‘रामेछाप कप फुटसल’ प्रतियोगिताको उपाधि अनेरास्ववियूलाई
काठमाडौं : प्रथम रामेछाप कप फुटसल प्रतियोगिताको उपाधि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन रामेछापले जितेको छ। आइतबार भएको फाइनल खेलमा लिखु भुजी युवा क्लब रामेछापलाई टाई ब्रेकरमा २-० ले हराउँदै अनेरास्ववियूले उपाधि हात पारेको हो।
निर्धारित समयसम्म गोलरहित टुङ्गिएपछि टाई ब्रेकरमार्फत विजेताको टुङ्गो लगाइएको आयोजक रामेछाप–काठमाडौं पत्रकार समाजका महासचिव दीपेन्द्र गुरुङले जानकारी दिए।
त्यसैगरी महाकाली युवा क्लबलाई २-० गोलले हराउँदै डाइनामिक युवा क्लब तेस्रो भएको छ। जितसँगै अनेरास्ववियूले ट्रफीसहित २५ हजार र लिखु भूजीले १५ हजार र डाइनामिकले १० हजार पुरस्कार पाएका छन्।
काठमाडौंस्थित शान्तिनगर फुटसल मैदानमा लिगकम नटआउटका आधारमा शनिबार र आइतबार भएको खेलमा आयोजकसहित रामेछापका विभिन्न व्यक्तिगत, क्लब र राजनीतिक संगठन गरी २७ टीम सहभागी थिए।
विजेता टोली र खेलाडीहरूलाई रामेछाप जिल्लाका प्रतिनिधी सभा सदस्य एवम् सांसद श्यामकुमार श्रेष्ठ, जिल्ला विकास खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष पुरुषोत्तम कडेरिया, भलिबलका राष्ट्रिय रेफ्री सिताराम कार्की, नमूनादीप युवा क्लबका अध्यक्ष राजन बस्नेत, व्यवसायी राकेश श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए।
समापन समारोहमा विजेता टोलीलाई शुभकामना दिदै सांसद श्रेष्ठले समाचारमार्फत सबैलाई सूसुचित गर्ने पत्रकारहरूले फुटसल प्रतियोगितामार्फत जिल्लाबासीलाई जोड्न महत्वपूर्ण काम गरेको बताए।
समाजका अध्यक्ष प्रेम गौतमले रामेछापबासीबीच सद्भाव, एकता एवम् मनोरञ्जन गराउने उद्देश्यले आयोजना गरिएको खेलमा सहभागी सबै टीमलाई धन्यवाद दिए । उनले पत्रकारिता क्षेत्रसँगै जिल्लाको विकासमा संस्था लागि पर्ने बताए। रामेछाप–काठमाडौं पत्रकार समाज रामेछापबाट काठमाडौं आएर पत्रकारिता कर्ममा सक्रिय पत्रकारहरुको साझा संस्था हो।