बुलेट सिर्जना
![बुलेट सिर्जना](https://annapurnapost.prixacdn.net/media/albums/Srijana-Regmee-4_20191011030122_OlbNMWxd2m.jpg)
काठमाडौं : सिर्जना रेग्मी नेपाली फिल्ममा नवअभिनेत्रीको रूपमा उदाएकी छिन्। फिल्म ‘जाइरा’मा उनी ‘बुलेट’को भूमिकामा छिन्। यसमा उनको नेगेटिभ रोल छ। फिल्ममा अभिनेत्री नम्रता श्रेष्ठ र उनले जमेर लडाइँ गरेका छन्।
हालै जय नेपाल हल अगाडिको गसिप रेस्टुरेस्टमा सिर्जना अन्य फिल्मको अफरबारे बेलीविस्तार लगाउँदै थिइन्। तर उनलाई तुरुन्त अर्को फिल्ममा नेगेटिभ रोल गर्ने मन छैन। ‘जाइरा’मा खेल्न उनी आकर्षित हुनुको एक प्रमुख कारण थियो, यसमा फिल्म सुटिङअघि पाँचमहिने तालिम प्याकेज। यस अवधिमा उनले जिमखानामा मिकी दाइसँग बक्सिङ सिकिन्। सानैदेखि तेक्वान्दो खेल्ने बानीले उनलाई बक्सिङमा अभ्यस्त हुन समय लागेन।
जिमखानामा बक्सिङको अभ्यासले सिर्जनाको खानपान शैली भने बदलियो। उनी शाकाहारी हुन्। तर कडा अभ्यासका कारण उनलाई मांसाहारी भोजन गर्ने सल्लाह दिइयो। यसरी शाकाहारी भएको १२ वर्षपछि उनले अभ्यासका क्रममा माछामासु खाइन्। फिल्मको सुटिङ सकिएपछि उनको शाकाहारी भोजनको यात्रा पुनः सुरु भएको छ। रेस्टुरेन्टमा साथीभाइहरूले बफ, चिकेन मम अर्डर गर्दा उनको रोजाइ भेज मम हुन्छ।
सन् २०१६ मा मिस नेपाल प्रतियोगितामा भिडेकी थिइन् सिर्जना। उनले टाइटल जित्ने सपना देखेकी थिइन् तर त्यो इच्छा पूरा हुन सकेन। यसले उनका लागि मोडलिङको दैलो भने उघारियो। म्युजिक भिडियोहरूमा अभिनय गर्ने अवसर पनि जुरे। जाइरामार्फत कलिउड इन्डस्ट्रीको दैलो पनि उघारिएको छ।
अभिनयसँगै गायनमा पनि रुछि छ सिर्जनाको। भावुक गीत गाउन मन पराउँछिन् उनी। छिट्टै अंग्रेजी भाषाको गीतको एल्बम ‘ड्रिम्स अन्डर रोडोडेन्ड्रम ट्री’ अर्थात् लालीगुराँसका सपनाहरू आउँदैछ। यसका निर्माता अभिजित भण्डारी रहेका छन्। नेपालीभन्दा किन अंग्रेजी एल्बम ? जवाफमा उनको भनाइ छ, ‘घरमा हामी तीन बहिनी अंग्रेजीमै बात मार्छौं। अंग्रेजी सहज लाग्छ। गीतले विश्वव्यापी बजार पाउने लोभले पनि सुरुको एल्बम अंग्रेजी भाषाको ल्याउन मन लाग्यो।’
त्यसो त उनी नेपाली गीत पनि गाउँछिन्। उनी आफूले गाउने गीत आफैं रचना गर्छिन्। उनका पिता रक्षा रेग्मी पनि राम्रो गाउँछन्। फुर्सद भयो कि पितासँग स्वरमा स्वर मिलाउँदै गीत गुन्गुनाउन थाल्छिन्। गायनलाई थप निखार्न उनलाई भोकल क्लास लिने रहर पनि छ। साथै, नेपाली गीतको एल्बम निकाल्ने सोच पनि।
कुराकानीका क्रममा आइपुगेको थियो, पुदिनहराको छोप हालेको कागती पानी। गिलासमा हालिएको थियो, प्लास्टिक पाइप। उनले प्लास्टिक पाइप हटाउँदै नाक खुम्च्याइन्, ‘मलाई प्लास्टिक भन्ने चिजै मन पर्दैन। प्लास्टिकको झोला पनि युज गर्दिनँ म। यही प्लास्टिकले काठमाडौंको वातावरण बिगारेको छ भन्या।’ उनी वातावरण जोगाउने अभियानमा संलग्न केही संस्थाहरूको सहकार्यमा सरसफाइको काममा पनि जुट्छिन्। शाकाहारी भएकाले पशु अधिकारको वकालत पनि गर्छिन्।
सुन्दरी सिर्जनाको कुनै समय सपना थियो, एयर होस्टेस बन्ने। उनले तालिम सकाएर एयर होस्टेसको लागि आवेदन दिइन् र छानिइन् पनि। तर तीन वर्ष दुवई बस्नुपर्ने भयो। उनलाई नेपाल छोड्न मन लागेन। अन्ततः मुखमा आइसकेको आकर्षक जागिर तिलाञ्जली दिइन्। भन्छिन्, ‘अहिले आएर एयर होस्टेसको जागिर छाडेर ठीकै गरो जस्तो लाग्छ। सिर्जनात्मक काम गर्न पाएकी छु, खुसी लागेको छ।’ जागिरे जीवनको अनुभव भने लिएकी छिन् उनले। अमेरिका कुराकानी गराउने कल सेन्टरमा काम गर्दा आँखा झिमिक्क नपारी रात छर्लंग ड्युटी गरेको सम्झिँदा उनी नोस्टालजिक हुन्छिन्।
बीबीएस सकाएकी छिन् उनले। तर उनलाई एमबीएस पढ्न मन छैन। केही समय फिल्म नगरीमा भुलेपछि रुचिको लिट्रेचर विषय पढ्ने मन बनाएकी छिन्। उनलाई लागेको छ, फिल्म पनि एक किसिमको पढाइ नै हो।
संखुवासभामा जन्मिएकी हुन् सिर्जना। एक वर्षकै उमेरमा बालाजु, काठमाडौं ल्याइएपछि संखुवासभाको सम्झना केही छैन उनको मेमोरीमा। साथी पाए पनि नपाए पनि अर्को वर्ष जन्मस्थान जाने योजना छ उनको।
जाइरामा क्रसफायर बाइक कुदाएकी छिन् उनले। अघिपछि भने उनको रोजाइको सवारीसाधन स्कुटी हो। स्कुटी नियमित भने चलाउँदिनन्। फिल्म सुटिङमा मोटरसाइकल चलाउँदा खासै गाह्रो नभएको उनी बताउँछिन्। एयर होस्टेस, मिस नेपाल, गायनलगायतका सपनाको दुनियाँमा रंगिएकी सिर्जनाको अहिलेको बाटो फिल्म नगरी आइपुगेको छ। जाइराकी यी जबर्दस्त बुलेटको फिल्मी यात्राको अबको घुम्ती कता मोडिन्छ ? ‘हावाहुरी’ बोलको गीतमा मोडलिङ गरेकी यिनले कस्तो आँधीबेहरी ल्याउलिन् ? समयले नै बताउँला।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)