मिसेलको हिमाल प्रेम

मिसेलको हिमाल प्रेम

काठमाडौं : गायक रामकृष्ण ढकालको एक चर्चित गीत छ, ‘बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस् ।’ जब देशपे्रम जाग्छ, नेपालीहरू यो गीत गुनगुनाउन थाल्छन् । हिमाल हेर्ने इच्छा राख्नु र हिमाललाई नै पे्रम गर्नुमा भने फरक छ ।

पन्ध्र वर्षअगाडि नेपालका हिमशृंखलाबाट लोभिएर एक फ्रान्सेली नागरिक नेपाल प्रवेश गरे । ती फ्रान्सेलीको नाम हो, मिसेल मी । सन् २००५ मा उनी नेपाल भ्रमणमा आएका थिए । उनलाई सगरमाथा चढ्ने ठूलो इच्छा थियो । आफ्नै देशमा हुँदा उनी त्यहीँका स्थानीय पर्वतशृंखलाको आरोहण गरिरहन्थे ।

फ्रान्समा हिमालनजिकै मिसेलको गाउँ छ । त्यसैले पनि उनी हिमालसँग बढी नजिक छन् । तर दुर्भाग्य ! हिमाल चढ्ने क्रममा उनी दुर्घटनामा परे । उक्त दुर्घटनामा उनका दुवै खुट्टामा गहिरो चोट लाग्यो । तर दुर्घटनापछि पनि मिसेलको हिमालप्रेम कत्ति पनि कम भएन । उनी आफ्नो रुचिप्रति झन् एकाग्र भएर लागे ।

आँखामा चस्मा, हँसिलो अनुहारका मिसेल नेपालका प्रायः सबै हिमशृंखलाको ज्ञान राख्छन् । उनी गर्वसाथ भन्छन्, ‘मलाई नेपालका प्रायः हिमालका बारेमा थाहा छ ।’

युवावस्थामै दुर्घटनामा परेका मिसेलका दुवै खुट्टामा स्टिल राखिएको छ । नेपालका भौगोलिक कठिनाइ चिर्दै चिप्लो, अप्ठ्यारो र भिराला बाटाहरूमा निस्फिक्री हिँड्न उनलाई हिमालहरूले नै सिकायो ।

सानैदेखि प्रकृतिसँग नजिक रहन मन पराउने उनी नेपालको प्रकृति, कलासंस्कृति र नेपालीमाझ छिट्टै घुलमिल भए । फोटोग्राफी र लोकसंगीतमा विशेष रुचि राख्ने मिसेलका लागि नेपाल दोस्रो घर भएको छ । नेपाल आउने जाने क्रममा मिसेल नेपालका कुनाकन्दरा पुगेका छन् । उनले यहाँका मठन्दिर, हिमाली भूभाग, महाभारत पर्वत, नदीनाला, सुन्दर गाउँहरू र नेपाली जनजीवन झल्काउने थुप्रै सुन्दर तस्बिर आफ्नो क्यामेरामा कैद गरेका छन् । तस्बिर खिच्दाखिच्दै उनले पन्ध्र वर्षमा झन्डै ३० हजार फोटो नेपालकै मात्र खिचेका रहेछन् । भन्छन्, ‘यति धेरै फोटो खिचेको पत्तै भएन । फोटो प्रदर्शनीका लागि तस्बिर छान्न मात्र दुई÷तीन महिना लाग्यो ।’

नेपालका हिमाल, पहाड, तराई घुमेर संग्रह गरेका तस्बिरलाई मिसेलले पाटन संग्रहालयमा प्रदर्शनीमा ल्याएका छन् । एक सय आठ तस्बिरले भरिएको उक्त प्रदर्शनीमा आउने पर्यटकहरू नेपालको प्राकृतिक तथा सांस्कृतिक सुन्दरता एकै ठाउँमा देख्न पाउँदा दंग मान्दै थिए ।

‘नेपाल प्रकृतिमा निकै धनी छ तर संरक्षणको अभाव छ’, मिसेलले नेपालमा बिताएका पन्ध्र वर्ष यो एक वाक्यमा व्यक्त गर्दै भने । १७ सेप्टेम्बरबाट सञ्चालनमा आएको फोटो प्रदर्शनी एक महिनासम्म सञ्चालन हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.