किन आफ्नै गाईवस्तु किन्छन् सीमाका नेपाली ?
इटहरी : सुनसरीको हरिनगर–७ घुस्कीका शिवनारायण शाहको एउटा भैंसी र पाडी एकरात चोरी भयो। वरपर खोजे पाएनन्। घुस्की भारतीय सीमानजिक पर्ने नेपाली गाउँ हो। सीमावर्ती गाउँबाट अक्सर नेपालीका चौपाया हराउँछन् र भारतमा भेटिन्छन्। शाह पनि भैंसी खोज्न डेढ किलोमिटर दक्षिणस्थित भारतीय बजार पुगे। नभन्दै उनको भैंसी त्यहीँ थियो। ‘हराएको दुई–तीन दिनपछि आफ्नै भैंसीलाई ६० हजार रुपैयाँ तिरेर फिर्ता ल्याएँ,’ उनले भने।
नेपाल–भारत सीमाका नेपाली बासिन्दाहरू चौपाया चोरीबाट आजित छन्। आम्दानीको लागि पालिएका गाईवस्तु चोरी हुने अनि चोरिएका गाईवस्तु पैसा तिरेर ल्याउनुपर्ने बाध्यता छ धेरैको। ‘भारतको बजारमा आफ्नो गाईभैंसी भेटिन्छ, अनि चोर पनि त्यहीँ हुन्छ,’ स्थानीय दिपेन्द्रकुमार स्वर्णकार भन्छन्, ‘यो मेरो भैंसी हो, चोरिएछ भनेर भन्ने आँट कसैको हुँदैन।’
उनका अनुसार भारतीय प्रहरीले पनि चोरहरूलाई नै साथ दिन्छन्। भारतीय प्रहरीको आडमा चोरहरूले नेपालीलाई उल्टै धम्की दिन्छन्। त्यसैले चुपचाप पैसा तिरेर लिएर चौपाया ल्याउँछन्। भारतीय बजारमा चोरी भएको भैंसी आधा दाममै पाइन्छन्।
त्यसैले भैंसी भेटनेहरू केही हदसम्म भाग्यमानी हुन्। तर सबै शाहजस्तै भाग्यमानी हुँदैनन्। हरिनगर–७ कै अशोक उराँव र मुस्ताक खाँको भैंसी चोरियो। अहिलेसम्म भेटिएको छैन। दूध बेचेर परिवार पाल्ने खाँको परिवार भैंसी चोरिएपछि समस्यामा परेको छ। नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै भारतीय चोरहरूले नेपालीले पालेका भैंसी, गाई, गोरु गोठबाटै चोरेर लान्छन्। साँझ–राति चौपायासँगै भेटेका र लान सकिने अरु सामान पनि छाड्दैनन्।
फुकाउँदा फुकाउँदै देखिहाल्यो भने मात्रै गाईवस्तु जोगिन्छन्, सीमा पार भइसकेपछि उनीहरूलाई समात्न सकिन्न। दुई साताअघि साँझ ६ बजे हरिनगर–६ का जावेद अन्सारीको भैंसीको दाम्लो खोल्दाखोल्दै देखरे स्थानीयले चोर लखेटेका थिए।
भारतको बिहारमा रक्सीमा बन्देज लागेसँगै रक्सी खाने बहानामा नेपाल आउने भारतीयले नै राति चौपाया चोर्ने गरेको अनुभव हरिनगरवासीको छ। त्यसमाथि सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको खासै उपस्थिति नहुनु, सीसी क्यामेराजस्ता उपकरण प्रयोग नगरिनुजस्ता कारणले पनि चोरी बढाएको स्थानीय जहाँगीर अन्सारी बताउँछन्।
सुरक्षाकर्मी र उपाय व्यवस्थापन अभावमा केही महिनाअघि खुर्सिद आलमको दिनदहाडै हत्या गरी भारतीयको समूह भागेको थियो। सो क्षेत्रमा जम्मा जम्मी ६ जना नेपाली प्रहरी छन्। आउनेजाने मानिस र सवारीको रेकर्ड राख्ने व्यवस्था पनि छैन। खुर्सिद मारिएको ६ महिनासम्म प्रहरीले सतर्कता बढाए पनि अहिले फेरि पहिलाजस्तै सुरक्षा फितलो बनेको स्वर्णकार बताउँछन्।
यता सुनसरी प्रहरी प्रमुख यज्ञविनोद पोख्रेल भने चोरी नियन्त्रणको लागि प्रहरी लागिपरेको बताउँछन्। ‘भारतीय प्रहरी तथा त्यहाँका मुखियाहरूसँग छलफलको तयारीसमेत भइरहेको छ,’ उनले भने।