वडाध्यक्षले कुटे सेवाग्राहीलाई
बर्दिबास : महोत्तरीको बर्दिबास नगरपालिका–१२ का वडाध्यक्ष रामकिशोर साहले सेवाग्राहीलाई कुटेका छन्। न्याय माग्न वडा कार्यालय गएका बिजलपुराका २३ बर्षीय सुनिलकुमार महतोलाई वडाध्यक्ष साहले कुटेर घाइते बनाएको आरोपमा उजुरी परेको छ। प्रहरीले वडाध्यक्षविरुद्ध उजुरी दर्ता गर्न नमानेपछि पीडितले हुलाकमार्फत ‘उजुरी चिठी’ पठाएका थिए।
न्यायको लागि सहयोग गरि दिन पीडितले सञ्चारकर्मी समक्ष पनि आग्रह गरेका छन्। दुई साताअघि पीडित महतोले चोरलाई कारवाही गर्न वडा कार्यालयमा निवेदन दिएका थिए। गत मंगलबार वडा कार्यालयले सुनिललाई बोलाएको थियो। छलफलका क्रममा विवाद विवाद भएपछि वडाध्यक्ष र उनको भाई राजकुमार साहले महतोमाथि निर्घात कुटपिट गरेका थिए।

सुनिल र उनका बुवा लक्ष्मेश्वर महतो
घटना स्थलबाटै फोन गरेर प्रहरीसँग गुहार मागेका सुनिलका बुवा लक्ष्मेश्वर महतोलाई पनि उनीहरुले कुटपिट गरेका पीडितको भनाइ छ। कुटाइबाट सुनिलको टाउको र खुट्टामा चोट लागेको छ। बर्दिबासस्थित बेटर नेपाल हस्पिटमा प्राथमिक उपचारपछि थप उपचारको लागि उनलाई काठमाडौं पठाइएको छ। उपचारपछि पीडित घर पर्किएका छन्।
‘एक वर्षअघि वडाध्यक्ष वडा कार्यालयको टेवलमा खुट्टा तन्काएर सुत्नुभएको थियो। मैले फोटो खिचेर पत्रकारलाई दिएँ। समाचार भाइरल भयो’, पीडित सुनिलले भने, ‘वडाध्यक्षले मलाई गाली गर्नुभयो। न्याय माग्न वडा कार्यालय जाँदा तँ होइन मेरो फोटो खिचेर भाइरल बनाउने? तँलाई खोजिरहेको थिएँ, आज फेला परिस् भन्दै झापट हान्नुभयो। उहाँको भाइले पनि हात हालेपछि म बेहोस् भएछु।’
वडाध्यक्ष वडा कार्यालयको टेवलमा खुट्टा तन्काएर सुतेको समाचार २०७५ साउन ३० गते अन्नपूर्ण पोस्ट् अनलाईमा प्रकाशित भएको थियो। जनप्रतिनिधिबाट कानुन विपरित काम भएको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल महोत्तरीका अध्यक्ष प्रेम भुजेलले बताए। ‘वडाध्यक्षको गतिविधिले मानअधिकार हनन् भएको छ, उहाँलाई हदैसम्मको कारवाही हुनुपर्छ’, उनले भने।
वडाध्यक्षले आफुलाई पीडित सुनिलले तथानाम गाली एवं अपमान गरेको भन्दै घटनालगतै इलाका प्रहरी कार्यालय बर्दिबासमा उजुरी गरेका थिए।
आफुले सुनिललाई कुटपीट नगरेको वडाध्यक्ष साहको दावी छ। वडाध्यक्षले सेवाग्राही कुटेकोबारे लिखित उजुरी नपरेका इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी निशान थापाले बताए। ‘पीडितलाई लिखित उजुरी, उपचार गराएको विरामी पूर्जा लिएर आउन भनेका थियौं। आउनु भएको छैन। उजुरी आए घटनाबारे कानुनअनुसार अनुसन्धान हुन्छ’, उनले भने।
प्रतिक्रिया दिनुहोस !