उपभोक्ता सचेत बनौं

उपभोक्ता सचेत बनौं

चाडपर्व नजिकिँदै गर्दा उपभोक्ता ठगिने क्रम बढ्न थाल्छ। अरू समयमा भन्दा चाडपर्वको बेलामा बढी वस्तुको उपभोग गरिन्छ। आफ्नो आयस्रोतले नधाने ऋण खोजेर भए पनि चाडपर्व मनाउने हाम्रो संस्कृति छ। अरू बेलामा एकाध महिनामा एक किलो मासु खाने विकट गाउँघरमा समेत दसैं–तिहारका बेलामा एक परिवारले सिंगै खसी, बोका, राँगा आदि खाने प्रचलन छ। दसैं–तिहारलाई लक्षित गरी खोलिने सस्ता पसलको नाममा झन् गुणस्तरहीन सामान बेच्ने गर्छन्। किलोमा जम्मा एक÷दुई रुपैयाँ सस्तो दिएर गुणस्तरहीन र लामो समय स्टकमा रहेका सामान बेच्न खप्पिस हुन्छन् व्यापारी। उपभोक्ता चनाखो नहुने हो भने चाडपर्वको समयमा झन् पैसाको नोक्सानी मात्र नभई बल्लबल्ल जोगाएर राखेको स्वास्थ्यसमेत बर्बाद हुन्छ।

दसैंको समयमा सरकारले बजारको नियमन नाममात्रैको गर्ने परिपाटी एकातिर छ भने अर्कोतिर उपभोक्ता हचुवाका भरमा सामान खरिद गर्दा गुणस्तरहीन सामानलाई चर्को मूल्य तिर्न बाध्य हुन्छन्। नेपालको संविधानमा मौलिक हकका रूपमा उपभोक्ताको हक उल्लेख छ। प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ। गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भन्ने उल्लेख छ। उपभोक्तालाई एक त मौलिक हकमा के उल्लेख छ भन्ने नै थाहा छैन एकातिर भने अर्कोतिर क्षतिपूर्ति पाउने कानुनी बाटा पनि जटिल छन्। यसले मौलिक हकमा उल्लेख भएका व्यवस्था पनि देखाउने र भन्ने हकमा मात्र सीमित भएको छ।

बजारमा सामान किन्दा शिक्षित मानिस नै दिनहुँ ठगिइरहेका हुन्छन् भने सामान्य उपभोक्ता कति ठगिएका होलान् ? उपभोग गर्ने मिति सकिएका तमाम खाद्यपदार्थ ठूलाठूला डिपार्टमेन्ट स्टोर्सहरूले नै खुलेआम बेचिरहेका छन्। उपभोक्तालाई जतिबेला पनि हतार–हतार हुन्छ। आफूले खाने सामान किन्दा एक मिनेट ध्यान दिँदैनौं। यसले अखाद्य वस्तुको उपभोग गरेर हामीले आफ्नै सम्पत्ति र स्वास्थ्य बिगारिरहेका छौं।

यसैगरी धेरै व्यापारीले जानी–जानी उपभोग्य मिति सकिएको सामान बेचिरहन्छन्। केही व्यापारीले पसलका सामान प्याकिङ गर्दा चाहिलेभन्दा केही कम तौल राखेर प्याकिङ गरेका हुन्छन्। केही फुटकर तरकारी र फलपूmल बेच्ने व्यापारीले पुरानो ढक–तराजुले तौलिँदा आफ्नो हातको औंलाको सहायताले कम तौललाई बढी देखाएर ठगिरहेका हुन्छन्।

व्यापारीले जस्तो सामान दिए पनि र जति मूल्य लिए पनि हामी सोझो भएर बसिरहेसम्म ठगिने र लुटिने क्रम रहिरहने छ।

रत्नपार्क, न्युरोडलगायत अन्य सडक किनारमा बसेर फलपूmल बेच्ने व्यापारीले त झन् उनीहरूले लिने गरेको सानो स्प्रिङ भएको किरिङले तौल लिँदा त झन् चालीसदेखि पचास प्रतिशतसम्म तौलमा ठग्ने गर्छन्। हामीलाई सुन्दा अन्य ठाउँको भन्दा निकै सस्तो पैसा भन्छन्, तर तौलमा आधा नै ठगेपछि कसरी सस्तो मान्ने ?

म आफैंले कतिपटक एकएक पाउको काजु, किसमिस, बदाम, ल्वाङ, सुकमेल, मरिचलगायत काप्याकेटका सामान लिएर पछि डिजिटल तराजुमा जोख्दा हरेक प्याकेटमा एक सय पचास ग्रामदेखि एक सय असी ग्राम सम्म मात्र थियो। कुनै प्याकेटमा पनि दुई सय ग्राम थिएन। सामान्य त एक पाउ भनेको दुई सय पचास ग्राम हो। तर, काठमाडौंको चलनचल्तीअनुसार एक पाउमा दुई सय ग्राम हुनुपर्छ। हामीले नै एक पाउको मूल्य तिरेर कम ग्रामको सामान किन्छौं भने अरूले हामीलाई क्षतिपूर्ति दिनेवाला छैनन्। हरेक उपभोक्ता सामान खरिद गर्दा निकै चनाखो नहुने हो भने अरूले जेसुकै गरे पनि उपभोक्ता ठगिने क्रम रोकिँदैन।

हरेक वर्ष सरकारले चाडपर्वसँगै कर्मचारीलाई बजार अनुगमनमा पठाएकै छ। ठाउँठाउँमा चाडपर्वलक्ष्यित सस्ता पसल पनि खुलेका छन् तर पनि उपभोक्ता ठगिने क्रम घट्न सकेको छैन। खाद्य पदार्थमा मिसावट उस्तै छ। विषादीले सीमा नाघेकै छ। जनावरले खाँदा जनावर मर्ने सामान हामी उपभोक्तालाई व्यापारीले निर्धक्कसँग बेचिरहेकै छन्। महँगा ब्रान्डका लोगो राखेर निकै कमसल लत्ताकपडालाई चर्को मूल्य लिएका छन्। उपभोग्य मितिको ट्याग झिकेर आफैंले अर्को मितिको ट्याग राखेका छन्। हामी उपभोक्ताभन्दा यहाँका व्यापारी त कति बाठा छन् कति ? अनुगमनमा आएका कर्मचारीलाई समेत व्यापारीले सजिलै ठगिदिन्छन् भने हामी सोझा उपभोक्ता कसरी चनाखो बन्ने ? यसबारे सोच्न जरुरी छ।

हामीसँग के छैन र ? उपभोक्ता ऐन छ। मौलिक हककै रूपमा स्वास्थ्यसम्बन्धी हक, खाद्यसम्बन्धी हक, उपभोक्ताको हक छ। उपभोक्ताकै हितमा काम गर्ने थुप्रै एनजीओ र आईएनजीओहरू छन्। थुप्रै ऐन, कानुन र नियमावली छन्। नागरिक समाज छ। जे–जे भए पनि हामी ठगिने क्रम भने जस्ताको तस्तै छ। सूचना र प्रविधिमा आएको प्रगतिसँगै झन् आधुनिक तरिकाले उपभोक्ता ठगिएका छन्। नाम मात्रको लोकतान्त्रिक सरकार, नाफा मात्र खान खोज्ने प्राइभेट सेक्टर दुवैको मारमा भने हामी आम नागरिक परेका छौं।

व्यापारीले यसरी ठगे भन्ने हामीले प्रशस्तै सुनेका छौं। फलानो होटलमा भोज खाएका यतिजना बिरामी परे भनेर मिडियाले प्रचार गर्छ, तर फलानो होटललाई यस्तो कारबाही गरियो भन्ने अहिलेसम्म सुनेका छैनौं। कारबाही नै गर्दैन के सुन्नु ?

अबको समय भनेको उपभोक्ताहरू नै होसियारी र सजग हुनुपर्ने बेला हो। सुरुमा आफ्नो आम्दानीअनुसारको खर्च गर्ने बानी विकास गरौं। देखासिकी नगरी आफ्नो घाँटी हेरेर हाड निल्न कोसिस गरौं। सामान किन्नभन्दा पहिला अत्यावश्यक सामानको सूची तयार पारौं। आफ्नो मेहनतको कमाइ खर्च गर्नलाई हतार होइन, थुप्रै समय निकालौं। आफूलाई अनुकूल हुने ठाउँमा गएर सामान किनौं। सामान किन्दा आफूलाई चाहिएअनुसारको ब्रान्ड, तयारी मिति, उपभोग गर्न सकिने मिति, मूल्य, तौल, ट्रेडमार्क आदि अनिवार्य हेरेर सामान खरिद गरौं।

व्यापारीले ठगेको थाहा पाउनासाथ आफूले पनि कडा विरोध गरौं। अरूलाई पनि सचेत बनाई क्षतिपूर्ति लिने गरौं। दुईचार रुपैयाँको लोभले गुणस्तरहीन सामान खरिद नगरौं। स्वास्थ्यभन्दा ठूलो धन होइन। जब हरेक उपभोक्ता सामान खरिद गर्नुभन्दा पहिला सचेत हुन्छन् तब हरेक ठग व्यापारीहरू क्रमशः होसियार हुन थाल्छन्। व्यापारीले जस्तो सामान दिए पनि र जति मूल्य लिए पनि हामी सोझो भएर बसिरहेसम्म ठगिने र लुटिने क्रम रहिरहने छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.