जहाज १४, उड्छन् ६

जहाज १४, उड्छन् ६

काठमाडौं : विमानस्थलभरि नेपाली ध्वजावाहक जहाज देखेपछि एकपटक प्रधानमन्त्रीले सहयात्री साथीलाई सोधेछन्, ‘नेपाल वायुसेवा निगमसँग निकै धेरै जहाज पो रहेछन्।’

ती साथीले भनेछन्, ‘ठीक भन्नुभयो प्रधानमन्त्रीज्यू, जहाज थुप्रै छन्। उड्दैनन् र यहाँ धेरै देखिएका छन्। मैदानभरि छन्। वाइडबडी पनि छन्। तर, जमिनमा छन्। आकाशमा छैनन्।’

प्रधानमन्त्री केपी शर्मा ओलीले निगम दिवसमा यो प्रसंग सुनाउँदा त्यही संस्थाका कर्मचारीले परर्र ताली बजाए। जुलाई १ मा त्यसो भनेको तीन महिना बित्न लाग्यो, थन्किएका जहाज उडेनन्। बरु उडिरहेका थप थन्किए। सुन्दै अचम्म ! निगमसँग १४ जहाज छन्, उड्छन् ६ वटा। बाँकी सबै प्रधानमन्त्रीले भनेजस्तै ‘जमिनमा छन्।’

प्रायः ग्राउन्डेड

बेलामा मर्मत नगरी ठूलो समस्या निम्त्याएर थन्क्याउनु निगमको पुरानो रोग हो। अन्तर्राष्ट्रिय उडानको वाइडबडी एक सातादेखि ग्राउन्डेड छ। बन्न केही दिन लाग्न सक्छ। बोइङ ७५७ एक वर्षदेखि ‘कुवाएर’ राखिएको छ। बिक्री गर्न चाहे पनि बिकेको छैन। दुईमध्ये अर्को बोइङ भने बीबी एयरवेजलाई बिक्री गरिसकेको छ।

आन्तरिकतर्फ नौ जहाज छन्, तीनवटा मात्रै उडानमा छन्। निगमले सबैभन्दा साख बिगारेको क्षेत्र आन्तरिक हो। तिनमा ट्विनअटर तीन, चिनियाँ वाई १२ ई चार र एमए ६० दुइटा छन्। तीमध्ये ट्विनअटर, वाई १२ र एमए ६० का एक÷एकवटाले मात्रै नियमित उडान गरिरहेको जानकारी प्रवक्ता गणेशबहादुर चन्दले दिए।

निगमले चीनबाट अनुदानमा ल्याएको एक र खरिद गरेको अर्को एक एमए ६० जहाजमध्ये एउटा मात्रै उड्ने गरेको छ। सुरुको एक साता दुइटै जहाज मुस्किलले उडेका थिए। त्यसयता कहिल्यै एकसाथ उडेका छैनन्। बिग्रिरहने र एउटाको पाटपुर्जा झिकेर अर्कामा राख्नुपर्ने निगमले जनाएको छ। चिनियाँ कम्पनीले मागेको समयमा पाटपुर्जा उपलब्ध गराउँदैन। एउटा सामान मागेको खण्डमा आउन महिनौं लाग्ने गर्छ। त्यही भएर एउटाका सामान जोगाएर अर्को चलाउने गरिन्छ। ‘दुनियाँमा यस्तो कहाँ होला ? ’, निगमकै वरिष्ठ एक इन्जिनियर आश्चर्य व्यक्त गर्छन्।

त्यस्तै, निगमलाई अनुदानमा आएको एक र खरिद गरेका तीनवटा वाई १२ मध्ये दुइटा मात्रै उडाएर दुइटा थन्क्याउने गरिएको थियो। अर्को एउटा पनि ग्राउन्डेड भएको छ। सञ्चालनमा छ– एउटा मात्र। ती जहाजमा पाँच वर्षका लागि राखिएका अक्सिजन सिलिन्डरको समय सकिएको छ, फेरि राख्नुपर्ने भएको छ। तीनवटै जहाजमा एकैपटक यो समस्या देखिएकाले उडाउन नसकिएको निगमले जनाएको छ।

निगमका तीनवटा ट्विनअटरमध्ये एउटा करिब पाँच वर्षदेखि थन्किएको छ। बाँकी दुईमध्ये एउटा मात्रै उडानमा छ। एउटा भने मर्मतमा रहेको निगमको दाबी छ। भएका जहाजमा पनि नियमित उडान नहुने भएकाले सेक्टर तथा तालिका कटौती गरिएका छन्।

कमजोर व्यवस्थापन

साधनस्रोत प्रशस्त भए पनि सधैं घाटामा जान्छ, निगम। जुनसुकै व्यवस्थापन आए पनि कहिल्यै सुध्रिँदैन यो। निगम दिवसमा प्रधानमन्त्री ओलीले सोधेका थिए, ‘नेपाल वायुसेवा निगममा वायुसेवा निगमबाहेक घाटामा को छ अरू ? यसमा सम्बद्ध थुप्रै छौं नि हामी, चढ्ने हौंला, चढाउने हौंला, उडाउने हौंला, कुदाउने हौंला, व्यवस्थापन गर्ने हौंला। घाटामा कोही छैन। बोक्ने वायुसेवा निगम एक्लै घाटामा छ। किन भो अर्बौं घाटा ? के बिगा¥यो त्यसले ? के नोक्सान ग¥यो त्यो जहाजले ? जहाजले गरेको होइन, हामीले गरिरहेका छौं।’

उनको संकेत निगम व्यवस्थापनप्रति थियो। अघिल्ला प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले झन्डै २५ अर्ब ऋणमा दुइटा वाइडबडी ल्याए। त्यसको खरिदमा नक्कली कम्पनी बनाइए। ल्याइएका विमान पनि चल्न सकेनन्। त्यसलाई तीव्रता दिन मदन खरेललाई सरकारले अध्यक्ष बनायो। उनले झन् खस्काउँदै लगेको प्रधानमन्त्रीको आक्रोशले बताउँथ्यो।

प्रधानमन्त्रीको प्रश्न थियो, ‘जहाज किनेर के लडाउन ल्याएको ? ठाउँ ओगट्न ? ओभरहोल गर्नुपर्ने भए गरिहाल्नुहोस्। पाटपुर्जा फेर्नु छ, फेरिहाल्नुहोस्। मर्मतसम्भारमा कुनै सम्झौता गर्नुहुँदैन, समयमै गरिहाल्नुहोस्। चुस्तदुरुस्त राख्नुहोस्। गन्तव्य नयाँ खोज्नुहोस्, तत्काल।’

खरेलले आउनासाथ श्वेतपत्र जारी गर्दै २० अर्ब रुपैयाँ सरकारले दिनुपर्ने माग राखेका थिए। प्रधानमन्त्रीले त्यसलाई स्वीकार गरेनन्। बरु वार्षिकोत्सवमा उनको भनाइ थियो, ‘यथास्थितिमा २० अर्ब दिन मिल्दैन। व्यवस्थापन र सञ्चालनको सुव्यवस्थाबिना पैसा मात्र दिएर केही हुँदैन, त्यो मलाई थाहा छ।’

निगमका अधिकारी भन्छन्, ‘मौकामा किन्ने र कमिसन खाने खेल मात्र चल्छ यहाँ। संस्था चलाउन र बचाउन कुनै व्यवस्थापकको ध्यान छैन।’निगम भन्छ– गाह्रो छप्रवक्ता चन्दका अनुसार चिनियाँ पक्षको बेवास्ताले उताबाट ल्याएका जहाज उडाउन नसकिएका हुन्। निगमसँग ६ वटा चिनियाँ जहाज छन्। ‘अत्यावश्यक जनशक्ति र पार्टपुर्जा समयमा उपलब्ध नगराएका कारण चिनियाँ जहाज ग्राउन्डेड भएका हुन्’, उनले भने, ‘ती जहाजको सञ्चालन खर्च पनि बढी छ। भारवहन क्षमताका सिटभन्दा कम यात्रु राखेर उडाउनुपर्ने हुन्छ। जसले नाफाभन्दा बढी घाटा नै हुन्छ। त्यसमाथि जहाज बिग्रिरहन्छन्। मर्मतकै निम्ति उडान समयभन्दा बढी ग्राउन्डेड हुने गरेका हुन्।’

उनका अनुसार ट्विनअटर दुइटा नियमित उडानमै छन्। एउटा सामान्य मर्मतमा रहेको मात्रै हो। तेस्रो भने पूर्ण खराब भएर ६ वर्षदेखि विमानस्थलमै थन्किरहेको छ। अमेरिकी कम्पनीको बोइङ भने निगमले करिब ३० वर्ष उडाएको छ। दुईमध्ये एउटा बीबी एयरवेजलाई बेचिसकेको छ। ‘अर्को बेच्न निगमले मागेको प्रस्तावमा कुनै कम्पनीको आवेदन परेन’, उनले भने, ‘अब बिक्री मोडालिटी अर्कै तय गर्नुपर्ने भएको छ।

तेल बढी खाएपछि वाइडबडी ‘ग्राउन्डेड’

दसैंको मुखमा विदेशी एयरलाइन्सले नेपाली यात्रु खचाखच ओसारिरहेका छन्। नेपाल वायुसेवाका दुइटा नयाँ वाइडबडीमध्ये एउटा एक सातादेखि ग्राउन्डेड छ। प्रवक्ता चन्दका अनुसार ९ एन एएलवाई कलसाइनको ‘अन्नपूर्ण’ विमानले तेल ‘धेरै खाएपछि’ उडाउन रोकिएको हो।

त्यसको कारण भने नेपाली विशेषज्ञले पहिचान गर्न सकेनन्। त्यसका लागि इन्जिन उत्पादक/बिक्रेता रोल्स रोयसका इन्जिनियर झिकाइएका छन्। उनीहरूले ‘आयल बक्स’ अमेरिकाबाट झिकाएका छन्। त्यो आउन समय लाग्ने निगम स्रोतले बतायो। स्रोत भन्छ, ‘त्यसले पनि काम नगरेको देखाएर सकेसम्म इन्जिनै फेर्ने चलखेल भइरहेको छ। सामान फेराउँदै पैसा कमाउने खेलो निगमको धेरै पुरानो हो।’ दुवै वाइडबडीका चारवटै इन्जिनको वारेन्टी÷ग्यारेन्टी केही छैन।

‘अन्नपूर्ण’ २०१८ जुन २८ मा काठमाडौं आइपुगेको थियो। ‘१५ महिनामै इन्जिनमा यति ठूलो खराबी आउनु स्वाभाविक होइन’, निगमकै एक वरिष्ठ इन्जिनियरले भने। उक्त जहाज थन्किएपछि सबै सेक्टरका उडान दुईदेखि चार घन्टासम्म ‘डिले’ भइरहेका छन्। यसले निगमको गरिमामै आघात पु¥याइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.