‘वर्क कल्चर’लाई संस्थागत गरौं

‘वर्क कल्चर’लाई संस्थागत गरौं

आजभोलि हामीमा काम गर्ने जाँगर हराएको छ। कामको सिन्को नभाँची कुरा ठूला गरेर ठालु बन्नलाई कसैले सिकाउनु नै पर्दैन। ‘अरूका आङमा जुम्रो देख्ने, आफ्नो आङमा भैंसी नदेख्ने’ उखानलाई वास्तविकतामा नै प्रयोग गरिरहेका छौं। केही कामको सुरुवात गर्नु पनि आधा उपलब्धि हो तर हामीलाई काम गर्न लाज लाग्छ। काम गर्न अल्छी लाग्छ, आफूले काम गरेको अरूले देखेमा हेप्छन् भन्ने मानसिकताले जरा गाडेको छ।

काम गराइका रूपरङ, तौरतरिका परिवर्तन भएका छन्। करेसाबारीमा झार फुलाएर हरेक दिन मर्निङ वाकको काम गर्न कसले सिकायो ? गाई, भैंसी पाल्न छाडेर आफूले पालेका कुकुरलाई आची गराउन डोर्‍याउँदै सार्वजनिक बाटोमा लैजाने सभ्यताले हामीलाई अब कस्तो बनाउला ? खेतबारी सबै बाँझा राखेर खुर्सानीसमेत सात–आठवटा देशबाट आयात गर्नुले मुलुकको समृद्धि कस्तो होला ?

केही वर्ष पहिला दसैं आउँदा सबै गाउँघरका गोरेटा र घोडेटा बाटा खनेर राम्रो बनाउँथे। समूहमा बाबियो र खर काटेर लट्ठे पिङमा चचहुई, चचहुई गर्दथे। सबैका घर–आँगनमा फलफूल ढकमक्क फुल्थे र फल्थे। घर÷गोठ÷धन्सार पँधेरो, विद्यालय, पौवा, इनार, मन्दिरलगायत सबै सार्वजनिक महत्त्वका ठाउँमा मर्मत तथा लिपपोत गरेर चिरीच्याट्ट हुन्थे। करेसाबारीमा फलेका काँक्राहरू एक हातले उचाल्न सकिँदैनथ्यो। बोडी, करेला, घिरौंला, रामतोरिया, लौका, फर्सी, चिचिण्डा फालाफाल हुन्थे। काँक्रा, करेला र कुभिण्डोको अचार अनि दसैंमा पकाएको सेल, रोटी सम्झदा आज पनि मुख मीठो भएर आउँछ। दसैंलाई भनेर पकाउन राखेको मालभौ केरा, लैनो र बकेर्नो भैंसीका दूध मिसाएर जमाएको दही हिजोआज त भन्दा पनि आनन्द लाग्छ।

अहिले गाउँ–गाउँका गोरेटा बाटामा कुरौ र वनमाराले ढकमक्क ढाकेको छ। नाममात्रका कच्ची मोटरबाटाले प्रकृतिलाई नै उजाड र कुरूप बनाएको छ। जहाँ–जहाँ वरपीपलका चौतारी थिए, तिनै काटेर बनाएका छन् मोटर बाटो। त्यही मोटर बाटो पनि सबैलाई घर–घरमै जोड्न मन लाग्छ। भन्दा मोटर बाटो हो, तर चरन चर्ने गाई भैंसी त हिँड्न सक्दैनन् भने त्यो बाटोमा भने मोटर गाडी कसरी गुडोस् ? गुड्न नसकेको मोटरलाई हामीले रसिले बाँधेर तान्न खोज्छौं तर खाल्टाखुल्टी भएर बिग्रिएको बाटोलाई बनाउने जाँगर किन निकाल्दैनौं ?

समूहमा मिलेर काम गर्न छाडे मानिसहरू। विदेशबाट झिकाएको महँगा आयातीत कपडा लगाई गोरेटो बाटोमा भएका वनमारा र कुरौंका पत्ताहरू टिप्दै बाटो मर्मतका लागि आर्थिक सहयोग लिन दिनहुँ वडामा र पालिका धाउँछन् हिजोआजका आधुनिक मान्छे। दिनहुँ पालिका धाउनुको साटो सबै मिलेर एकछिन वनमारा फडानी गर्न केले रोक्छ हामीलाई ? वीर नेपालीका सन्तान हामी जस्तोसुकै सानो कामलाई पनि अरूसँग निर्लज्ज हात थाप्ने कसले बनायो ? यो तरिकाले स्वाभिमानी नेपालीको स्वाभिमान खै कता जाँदै छ ?

भर्खर विकास हुन थालेको बजार बस्तीमा म बस्छु। घरवरपरका बाटो सबै पिच छन्। जब पानी पर्न थाल्छ, पानीका भेल र घरका ढलहरू सबै त्यही पिच बाटोबाट बग्छन्। त्यो समयमा हेर्दा लाग्छ, यो कुनै पिच बाटो नभएर खोला हो। दुईचारजना मिलेर हाम्रा सामान्य घरेलु कोदालाले पानीका भेल पन्छाउने हो भने पनि त्यो पानीलाई सजिलै बाटो काटेर अन्यत्र तर्काउन सकिन्छ। हामी वास्ता गर्दैनौं। खैं हाम्रो जाँगर कहाँ हरायो ? दिनहुँ कार्यालय हिँड्दा भन्छन्, ‘म्याम, यो पानी तर्काउन बजेट पार्नुपर्‍यो। नाला र ढलका लागि लौ न पहल गर्नोस्।’ म सोच्न थाल्छु– बजार बस्तीको नल–ढल त सरकारी बजेटले बनाउला रे, तर हाम्रो मस्तिष्कमा जमेर बसेका केही गर्न नसक्ने ढललाई कसरी सफा गर्ने हो ? आफ्नो काम आफैं गर्दा सानो भइन्छ भन्ने सोचाइलाई कसरी हटाउने हो ? हरेक ठूला मान्छेहरूले ससाना काम आफैंले निर्धक्कसँग गर्छन् कहिलेसम्म बुझ्दैनौं ?

हरेक मानिस काममा व्यस्त हुने हो भने अन्य नराम्रा कामकुरा गर्न फुर्सद हुँदैन। हामी त बाह्रै घण्टा फुर्सदमा बिताउने बानी परेका छौं। कि त सामाजिक सञ्जालमा लाइक र कमेण्डमै भुलेका छौं कि त अरूका कुरा काट्नमै। घरमा एक कप चिया बनाउन ढंग नहुनेहरूलाई बाहिर आकाश–पातलका कुरा गर्ने कसले बनायो ? अरूका जति कुरा काटे पनि आफ्नो उन्नति र प्रगति हुँदैन भन्ने हामीले कहिले बुझ्ने ?

यहाँ त गफ सबैलाई ठूला लगाउन मनपर्छ, कुरा सबैलाई पूरा गर्न मन पर्छ। बूढापाका भन्ने गर्थे, ‘काम साँच्यो आफूलाई, खाना साँच्यो अर्कोलाई’ यति पनि बुझ्दैनौं हामी। हामी त शौचालय जान च्याप्दा पनि कुरा काट्नमै तल्लीन हुन्छौं। जुनसुकै विषयको परीक्षा हलमा छिर्नभन्दा पहिला पनि कुरा नै काट्छौं, हलबाट बाहिर निस्कँदा पनि कुरा नै काट्छौं। जुवातास खेलेर समय र धनको बर्बादी गर्छौं र पनि आफूलाई ठूलै मान्छे हौं भन्छौं।

हामीले बुझ्न जरुरी छ– काम कुनै पनि सानो र ठूलो हुँदैन। यो त हाम्रो सोचाइको उपज मात्र हो। मानिलिनोस्– जहाजमा चढेको बेला पाइलट ठूलो, बसमा चढेको बेला ड्राइभर ठूलो, स्कूलमा शिक्षक ठूलो, अस्पतालमा डाक्टर ठूलो, खेतबारीमा किसान ठूलो... यहाँ कुनै पनि काम र पेसा सानो हुँदैन। आवश्यकताअनुसार आआफ्नो सबै क्षेत्रमा सबै ठूलो हुन्छ र ठूलो हुन पाउनुपर्छ।

शारीरिक रूपमा कमजोर हुनेहरूले त पत्याउनै नसकिने निकै ठूलाठूला काम गर्न सक्छन् भने हामी त झन् सबै कुराबाट निकै बलिया छौं। कमजोर भनेको हाम्रो मानसिकता हो। केही गर्न सकिँदैन भन्ने हीनताको भावना हो। आफूले आफ्नो घरभित्रको फोहोर जथाभावी सडकमा मिल्काउने अनि सरकारले केही गरेन भनेर कुरा मात्र काट्ने हो भने यस्तो बानीले न त देशको विकास हुन्छ न त आफ्नो विकास। परिश्रमको फल मीठो हुन्छ। परिश्रम गर्न छाडेर जेजस्तो कामकुरामा पनि लाजै नमानी अरूसँग हात थाप्ने बानी र पद्धतिको अन्त्य हुन जरुरी छ।

यहाँ धेरै भारतीय नागरिकले काम गरेर निकै राम्रो कमाइ गरेका छन्। कपाल काट्नेले, चटपट र पानीपुरी बेच्नेले, तरकारी र फलफूल बेच्नेले, कबाडी सामान संकलन गर्नेलगायत अन्य काम गर्नेले समेत न्यूनतम मासिक रूपमा ५० हजार रुपैयाँभन्दा बढी नाफा कमाउँछन्। हामी नेपाली भने बीस–पच्चीस हजार रुपैयाँ मासिक रूपमा कमाउन भनी खाडी मुलुक जानका लागि लाखौं लाख रुपैयाँ लगानी गर्छौं।

आफ्नै देशमा, आफ्नै घरआँगनमा जेजस्ता काम गर्न सकिन्छ, त्यही गरेर कमाएको आम्दानी दिगो हुन्छ। यसले पारिवारिक अवस्थामा पनि निकै राम्रो प्रभाव पार्छ। घरपरिवारको मायामोहलाई पैसामा तुलना गर्नु हुँदैन। विदेशमा कमाउने एक लाख रुपैयाँले भन्दा आफ्नै देशमा कमाएको बीस–पच्चीस हजार रुपैयाँको बढी महŒव हुन्छ। यसले पारिवारिक विखण्डन ल्याउँदैन। डिप्रेसन, आत्महत्यालगायत अन्य मानसिक रोगबाट व्यक्ति र परिवारलाई बचाउँछ। सामाजिक मूल्यमान्यतालाई समेत टेवा दिन्छ।

अबको आवश्यकता भनेको वर्क कल्चरको निर्माण गर्नु हो। आफूले काम नगर्ने अनि दोष अरूलाई लगाउने बानी हटाउनु हो। चियापसलमा जम्मा भएर अनावश्यक राजनीतिक गफ गर्ने बानीलाई घटाउनु हो। काम गर्ने बानीको सुरुवात आफूबाट सुरु गरौं। सुरुवाती चरणमा थोरै काम गर्न थाल्यौं भने पनि पछि यसले विस्तारै निकै ठूला उपलब्धि हासिल गर्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.