वन जोगाउन उपभोक्तालाई ग्यास वितरण
![वन जोगाउन उपभोक्तालाई ग्यास वितरण](https://annapurnapost.prixacdn.net/media/albums/gass-distibution_20191004075800_Kuh1UpNGA6.jpg)
उदयपुर : बढ्दो वन विनास रोक्न उदयपुरको त्रियुगा नगरपालिका ७ स्थित होक्से सामुदायिक वन समूहले उपभोक्तालाई ग्यास वितरण गरेको छ।
समूहमा आबद्ध ८० घरधुरीलाई ४ लाख ९६ हजार रुपैयाँ बराबरको ग्यास वितरण गरिएको अध्यक्ष डिकबहादुर आलेमगरले जानकारी दिए। समूहले आर्थिक वर्ष २०७५/७६ को आम्दानीबाट समूहभित्र रहेका उपभोक्तालाई ग्यास वितरण गरिएको अध्यक्ष आलेमगरले बताए।
दाउराको खपत गर्दा वन विनाश बढ्ने र वातावरण पनि प्रदूषण हुन थालेपछि समूहले वार्षिक कार्यक्रम नै स्वीकृत गरी खाना पकाउने ग्यास वितरण गरेको हो।
घरायसी प्रयोजनका लागि दाउरा बाल्न रुख काट्दा वन फँडानी हुन थालेपछि वन विनाश रोक्न यस्तो कार्यक्रम सञ्चालन गरिएको हो। उपभोक्तालाई परिचयपत्र तथा ग्यास वितरण गर्ने क्रममा सामुदायिक वन उपभोक्ता महासंघ त्रियुगा नगर कमिटीका अध्यक्ष नरबहादुर खड्काले ग्यास वितरण कार्यक्रम वन संरक्षणको आधार भएको बताए। सरकारले अघि सारेको ‘धुवाँमुक्त त्रियुगा नगर अभियान’लाई सहयोग गर्न पनि ग्यास बाँडिएको उनले बताए।
‘उपभोक्ताले खपत गर्ने दाउरा भनेको वन सम्पदा मासेरै हो’ ग्यास वितरण कार्यक्रममा बोल्दै देउरी सवडिभिजन कार्यालय उदयपुरका रेन्जर बाबुराम फुयाँलले भने ‘त्यसैले वन मासेर दाउरा उत्पादन गर्दै जाने हो भने केही वर्षभित्रै वन सकिने निश्चित छ।’
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)