गलैंचा बेच्दै कालिकोटका विद्यार्थी
![गलैंचा बेच्दै कालिकोटका विद्यार्थी](https://annapurnapost.prixacdn.net/media/albums/kalikote--student_20190914025603_TFBF2BXw1F.jpg)
विराटनगर : हिमाली जिल्ला कालीकोटका विद्यार्थी पढाइ खर्च सँगै दसैं खर्च जुटाउन गलैंचा बेच्न तराई झरेका छन्। विद्यालयमा विदा भएको मौका छोपी गलैंचा बिक्रीका लागि उनीहरू अहिले विराटनगर आएका हुन्।
काठमाडौंबाट गलैंचा मगाएर मोरङ र सुनसरीको बजार र गाउँ गाउँ पुग्ने गरेको कालीकोट तिलागुफा नगरपालिका ४ का जीवन पाण्डेले बताए। वैशाखमै आएका उनीहरू दसैंमा घर फर्किने र त्यसपछि विद्यालयमा अध्ययन गर्ने गरेको पाण्डेले बताए। पाण्डे अहिले कक्षा १० मा अध्ययनरत छन्। ६ महिना गलैंचासहित अन्य समान विराटनगर, इटहरी, झापा र सुनसरीका विभिन्न स्थानमा बेचेर दसैंमा घर जाने उनी बताउँछन्।
आर्थिक विपन्नताका कारण सधै गाउँका विद्यार्थी र युवा यसरी नै आउने गरेकाले आफूसमेत आएको उनले बताए। ‘घरको अवस्था एकदमै कमजोर छ, दसैं खर्च जुटाएर घर जाने हो अनि पढ्ने हो।’ सोही स्थानका चरण पाण्डे कैलालीको सरस्वती उच्च माविको कक्षा १२ मा समाजशास्त्र विषय लिएर अध्ययनरत छन्। उनीसमेत दसैं खर्च र पढाइ खर्च जुटाउन पूर्वतिर आएको बताउँछन्। दसैंमा घर जाँदा ६ महिनामा १५ देखि २० हजार कमाएर फर्किने गरेको उनले सुनाए। जेठको अन्तिममा परीक्षा दिएर गलैंचा बेच्न आएको उनको भनाइ छ।
एसईई पास गरे पनि ओभरसियर पढ्नका लागि रकम जुटाउन गलंैचा बेच्न आएको अर्का विद्यार्थी उमेश पाण्डेले बताए। उनले गाउँघरमा रोजगारी गर्ने कुनै आधार नभएकाले गलैंचा बेच्न बाध्य भएको गुनासो पोखे।
एक वर्ष गलैंचा बिक्री गरेर जम्मा भएको रकमले ओभरसियर पढ्ने उनको भनाइ छ। ‘आफू मात्रै पढेर भएन, भाइलाई पनि पढाउन खर्च जुटाउन लागेको हुँ’, उनले भने। उक्त विद्यालयका १० भन्दा बढी विद्यार्थी पढाइ खर्च जुटाउन विराटनगर आइपुगेका छन्।
कालिकोटबाट एक सय तीन जना विद्यार्थी गलैंचा बेच्न पूर्वतिर आएको उनीहरूको भनाइ छ। दसैंतिहारमा बिदा भएको र जाडोसमेत छल्न विराटनगर आएको अर्का विद्यार्थी राजेन्द्र शाही बताउँछन्। समूह बनाएर गलैंचा काठमाडौंबाट ल्याउने गरेको र सबै गलैंचा बिक्री हुँदा दुई महिनामा प्रतिव्यक्ति २० हजार रुपैयाँसम्म फाइदा हुने उनीहरू बताउँछन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)