हिमशृंखला जोगाउने सी प्रतिबद्धताको प्रशंसा
(लालगढ) धनुषा : विश्वको सर्वोच्च शिखर सगरमाथासहित अन्य हिमशृंखला जोगाउन चीनका राष्ट्रपति सी चिनफिङले नेपाललाई सघाउने घोषणाको वन तथा वतावरण संरक्षणकर्मीले प्रशंसा गरेका छन् ।
मिथिला नगरपालिका ढल्केवर धनुषा र सामुदायिक वन उपभोक्ता महासंघ नेपालले आयोजना गरेको 'सामुदायिक वनको समस्या र सम्भावना' विषयक संवाद कार्यक्रममा सहभागीले हिमशृंखला जोगाउन चीनले गरेको प्रतिबद्धताको स्वागत गरेका हुन्।
जलवायु परिवर्तनले हिमशृंखला हिउँविहीन बन्दै गएको छन् । हिमशृंखला जोगाउन नेपालले अन्तर्राष्ट्रिय समुदायमाझ वर्षौंदेखि चिन्ता व्यक्त गर्दै आएको छ। विश्वमै चीन सबैभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने मुलुक हो ।
दुईदिने नेपाल भ्रमणका क्रममा आइतबार राति सम्बोधन गर्दै राष्ट्रपति सीले विश्वको सर्वोच्च शिखर सगरमाथार,चुमलुङमासहितका हिमाल जोगाउन तत्परता देखाउने उद्घघोष गरेका थिए ।सामुदायिक वन उपभोक्ता महासंघ नेपालका महासचिव तीर्थबहादुर शाहीले जलवायु परिवर्तनको असरले हिमाल संकटमा परेको बताए ।
'हिमाल जोगाउन चीनले नेपाललाई सघाउने खबरले हामीलाई खुशी तुल्याएको छ, 'उनले भने, 'नेपालको वनले विश्वलाई स्वच्छ हावा उपलब्ध गराइरहेको छ ।' नेपाल र चीनबीच भएको २० बुँदे समझदारीपत्र र १४ बुँदे संयुक्त वक्तव्यमा समेत हिमाल संरक्षण गर्न सहकार्य गर्ने बुँदा उल्लेख छ।
सामुदायिक वनमाथि लगाएको तेहरो कर नहटाए आन्दोलन चर्काउने महासचिव शाहीले सरकारलाई चेतवनी दिए ।'रोयाल्टी तिर्न तयार छौं, तर सरकारले लादेको कर कुनै पनि हालतमा तिर्दैनौं,'उनले भने, 'करलाई एकद्वार प्रणलीमा लैजानुपर्छ।'
मिथिला नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्की र नगरपालिका प्रवक्ता दिपकजंग थापाले वन नभई नहुने तर संरक्षण गर्न चुनौती रहेको बताए । सकारले वन जोगाउन एक्लै नसक्ने भन्दै स्थानीयबासीको सहयोगको खाँचो रहेको बताए ।
तुलसीपुर उप-महानगरपालिकाका मेयर घनश्याम पाण्डेले वनलाई सौन्दर्यकरण गरेर पर्यटकीय आकर्षणको स्थानको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । 'अब सामुदायिक वन काटेर बिक्री गर्ने होइन्, पार्क, पिकनिक स्पोर्ट, ताल, पोखरी निर्माण गर्नुपर्छ । वन घुम्न आउनेलाई टिकट बिक्री गरेर वन संरक्षण गर्नु पर्छ,'उनले भने, 'वनले जैविक विविधता, दीगो विकास र जलवायु न्युनीकरणमा सघाउ पुर्याउँछ ।' कृषि, वन, माछा पालन नेपालको प्रमुख उत्पादनको क्षेत्र रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस !