बलियो पुलिसलाई उत्साही चितवनको चुनौती

बलियो पुलिसलाई उत्साही चितवनको चुनौती

चितवन : जेसिज विकास रनिङ सिल्ड फुटबल प्रतियोगिताका लागि शनिबार विभागीय टोली नेपाल पुलिस क्लबलाई घरेलु टोली चितवन–११ ले चुनौती दिँदैछ। दुवै टोली उपाधि जितेर आफूलाई अब्बल सावित गर्ने धुनमा छन। पुलिस क्लब घरेलु फुटबलमा गहकिलो इतिहास बोकेको टोली हो। अर्कोतिर चितवन–११ पनि बलिया प्रतिद्वन्द्वीहरूलाई पाखा लगाउँदै फाइनलमा पुगेको टोली हो। चितवन–११ लाई घरेलु समर्थकको पनि गतिलो साथ रहने पक्का छ।

फाइनल खेल नारायणगढको क्याम्पाचौरमा हुनेछ। सेमिफाइनलमा पुलिस क्लबले संकटा क्लबलाई र चितवन–११ ले त्रिभुवन आर्मी क्लबलाई हराएको थियो। छोटो तयारीका बीच फाइनल यात्रा तय गरेको चितवनलाई घरेलु मैदानको पनि भरोसा छ। चितवन–११ का प्रशिक्षक विजय घले पनि घरेलु मैदान र युवा खेलाडीको साथ आफ्नो उपाधि जित्ने बलियो आधार भएको बताउँछन्।

‘पुलिस बलियो टोली भए पनि हामी दबाबमा आएर खेल्दैनौं। विपक्षीको खेल र खेलाडीअनुसारको प्लानिङ गरेका छौं’, प्रशिक्षक घले भन्छन्। चितवनको प्लेइङ–११ मा चारजना बाहिरका खेलाडी छन्। गोलरक्षक सोवत गुरुङ, सरोज योञ्जन, जितेस गुरुङ र सुरजसिंह ठकुरी चितवनबाहिरका खेलाडी हुन्। सरोज र चितवन–११ का कप्तान रुमेश बर्तौलाले ‘ए’ डिभिजन खेलेका खेलाडी हुन्।

सेमिफाइनलमा चितवन–११ ले खेलाडी भित्र्याएको हो। चितवन–११ ले बन्द प्रशिक्षणबिना नै टोली मैदानमा उतारेर पनि फाइनलसम्म पुग्नुलाई आफ्नो उपलब्धि मानेको छ। ‘फाइनलमा पनि ३० प्रतिशत खेल समर्थकले खेल्छन्। हाम्रो जितमा घरेलु समर्थक बलियो आधार बन्नेछन्’, चितवन–११ का कप्तान बर्तौला भन्छन्, ‘हामी घरेलु मैदानको भरपूर उपयोग गर्ने योजनामा छौं।’

अर्कोतिर निकै बलियो टोली मानिएको पुलिस क्लबलाई पनि आफ्नो साख जोगाउन चितवन–११ लाई जित्नैपर्ने दबाब छ। आर्मी क्लबलाई पराजित गरेको टोली भएका कारण पनि पुलिस क्लबले फाइनलमा आफ्नो प्रतिद्वन्द्वीलाई कमजोर आँकेको छैन। त्यसैले चितवन–११ लाई बलियो दाबेदारका रूपमा लिएर पुलिस क्लब मैदानमा ओर्लने रणनीतिमा छ।

चितवनमा रहेका युवा खेलाडीलाई पनि पुलिस क्ल्बले ठूलै चुनौतीका रूपमा लिएको छ। खेल र दर्शकको मन जित्ने गरी मैदानमा ओर्लने तयारी गरेको पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापा बताउँछन्। ‘हामी हरेक टोलीलाई उत्तिकै बलियो र हरेक खेललाई पहिलो खेल मान्छौं’, प्रशिक्षक थापा भन्छन्, ‘त्यसैले फाइनलमा हाम्रो एकमात्र लक्ष्य उपाधि हुनेछ।’

थापाले २०५५ सालमा धरान फुटबल क्लबका लागि विकास सिल्ड खेलेका थिए। त्यति बेला धरानले उपाधि जितेको थियो। यसपटक भने उनी प्रशिक्षकको भूमिकामा प्रतियोगिताको उपाधि उचालेर इतिहास रच्ने दाउमा छन्। पुलिस क्लबका कप्तान भरत शाह पनि चितवन–११ लाई बलियो प्रतिद्वन्द्वी मान्छन्।

प्रतियोगिताको विजेताले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार हात पार्नेछ। उपविजेताको भागमा तीन लाख तीन हजार तीन सय ३३ रुपैयाँ पुरस्कार पर्नेछ। शुक्रबार क्याम्पा चौरमा आयोजित पत्रकार सम्मेलनमा पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापा, कप्तान भरत शाह, चितवन–११ का प्रशिक्षक विजय घले, कप्तान रुमेश बर्तौला र नारायणगढ जेसिजका अध्यक्ष विकासमान श्रेष्ठले ट्रफी सार्वजनिक गरेका थिए।

फुटबलमा चार दशकको इतिहास बनाएको विकास रनिङ सिल्डलाई जेसिज कपसँग मर्ज गरिएको हो। २०३१ सालमा पहिलो पटक विकास रनिङ सिल्ड आयोजना भएको थियो। तर लामो समय प्रतियोगिताले निरन्तरता पाउन सकेन। २०७३ सालमा प्रतियोगिता १३औं संस्करण आयोजना भएको थियो। जेसिज कप भने पहिलो पटक २०७४ सालमा आयोजना भएको थियो। यस पटकदेखि दुवै प्रतियोगितालाई मिलाएर जेसिज विकास रनिङ सिल्डको नाममा सञ्चालन गरिएको हो। आर्थिक अभाव भएपछि दुवै प्रतियोगितालाई मर्ज गरिएको आयोजकले जनाएको छ। यसपटक नारायणगढ जेसिज आयोजक र चितवन जिल्ला फुटबल संघ सहआयोजक छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.