षौंदखि हासिल गर्दै आएको कयौंको सान र सुविधामा धक्का पनि पर्न सक्छ। राजनीतिक वृत्तबाट पनि उनीप्रतिको नजर कडा हुन सक्छ। तर यी प्रतिबद्धताअनुसार काम र व्यवहार भएमा दीर्घकालीनमा रूपमा थापा परिवर्तित सेनाको हिरो हुनेछन्। उनको कदमले दीर्घकालीन रूपमा नेपाली सेनाको भविष्य र जीवन निकै स्वस्थ र सुदृढ हुनेछ।

अब कुनै पात्रविशेषको सनक र सकसको सिकार सिंगो संगठन हुन नपर्ने गरी पद्धतिको विकासलाई उनले पहिलो प्राथमिकतामा राखेका छन्। संगठनमा केही सीमित पात्रहरू हावी हुँदा पद्धति पंगु हुने खतरा हुन्छ। विगतमा सेनामा यस्तो देखियो पनि। पात्रप्रधान वातावरणलाई निरत्साहित गर्दै थापाले पद्धतिलाई विशेष प्रोत्साहित गरेका छन्।

आर्थिक गडबडीमा कडा नजर र निगरानी राख्‍ने उनले सुरक्षा संवेदनशीलताको खोल ओढाएर पारदर्शिता र जवाफदेहिता छोप्ने प्रथा बन्द गरेका छन्। ठेक्कापट्टा तथा आर्थिक मामिलासँग सेनालाई जोडेर भइरहेका विवादलाई नीतिगत तथा संस्थागत रूपमै हल गरेर निश्चित मापदण्ड र पद्धति निर्माण गरेका छन्। कल्याणकारी कोषलाई थप व्यवस्थित र पारदर्शी बनाउने र शान्ति सेनामा सहभागिता बढाउनेलगायतका थुप्रै काम उनले गरेका छन्।

बोल्नुपर्ने बाध्यता

सेनापतिले नेताले जस्तो भाषण गर्नु हुँदैन। फौजी मान्छेको चरित्र नै बोली कम, एक्सन ज्यादा हो। तर सेनापति थापाले नेतृत्व सम्हालेको एक वर्षपछि दिएको यो सम्बोधनलाई नेताको भाषणसँग दाँजेर हेर्नु गल्ती हुनेछ। कमान्डरले नै यसरी बोल्नुपर्ने आवश्यकता र बाध्यता किन आइपर्‍यो ? पक्कै पनि यसको पछाडि केही पृष्ठभूमि र पीडाभाव छ होला।

सम्बोधनका क्रममा व्यक्त भावना र भनाइ मार्मिक र माननीय छन्। तर, व्यवहारमा त्यसको कार्यान्वयन कसरी हुन्छ, त्यो महत्वपूर्ण हो। त्यो पक्ष चुनौतीपूर्ण पनि छ। व्यक्तिगत रूपमा सेनापति स्वच्छ, पारदर्शी र जवाफदेही हुनु राम्रो हो। तर त्योभन्दा महत्वपूर्ण प्रश्‍न त्यहाँको संगठन र पद्धति कस्तो छ, कस्तो हुन्छ भन्‍ने हो। उनी झन्डै एक लाख फौजको कमान्डर पनि हुन्। सिंगो संगठन र हरेक सिपाहीको व्यवहारमा त्यो स्प्रिट देखिनुपर्‍यो।

अन्त्यमा,

महारथी थापाको यो सम्बोधन निडर कमान्डरको साहस पनि हो, हरेक सिपाहीको सलाम मात्र होइन, नागरिकस्तरबाट पनि उनले स्याबासी पाएका छन्।सेनापतिको भावना, तत्परता र प्रतिबद्धतालाई सिंगो संगठन र हरेक सिपाहीले स्वामित्व लिनुपर्छ, व्यवहारमा रूपान्तरण हुनुपर्छ। सेनापतिको यो साहसिक सम्बोधनको सार्थकता र सफलता त्यसमा झल्किन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.