धनुषा र महोत्तरीमा इन्फ्लुएन्जाको प्रकोप
वर्षासँगै गर्मी बढेपछि इन्फ्लुएन्जाको प्रकोपबाट धनुषा, महोत्तरी, सिरहा लगायतका जिल्ला बढी मात्रामा प्रभावित छ।
जनकपुरधाम : अञ्चल अस्पतालमा मौसमी भाइरल ज्वरो (इन्फ्लुएन्जा) बिरामीको भीड लागेको छ। देशभर डेंगुको प्रकोप बढेको समयमा पछिल्लो केही समय यता प्रदेश २ का विभिन्न जिल्लामा भने भाइरल ज्वरो इन्फ्लुएन्जाको प्रकोप देखिएको हो।
वर्षासँगै गर्मी बढेपछि इन्फ्लुएन्जाको प्रकोपबाट धनुषा, महोत्तरी, सिरहा लगायतका जिल्ला बढी मात्रामा प्रभावित भएको जनकपुर अञ्चल अस्पतालले जनाएको छ। शारीरिक रूपमा कमजोर भएका वृद्धवृद्धा तथा बालबालिकामा भाइरल ज्वरो, टाइफाइड, टाउको दुख्नेजस्ता समस्याबाट ग्रसित दैनिक चार सय बिरामी अस्पताल उपचारका लागि आउने गरेको निमित्त मेसु जामुन सिंहले बताए।
वर्षाको बेला तापक्रम कम हुने र वर्षापछि तापक्रम अत्यधिक वृद्धि हुने भएकाले इन्फ्लुएन्जाबाट सबैभन्दा बढी महिला र बालबालिका प्रभावित भएर अस्पताल उपचारका लागि आउने गरेको डा. सिंहले बताए। उनले भने, ‘गत असारको पहिलो सातादेखि फैलिएको इन्फ्लुएन्जाको प्रकोप अहिले बढेको छ, वर्षापछि दूषित पानी र गर्मीले बिरामी ह्वात्तै बढेका छन्।’
मौसम परिवर्तनले सबैभन्दा बढी विद्यार्थी प्रभावित भएका छन्। दैनिक सयौंको संख्यामा बिरामी पुग्दा अस्पतालको अवस्थासमेत अस्तव्यस्त बनेको छ। बुधबारदेखि नै छोरोलाई ज्वरो आइरहेको र अस्पतालमा बिरामी जाँच गराउन पुर्जा काटेर चिकित्सकसँग जचाउनसमेत कठिन भएको जनकपुरधाम उपमहानगरपालिका १६ का विश्वास यादवले बताए। उनले भने, ‘अस्पतालमा बिरामी राख्ने बेड छैन, भूइँमै बसेर भए पनि घण्टौं चिकित्सक कुरेर बसेको छु, कति दिन यसरी भूइँमै राखेर उपचार गराउने हो कुन्नी ? ’ डा. सिंहले भने, ‘बिरामी बढ्दैछन्, हामीसँग न त पर्याप्त जनशक्ति छ न त पर्याप्त ठाउँ नै।’
प्रतिक्रिया दिनुहोस !