चुना र सुर्कीले बनाइँदै जयबागेश्वरी मन्दिर

चुना र सुर्कीले बनाइँदै जयबागेश्वरी मन्दिर

काठमाडौं : भूकम्पपछि अधिकांश मठमन्दिरको संरचना भत्किए। विश्वसम्पदा सूचीमा परेका पाशुपत क्षेत्रका मन्दिरले समेत भूकम्पको मार खेप्नुपर्‍यो। जसमा जयबागेश्वरी मन्दिर पनि अछुतो रहेन। भूकम्प गएको चार वर्षपछि पुनर्निर्माण गर्न यो मन्दिरको बाहिरी संरचना भत्काइयो।

प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार ऐतिहासिक सम्पदा पुनर्निर्माण गर्दा पुरानै शैली अपनाउनुपर्ने प्रावधान छ। पशुपतिनाथ सेवक संघका अध्यक्ष केदारमान भण्डारीका अनुसार जयबागेश्वरीको मन्दिरलाई चुना र सुर्कीले बनाइँदै छ जबकि यो मन्दिर माटोबाट बनेको देखिन्छ। ‘माटोबाट बनेको मन्दिर कमजोर हुने पुरातत्त्व विभागको तर्क छ,’ अध्यक्ष भण्डारी भन्छन्, ‘काष्ठमण्डप माटोबाट बन्न सक्छ भने यो मन्दिर किन बन्न सक्दैन ? ’

मन्दिर पुरानै शैलीमा बन्नुपर्ने सबैको माग भएको जानकारी दिँदै भण्डारीले आवश्यक खोज अनुसन्धानमा ध्यान दिनुपर्नेमा जोड दिए।

सांस्कृतिक महाशाखा प्रमुख प्रेमहरि ढुंगानाका अनुसार पुरातत्त्व विभागले अनुगमन गरी नीति ल्याएको खण्डमा मन्दिर पुनर्निर्माण माटोबाटै गर्न सकिन्छ। उनले भने, ‘पुरातत्व विभागले सोहीअनुसारको नक्सा बनाइदिन्छ भने माटोबाटै निर्माण गर्न आपत्ति छैन।’

प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार ऐतिहासिक सम्पदा पुनर्निर्माण गर्दा पुरानै शैली अपनाउनुपर्ने प्रावधान छ।
 

यद्यपि, माटोबाट संरचना बनाउन विशेष ध्यान दिनुपर्ने प्रमुख ढुंगानाको भनाइ छ। माटोबाट बन्ने संरचना कमजोर हुने भएकाले गुणस्तर जाँचमा विशेष ध्यान दिनुपर्ने उनले बताए।धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्त्वका सम्पदा पुनर्निर्माणमा लापरबाही हुनुमा सरकारी निकायबाटै विशेष पहल हुनुपर्ने ढुंगाना बताउँछन्।

प्राचीन सम्पदा निर्माणमा विशेष ध्यान दिनुपर्ने भए पनि सरकारको कार्यशैली निराशाजक छ। यसमा पुरातत्व विभागको सक्रियता अझै कमजोर छ। जनस्तरबाट चर्को आलोचना भएपछि मात्र जयबागेश्वरीको मन्दिर पुनर्निर्माणमा पुरातत्त्व विभागले चासो दिएको हो। अन्य समयमा सम्पदाप्रेमीले आवाज उठाएपछि मात्र विभागले गलत शैलीमा बनाइएका सम्पदाको काम ‘ड्रप’ गर्दै आएको छ।

जयबागेश्वरी मात्र नभई पाशुपत क्षेत्रको भण्डार, ६४ शिवलिंग रहेको क्षेत्रलगायत संवेदनशील स्थान धमाधम भत्काइएको छ। दसैं सकिएलगत्तै यस कार्यलाई अझै तीव्रता दिइँदै छ। विश्वसम्पदा क्षेत्रका संरचना नियम नपुर्‍याई ठेकेदारको भरमा भत्काउन लागिएको छ। जयबागेश्वरी मन्दिर पुनर्निर्माण र पशुपति प्रांगणमा हुने सबै काममा पुरातत्त्वले विशेष निगरानी दिएको भनिए पनि त्यसो नभएको भण्डारी बताउँछन्। जयबागेश्वरीको मन्दिरको बाहिरी संरचना भत्काएपछि मूर्तिको सुरक्षामा समेत ध्यान दिइएको छैन। थप सुरक्षा व्यवस्थामा पहल नभएको भण्डारीले बताए।

संस्कृतिविद् हरिराम जोशीका अनुसार जयबागेश्वरी १३ सय वर्ष पुरानो मन्दिर हो। किरातकालमा बनेको यो मन्दिर लिच्छविकालमा पुनर्निर्माण गरिएको विभिन्न अनुसन्धानले देखाएका छन्। त्यतिबेला मन्दिर पुनर्निर्माण गर्दा माटोले नै बनाइएको थियो।

महासरस्वती, महाकाली, महालक्ष्मीको प्रतीक यस मन्दिरसँग सतीप्रथाको प्रसंगसमेत जोडिएको छ। संस्कृतिविद् जोशी भन्छन्, ‘सती जानुभन्दा अगाडि महिलाले आफ्ना गरगहना यसै मन्दिरमा चढाएर आर्यघाट प्रवेश गर्थे।’ राजा–महाराजाले समेत गहना चढाउने जयबागेश्वरी मन्दिरलाई सबैभन्दा धनी मन्दिर मानिन्छ। भीमसेन थापाकी पत्नीले समेत यही मन्दिरमा आफूले पहिरेका गहना चढाएर सती गएको जोशी बताउँछन्।

पशुपतिको मुख्य शक्तिपीठमध्ये जयबागेश्वरी पनि एक हो। जयबागेश्वरीको तीन तलामध्ये पहिलो तला भत्काउँदा अर्काे मन्दिर फेला परेको थियो। जसमा तीनवटा मूर्ति थिए। तर, यसलाई संरक्षण र सम्वद्र्धन गर्ने पक्षमा पशुपति क्षेत्र विकास कोष नै संवेदनशील देखिएको छैन ।

मन्दिर बनाउने जिम्मा पाएको तुलसी कन्स्ट्रक्सनले नै मन्दिर भत्काउन सुरु गरेको थियो । ३ करोड १४ लाख रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.