‘असन्तुलित’ कूटनीति

‘असन्तुलित’ कूटनीति

काठमाडौं : छिमेकी चीनले विश्वभर आफ्नो प्रभाव बढाउँदै छ। यही बेला चिनियाँ कम्युनिस्ट पार्टीसँग नेकपाले लिएको प्रशिक्षणलाई कूटनीतिज्ञले ‘अर्थपूर्ण’ र ‘असंलग्नताको अन्त्य’ भनेका छन्।

उदाउँदा दुई आर्थिक शक्तिबीच नेपाल रहेकाले कूटनीतिक संवेदनशीलतामा ख्याल गर्नै पर्छ। चीनले आफ्नो शासन प्रणालीलाई अनुशासित र सबल प्रणालीका रूपमा चित्रण गर्दै आएको छ। उसले छिमेकमार्फत यसलाई प्रचार गर्ने नीति लिएको छ। छिमेक नीति स्पष्ट पारेर चीन आफ्नो प्रभावमा दत्तचित्त भएको विज्ञको टिप्पणी छ। यस्तो सहकार्यले सत्तारुढ दललाई फाइदा भए पनि मुलुक हार्ने धारणा उनीहरू राख्छन्।

सत्तारुढ दल एकातिर ढल्किँदा नेपालको विदेश नीतिमा असामञ्जस्य आउने उनीहरूको तर्क छ। नेकपाभित्र चीनसँग नजिक हुने प्रतिस्पर्धा चलेको छ। राजनीतिकशास्त्रका प्राध्यापक श्रीधर खत्रीले यसलाई ‘बेमौसमी बाजा’को संज्ञा दिएका छन्। ‘यस प्रकारको प्रशिक्षण चाकडीको हद र अनावश्यक हो। हामी बहुदलीय लोकतान्त्रिक व्यवस्थामा छौं’, उनले मंगलबार अन्नपूर्णसँग भने, ‘सीको विचार एक मुलुक एक दल (एकदलीय व्यवस्था)मा केन्द्रित छ। विचारै मिल्दैन। अन्य अनुभव सुन्न मिल्ला तर अवधारणाको प्रशिक्षण फरक हो।’

सरकारसँग दुईतिहाइ समर्थन रहे पनि सिद्धान्ततः संविधानअनुरूप अघि बढ्नुपर्ने सुझाव उनले दिए। ‘नेकपा बहुदलीय व्यवस्थामा प्रतिबद्ध छ। उसको घोषणापत्रमा पनि त्यही छ’, उनले भने, ‘तर, ‘अहिले प्रशिक्षण एकदलीय संरचनाको हुँदा सिद्धान्त मेल खाँदैन।’ नेपालले बदलिँदो कूटनीतिक परिवेश र राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर सावधानीपूर्वक कदम चाल्नुपर्ने उनले बताए। ‘भारत र चीनका राष्ट्र एवं सरकार प्रमुखको भ्रमण हुनु राम्रो नीति हो’, उनले भने। नेकपामा सी विचारप्रतिको आकर्षण बढ्दो देखिँदा त्यसतर्फ ढल्किएको हुन सक्ने आकलन उनको छ।

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव एवं राष्ट्रपति सी चिनफिङको व्यक्तित्वभन्दा पनि पथको प्रशंसा नेकपा अध्यक्षद्वयबाट हुनुलाई विज्ञले व्यंग्य गरेका छन्। पूर्वएमालेहरू जनताको बुदलीय जनवाद र पूर्वमाओवादीले जनवादी विचारधारा अँगीकार गरिरहँदा सीको विचार मिलनबिन्दुको रूपमा अघि बढेको हुन सक्ने विज्ञको आशंका छ।

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओसहित ४० बढी नेता उपस्थित भई नेकपाका दुई सयभन्दा बढी नेतालाई प्रशिक्षण दिएका छन्। सोमबार र मंगलबार चलेको प्रशिक्षणसँगै दुई दलबीच सहकार्यको सम्झौतासमेत भएको छ। सोङले अनुभव आदानप्रदानमा नेकपालाई सहयोग गर्ने बताएका छन्। ‘शान्तिपूर्ण सौहार्द र समावेशी कूटनीतिक सिद्धान्त अपनाएर चीन अगाडि बढेको छ’, उनले भने, ‘नेपालको विकासमा चीनको साथ रहनेछ।’

सीको विचारधारामा चिनियाँ विशेषतासहितको माक्र्सवाद, साम्यवाद र समाजवादको मूल मान्यता पालना हुनेछ। ‘छिमेकसँगको सम्बन्धमा हामीले मौद्रिक प्रवाह बढाउनु जरुरी छ’, सीले भनेका छन्, ‘मुलुकको रणनीतिमै प्र श्रय राखेर अगाडि बढ्ने, छिमेकीसँग अझ बढी राजनीतिक सम्बन्ध, नजिकको आर्थिक सम्बन्ध, सुरक्षा सहयोगका लागि चीन अग्रसर छ।’

यो धारणा उनको भाषण संग्रहित पुस्तकमा उल्लेख छ। छिमेकसँगको कूटनीतिक कार्य कठिन र चुनोतीपूर्ण रहेको भन्दै दलगत सम्बन्ध बढाएर चीन अगाडि बढ्न लागेको हो। उनको पुस्तकमा छिमेकले चीनको कार्य प्रयोजनमा ध्यान राख्न आवश्यक रहेको भनिरहेको अवस्थामा यो प्रकारको प्रशिक्षणमा नेकपा तयार हुनुले सरकार र दलप्रतिको आशंका बढेको छ।

चिनियाँ कम्युनिस्ट पार्टी चार प्रधान सिद्धान्तले समाजवादी पथमा जनताको प्रजातान्त्रिक अधिनायकवाद, चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व, माक्र्सवाद, लेनिनवाद र माओ विचारधारा सिद्धान्तमा चिनियाँ कम्युनिस्ट संलग्न रहने धारणा सी चिनिफिङको चीनको शासन र व्यवस्था पुस्तकको ३३औं पृष्ठमा उल्लेख छ। यससँगै उल्लेख छ, ‘अकर्मण्यता, विलासीपन, जनताबाट टाढिने भ्रष्टाचार र अन्य नकारात्मक विषयमा सचेत रहने।’

कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला यसबाट दललाई फाइदा भए पनि मुलुकलाई नहुने तर्क गर्छन्। ‘उनीहरू एक पार्टी प्रणालीमा छन्। यहाँ संसदीय अभ्यासमा बनेको सरकार छ। उनीहरूको र यहाँको प्रणाली नै फरक हो’, उनले भने, ‘उनीहरूको बीचका कम्युनिजम मिल्ला अन्य तथ्य मिल्दैन। यसप्रकारको होहल्लाले दललाई फाइदा होला मुलुकलाई हुँदैन।’

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार रहिसकेका मिलन तुलाधरले भारत र चीनबाट नेपालले फाइदा लिन सक्नुपर्ने बताए। प्रशिक्षणमा उनीहरूको विकास मोडल सिक्ने र आफ्नो धारणा नदिएको उनले बताए। ‘अन्य पार्टीसँग काम गरिरहेको हुनुपर्छ। सत्तारुढ भएका कारण बढी आकर्षण भएको हुन सक्छ। त्यसमा फाइदा लिन सक्नुपर्छ’, उनले भने, ‘मोदी आउँदा मोदीसँगै ढल्केको आरोप थियो। अब अहिले यता ढल्केको भन्लान्।’ आरोप लाग्नु स्वाभाविक भए पनि नेपालले के फाइदा लिने महत्त्वपूर्ण रहेको उनको धारणा छ।

नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले चिनियाँले शासन प्रणालीमा कुनै ठूलो मतभिन्नता नराख्ने बताए। ‘यो प्रशिक्षण दलको विचारका कारण अगाडि बढेको हो। राष्ट्रपति भ्रमणको अन्तिम निर्णय गर्ने तहका लागि छलफल पनि सँगै अघि बढेको छ’, उनले भने, ‘राजनीतिक विचारमा ढल्किनेभन्दा पनि नेपालको विकास योजनामा चिनियाँ सहयोग र सहकार्य कसरी बढाउने भन्नेमै बढी केन्द्रित छ।’

नेकपा प्रवक्ता एवं पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले प्रशिक्षणलाई यो ढंगले प्रचार गरिनु आवश्यक नभएको बताए। ‘दुई दलबीच हुने छलफल र सहकार्य, विचार आदानप्रदानलाई हामीले खुला रूपमा बाहिर ल्याएका छौं’, उनले भने, ‘यो समृद्ध नेपालका लागि कसरी विकास आधार तयार गर्ने भन्ने विषयमा सहयोग हो।’ चिनियाँ पार्टीले आफ्नो मुलुकमा विकास गर्‍यो त्यो जानकारी छिमेकमा दिन खाजेको र अनुशासन कायम कसरी गराउने भन्नेमा प्रशिक्षण रहेकाले अपत्तिजनक नरहेको उनले बताए।

दलगत सम्बन्ध हुनु राम्रो हो तर त्यसलाई मुलुकसँगको सम्बन्ध र विचारधारामा जानु मुलुकका लागि प्रत्युत्पादक हुन सक्ने पूर्वराजदूत डा.दिनेश भट्टराईको तर्क छ। ‘फरक विचारबाट पनि सम्बन्ध स्थापित थियो तर एकातर्फका लागि मात्र हुनुले हाम्रो भू–अवस्थितिलाई असहज हुन सक्छ’, उनले भने।

राष्ट्रपति सीको आसन्‍न नेपाल भ्रमणको तयारीको योजना बनिरहँदा सरकारमा रहेका दललाई प्रशिक्षण दिइएको हो। २३ वर्षपछि चीनका राष्ट्राध्यक्षले नेपाल भ्रमण गर्न लागेका छन्। यो भ्रमणलाई एउटा ऐतिहासिक अवसरको रूपमा सरकारले ठूलो महत्त्व दिँदै छलफल र विचार गोष्ठीसमेत गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.