झरीले छेकेन आइडलको अडिसन

झरीले छेकेन आइडलको अडिसन

वीरगन्ज : मौसमले साथ नदिए पनि गायनमा रुचि राख्ने युवायुवतीको उत्साहजनक सहभागिताले शुक्रबार वीरगन्जमा ‘नेपाल आइडल’ को अडिसन भव्य रूपमा सम्पन्न भएको छ।

बिहानैदेखि झरी परे पनि अडिसनमा आधा दर्जनभन्दा बढी जिल्लाका सहर र गाउँबाट सयौं युवायुवतीले सहभागिता जनाए। वीरगन्जको चिनी मिलस्थित बीआईटी कलेज परिसरमा बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म अडिसन चलेको थियो।

अडिसनमा पर्सा जिल्लाका साथै छिमेकी बारा, रौतहट, सर्लाही, मकवानपुर, चितवन, कास्की, सुनसरी, काठमाडांै, दार्चुला र रुकुमबाट समेत युवायुवतीले सहभागिता जनाएको नेपाल आइडलका निर्देशक एलन श्रेष्ठले बताए।

‘बिहानैदेखि झरी परेका कारण सहभागी कम हुने हुन् कि भन्ने डर लागिरहेको थियो’, श्रेष्ठले भने, ‘तर झरीका बाबजुद पनि अडिसनस्थलमा सयौंको संख्यामा युवायुवतीले सहभागिता जनाए। हामी वीरगन्जको अडिसनबाट सन्तुष्ट मात्र होइन, एकदमै खुसी छौं।’

मध्याह्न अडिसनस्थल पुगेका आइडलका प्रमुख निर्णायकद्वय संगीतकार न्ह्यु वज्राचार्य र गायिका इन्दिरा जोशीले पनि वीरगन्जको अडिसनमा गायनमा रुचि राख्ने युवायुवतीको उत्साहजनक सहभागिता भएको बताए।

संगीतकार वज्राचार्यले भने, ‘पहिलेपहिलेका अडिसनमा हामीलाई वीरगन्जबाट खोजेको जस्तो प्रतिभा नपाइने हो कि भन्ने चिन्ता हुन्थ्यो तर आजको सहभागिता र उनीहरूको प्रतिभा हेर्दा भने अब वीरगन्जमा पनि गायनमा रुचि राख्ने एकसेएक प्रतिभा छन् भन्ने पुष्टि भएको छ।’

गायिका जोशीले पनि शुक्रबारको अडिसनमा सहभागीको संख्या र उत्साह देख्दा वीरगन्ज र यस आसपासका क्षेत्रमा पनि थुप्रै राम्रा आशलाग्दा प्रतिभा रहेको पाइएको बताइन्। वीरगन्जको अडिसनमा सहभागिता जनाउन आएका युवायुवतीमध्ये पहिलो चरणमा प्रि जज (म्युजिक टिचर) ले छनोट गरेका थिए। पहिलो चरणबाट छनोट भएकाहरूका लागि शुक्रबार नै दोस्रो चरणको छनोट पनि गरिएको निर्देशक श्रेष्ठले जानकारी दिए।

वीरगन्ज अडिसनको दोस्रो चरणको छनोटबाट छानिएका प्रतिस्पर्धीले काठमाडौंमा कात्तिकको पहिलो वा दोस्रो साता हुने फाइनल अडिसन (जज राउन्ड) मा सहभागी गराइने श्रेष्ठले बताए। उनले भने, ‘फाइनल अडिसनको मिति अहिले तय भइसकेको छैन। सम्भवतः कात्तिक पहिलो वा दोस्रो सातामा हुनेछ।’

उनका अनुसार, सिजन ३ का लागि देशका प्रमुख ६ सहरमा अडिसन भइरहेको छ। वीरगन्जभन्दा पहिले पोखरामा भदौ ३१ गते, बुटवलमा असोज ३ गते र नेपालगन्जमा असोज ६ गते अडिसन भइसकेको छ। अब बिर्तामोडमा असोज १४ गते र त्यसपछि काठमाडौंमा अन्तिम अडिसन हुने श्रेष्ठले जानकारी दिए। सिजन ३ का लागि ६ सहरबाट ३० देखि ४० जनालाई काठमाडांैमा हुने जज राउन्डको अडिसनमा सहभागी गराउने योजना रहेको श्रेष्ठले बताए। फ्रेन्चाइज आइडलको नेपाली संस्करण ‘नेपाल आइडल’ २०७४ सालदेखि एपी वान एचडी टेलिभिजन च्यानलले नेपालमा भित्र्याएको हो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.