'दुई थोपा हाँसो' लिएर सिस्नुपानी कोरियातर्फ
काठमाडौं : हास्यव्यङ्ग्य साहित्यिक संस्था सिस्नुपानी नेपालले दक्षिण कोरियामा वैदेशिक रोजगारीमा रहेका नेपालीमाझ दसैंको पूर्वसन्ध्यामा कार्यक्रम गर्ने भएको छ। सिस्नुपानी नेपालले असोज ११ देखि २० गतेसम्म कोरियाका विभिन्न स्थानमा 'दुई थोपा हाँसो' शीर्षकमा कार्यक्रम गर्न लागेको हो।
संस्थाका अध्यक्ष लक्ष्मण गाम्नागेका अनुसार दसैंको कोशेलीस्वरुप दक्षिण कोरियाका विभिन्न स्थानमा निःशुल्क कार्यक्रम गर्न लागिएको हो। गत वर्षहरूमा 'दुई थोपा हाँसो' कार्यक्रम यूएई, कतार, ओमान, बहराइन र मलेसिसयामा भएका थिए।
'मुलुक, समाज र परिवारसँग अलग भएर वर्षौँदेखि परदेशमा परिश्रम गरेर देशलाई आर्थिक टेवा प्रदान गरिरहेका श्रमिकहरूलाई प्रत्यक्ष भेटेर नेपाली जनताको सद्भावना सन्देशलाई सम्प्रेषण गरिनेछ', अध्यक्ष गाम्नागेद्वारा जारी प्रेस नोटमा भनिएको छ, 'एकछिन भए पनि स्वस्थ र उद्देश्यमूलक हास्यव्यङ्ग्यको प्रस्तुतिद्वारा उनीहरूलाई मनोरञ्जन दिने, उत्साह जगाउने कार्य गरिनेछ।'
दक्षिण कोरियाका विभिन्न स्थानमा हुने कार्यक्रममा कलाकार मनोज गजुरेल, लक्ष्मण गाम्नागे, कवि अर्जुन पराजुली, गायक कमलिकान्त भेटवाल, गजलकार सरोज घिमिरे र मुक्तककार टंकराज आचार्यका प्रस्तुतिहरू रहनेछन्।
देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको रेमिट्यान्स र त्यो रेमिट्यान्सको मूल श्रोत विदेशमा श्रम गरेर बस्ने नेपालीको सम्मान गर्न 'दुई थोपा हाँसो' शीर्षकमा कार्यक्रमहरू गर्दै आएको सिस्नुपानीले जनाएको छ।
नेपालको अर्थतन्त्र धान्ने नेपाली श्रमिकलाई सम्मान गर्नु, नेपाली जनताको प्रेरणा सन्देश श्रमिकहरूसम्म पुर्याउनु, श्रमिकहरूलाई मनोरञ्जन दिनु, श्रमिकका रचना सुन्नु तथा श्रमिकहरूका तनाव व्यवस्थापन, परिवार व्यवस्थापन, स्वास्थ्य सम्वन्धमा उचित परामर्श प्रदान गर्नु कार्यक्रमको उद्देश्य रहेको सिस्नुपानीले जनाएको छ।
सिस्नुपानी नेपाल २१ वर्षदेखि कृयाशील हाँस्यव्यङ्य सामाजिक/ साहित्यिक संस्था हो।

प्रतिक्रिया दिनुहोस !