सांसद साहको रिहाइ माग गर्दै विरोध प्रदर्शन
मलंगवा : बुद्ध एयरको जनकपुर स्थित काउन्टरमा सोमवार तोडफोड गरेको आरोपमा पक्राउ परेका प्रतिनिधि सभा सदस्य प्रमोद साहको रिहाइको माग गर्दै बुधवार दोस्रो दिन पनि सर्लाहीमा विरोध प्रदर्शन गरिएको छ।
पूर्व निर्धारित कार्यक्रम अनुसार सर्लाही सदरमुकाम मलंगवा र बलयवास बजारमा विरोध प्रदर्शन गरिएको हो। दिउँसो मोटरसाइकल र्याली निकालेर विरोध गरेका राष्ट्रिय जनता पार्टी नेपालका नेता कार्यकर्ताले साँझ मसाल जुलुश प्रदर्शन गरेका छन्। सांसद साहलाई तुरुन्त रिहाइ नगरे बिहीवारदेखि थप आन्दोलन चर्काउने राजपा जिल्ला कार्य समिति सर्लाहीले जनाएको छ।
पूर्व घोषित कार्यक्रम अनुसार बिहीवार बजार तथा यातायात बन्द गर्ने राजपा नेपालका जिल्ला संयोजक नागेश्वर महतोले जानकारी दिएका छन्। ३० गतेको आन्दोलन पश्चात पनि कुनै सुनवाइ नभए कार्तिक १ गतेदेखि अर्को आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने महतोले जनाएका छन्।
प्रतिक्रिया दिनुहोस !