थवई जातिको पुर्ख्यौली पेशा संकटमा
बर्दिबास : ‘मिलमै पिठो पिसिन्छ। भान्छामा मसला पिँध्ने मिक्स्चर मेसिन आयो। सिलौटो र जाँतो बिक्ने छाडिसक्यो’, महोत्तरी गौशालाका अशोक थवई भन्छन्, ‘जीवन कसरी चलाउने, हातमा अरू सीप छैन।’ ढुंगा कोप्ने अनि सिलौटो र जाँतो बनाउने उनको पुख्यौली पेशा हो।
थवईको तराईको अल्पसंख्यक जाति हो। आधुनिकतासँगै ढुंगा कोप्ने उनको पुस्तौनी पेशा संकटमा छ। पहिलेजस्तो अहिले पत्थर ल्याउन पनि कठिन छ। भीर र खोला संरक्षण गर्ने भन्दै पत्थर निकाल्न वन समितिहरूले रोक लगाएका छन्। कहीं कतै कर तिरेर पत्थर निकाल्न दिइरहेको उनले सुनाए। महिनौं दिन अशोक सर्लाहीका खोला र भीरमा बास बस्छन्। चट्टानमा हम्बर बजार्छन्। पत्थर फुटाउँछन्। एक ट्रयाक्टर जम्मा भएपछि बर्दिबास फर्किन्छन्।

थवई जाति पत्थर कोप्न सिपालु छन्। उमेरले ५० पुगेका उनी भन्छन्, ‘छिनोले कुद््दै ढुंगालाई सिलौटो र जाँतो आकार दिन्छौं, ग्राहक लोभ्याउन त्यसमा रंगविरंग फूलबुट्टा पनि खोप्छौं।’ बर्दिबासस्थित ट्राफिक प्रहरी कार्यालयपूर्व उनी ढुंगा कोपिरहेका भेटिन्छन्। उत्पादन सोचेजस्तो बिक्री नहुँदा उनी पिरोलिएका छन्। उनीहरूको सम्पत्तिको नाउँमा हथौडा, हमर, सिलौटो, जाँतो राखेर ढुवानी गर्ने तीनवटा घोडा छन्। ‘सरकारले नागरिकता दिएको छ, अब जग्गा दिएर घर बनादिँदा हाम्रो पनि सुखको दिन सुरु हुन्थ्यो’, उनी भन्छन्।
गरिबीले अशोकले स्कूलको मुखसम्म देख्न पाएनन्। बच्चैदेखि उनी हथौडा र छिनोसँग अभ्यस्त बने। अर्जुन, करण र विकास गरी अशोकका तीन छोरा छन्। कोही पढेका छैनन्। जीवनभर अभाव हुँदा सन्तान पढाउन नसकिएको अशोकले सुनाए। ‘पढाउनुभन्दा छोराछोरी हुर्काउन गाह्रो भयो’, सपरिवार पुख्र्यौली पेशा अंगालेका अशोक भन्छन्।
प्रतिक्रिया दिनुहोस !