ठगी आरोपमा सहयोगी विकास बैंकका सञ्चालक समिति सदस्य पक्राउ
जनकपुरधाम : जनकपुरधामस्थित सहयोगी विकास बैंक लिमिटेड संचालक समितिका सदस्य दिपेन्द्र कुमार यादव (दिपु) लाई प्रहरीले पक्राउ गरेको छ । किर्ते जालसाजी ठगी गरेको आरोपमा फरार नेकपाका नेता समेत रहेका यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
साहलाई जनकपुरधाम ८ बलवा टोलस्थित उनकै निजी निवासबाट पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । यादवले जनकपुरधाम १० का लालबाबु रौनियारको धितो राखिएको जग्गाको रकम चुक्ता फिर्ता नगरेका कारण जालसाजी तथा ठगी गरी बिक्री गरेको अभियोग धनुषा प्रहरीले पक्राउ गरेको हो ।
८ वर्षअघि रौनियारले महोत्तरीको बर्दिवास स्थित ५ कट्ठा जग्गा व्यक्तिगत रुपमा यादव कहाँ धितो राखी ५० लाख रुपैयाँ ऋण लिएका थिए । केहि वर्षभित्रै सो ऋण वापत यादवलाई ७३ लाख रुपैयाँ चुक्ता गरेपनि जग्गा फिर्ता नपाएपछि जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेका थिए ।
पीडित रौनियारको बर्दिवासस्थित रहेको ५ कठ्ठा जग्गा २ करोड ७० लाख रुपैयाँमा यादवले बेचेको स्रोतको दाबी छ । जिल्ला अदालत धनुषाले गत श्रावण १३ गते नै यादवलाई पक्राउ पूर्जी जारी गरेको थियो । तर उनी फरार रहेका थिए ।
यादव धनुषाको क्षेत्र नं. ३ (क) बाट प्रदेशसभामा नेकपाबाट चुनाव लडेका थिए ।
प्रतिक्रिया दिनुहोस !