मिथिलाञ्चलको समावेशी पर्व छठ

मिथिलाञ्चलको समावेशी पर्व छठ

छठ पर्वको चहलपहल बढेको छ। परम्परागत हुने ठाउँमा साता पहिलादेखि नै छठको तयारी सुरु भइसकेको थियो। गहुँ, चामलको व्यवस्था सुरुमै गरिन्छ। यो सामान्य रूपमा न भई पूर्ण चोखोपनाले सतर्कतापूर्वक केलाएर, धोएर, सुकाएर, पिँधेर राखिन्छ। वास्तवमा यो चोखोपनाको विशिष्ट पक्ष नै यस पर्वलाई अन्य पर्वभन्दा फरक बनाउनु हो।

यसपछिका सबै सामग्री संकलनमा यही शुद्धता नै मूलमा बसेको हुन्छ। यो पर्व सोख वा रहरले गर्ने पर्व होइन। यसका प्रत्येक सामग्री बडो जतनले केटाकेटीको पहुँच बाहिर राखिनुको अर्थ पनि यही हो। १६ किसिमका अन्न र फलफूल अर्घमा राखिने चलन छ। ती सबै सामग्री चोखो राख्नुपर्ने दायित्व घरका सबै सदस्यको हुन्छ। खासगरी व्रत बस्नेको अभिभारा बढी नै हुन्छ। फलफूलमा केरा बढी महत्त्व राख्ने फल हो। केराको घरीमा सुगा नबसोस्, फल नटोकोस् भनेर परिवारका सदस्यहरू बढी सतर्क रहन्छन्।

कुने समय जनकपुरमा मनाइने छठ आज देशमा मात्रै हैन, विदेशसम्म चर्चित हुन पुगेको छ। यही निष्ठाले यसको विशिष्टता बढाएको छ। विहारको पटनामा गरिने छठले पनि निकै ख्याति कमाएको छ। त्यसको कारण पनि निष्ठा नै हो। त्यहाँ त साँंझपख लगिएका अर्घ सामग्री (ठेकुवा, भुसबा आदि) घाटमै फेरी नयाँ तयार गरी बिहानको अर्घ दिने चलन छ। चोखोपनाको यस्तो सतर्क दृष्टि विरलै पाइन्छ।

अब त काठमाडौंमा पनि छठ धुमधामका साथ मनाइन्छ। काठमाडौंमा बढ्दो मैथिलहरूको बसोवासले मात्र होइन, यहाँका स्थानीयले पनि यस पर्वप्रति आस्था र निष्ठा देखाएकाले छठ पर्व मान्ने क्रम वृद्धि भएको पक्का हो, जुन सकारात्मक संकेत हो। तर हामीले विचार गर्नुपर्ने पक्ष भनेको छठ पर्वको चोखोपनाको वैशिष्टताप्रति नवआगन्तुक व्रतालुहरूलाई राम्ररी जानकारी दिनुपर्छ। मिथिलाञ्चलका गाउँगाउँमा गरिने छठ पर्वको पृष्ठभूमिमा भाकलले नै प्रमुखता पाइरहेको हुन्छ। यो अद्भुत विश्वासको परिणाम हो। भाकल पूरा हुनु नै पर्वप्रतिको अटुट आस्था हो। त्यसले पनि कठोर साधना गरेर चार दिनसम्मको समयावधि बिताएर व्रत पूरा गर्नु आफैंमा अद्भुत परम्परा हो, जसको निरन्तरता पृथ्वीमा सूर्यको उदयपछि नै भएको विश्वास गरिन्छ।

आस्था, निष्ठाको यो पर्व कहिलेदेखि सुरु भयो भन्नेबारेमा प्रमाणिक अभिलेख छैन। तर धर्मग्रन्थहरूमा प्राप्त यसको प्रारम्भबारे भिन्नभिन्न कथनअनुसार पौराणिक कालदेखि नै यो मनाइँदै आएको बुझिन्छ। कतैकतै सर्वप्रथम यो पर्व अत्रीमुनिकी पत्नी अनुसुयाले गरेकी थिइन् भन्ने तथ्यहरू पाइन्छ।

छठ पर्वको विधि

छठ पर्व मनाउने दुइटा विधि प्रचलित छन्। एक शास्त्रीय र अर्को लोकविधि। सूर्य उपासनाको प्राचीन विधिले यसको शास्त्रीय स्वरूपलाई स्थापित गर्छ भने लोक–व्यवहारद्वारा मनाइने विधिले छठपर्वको समावेशी र लोकविधिलाई स्थापित गर्छ।

शास्त्रीय विधि पछिपछि सर्वमान्य र सर्वसुलभ नभएकाले पुर्खाहरूले छठीमैयाको आराधनालाई सहज र सर्वसुलभ बनाउन कृषिजन्य सामग्रीहरूको उपयोग गर्दै यस विधिको प्रारम्भ गरेको हुन सक्छ। कृषिमा आधारित हाम्रो सामाजिक व्यवस्थाले यस विधिलाई टेवा दिन सघाएको हुनसक्ने विश्वास गर्न सकिन्छ। आज यही विधि लोकप्रिय रहेको छ। यसमा न कोही राजा न कोही रंक। छठी पूजामा सम्पूर्ण सामग्री एकैनाशका हुन्छन्। कसैले चाहेर पनि ठेकुवा सुनको मनाउन पाउँदैन। भुसबा (बेसार) चानीको भुसीबाट मनाउन सकिँदैन। छठीमैयाको अघ्र्यका यिनै प्रमुख पकवान हुन्।

शास्त्रीय विधिको स्वरूप र विधान

शास्त्रीय विधिमा पुरोेहितद्वारा मन्त्रोच्चारणका साथ पूजा सम्पन्न गर्ने विधान छ। यसमा अघ्र्यको बेलामा वाचन गर्ने मन्त्रका साथ कथावाचनको अनिवार्यतासाथ विधिव्यवहारको पनि चर्चा गरिएको हुन्छ।

कथा मैथिली अथवा संस्कृतमा हुनुपर्छ वा हुनु हुँदैनमा विवाद छ। शास्त्रीय मतधारीहरू संस्कृतमै हुनुपर्छ भन्छन्। किनभने ऋषिमुनिबाट निस्केको वाणी आफ्नो ध्वनिद्वारा आध्यात्मिक प्रभाव उत्पन्न गर्छ। त्यसको अन्य भाषामा अनुवाद गरियो भने त्यतिखेरै त्यसको ध्वन्यात्मक प्रभाव समाप्त हुन पुग्छ।

छठ पर्वप्रतिको आस्था र निष्ठाका कारण मिथिलाञ्चल, काठमाडौं, मुलुकका विभिन्न ठाउँ र विदेशमा पनि छठ पर्व मान्ने क्रम वृद्धि भएकाले यसको वैशिष्टतालाई कायम राख्ने विषयमा सम्बन्धित पक्षबाट पहल थाल्न जरुरी छ।

छठसम्बन्धी एउटा कथाअनुसार एकजना सामन्तलाई उसले गरेको पूर्वजन्मको पापकै कारण कुष्ठरोग भएको थियो। उनी भौतारिँदै एकजना सन्त बाह्मणकहाँ पुगेछन्। आफ्ना व्यथा सुनाएछन्। निराकरणको उपाय सुझाउँदै ब्राह्मणले भनेछन्– कार्तिक महिनाको शुक्लपक्षमा निरामिष भोजन गरी पञ्चमी तिथिमा एकभुक्त गर्नू। जुन वस्तु खराब रूपमा उत्पन्न भएको होला अथवा जसको नाउँ सुन्दा खराब लागोस् त्यस्ता चीज नखानू। भुईंमा सुत्नू, रिस नगर्नू, पवित्रतासाथ बस्नू र मनमा श्रद्धा बनाइराख्नू।

षष्ठी तिथिमा निराहार बसी फलफूल आदि लिएर नदी अथवा कुनै जलाशयको छेउमा जानू। चन्दन, दीप, धूप, घिउमा पकाइएका विभिन्न नैवेद्य आदि व्यवस्था गर्नू। गीत, बाजा र ठूलो उत्सवका साथ भगवान् सूर्यको पूजा गरी रातो चन्दन, लाल फूल, फल र सिन्दूर, रेशमको धागो लिएर भगवान् सूर्यलाई यसरी अघ्र्य दिनू–

हे सूर्य, हे सहस्र किरणधारी, हे वैश्वानर, हे अग्निको स्वरूप, तपाईंलाई प्रणाम। तपाईं यो अघ्र्य ग्रहण गर्नोस्, हे देवाधिदेव, हे भगवान्, हे अग्निरूप, हे भानु, हामीले दिएको अघ्र्य ग्रहण गर्नोस्। तपाईंलाई प्रणाम। हे प्रकाशमान सूर्य, हे तेजका समूह, हे संसारका स्वामी, ममाथि अनुकम्पा गर्नोस्। भक्तिपूर्वक दिइएको अघ्र्य ग्रहण गर्नोस्। हे सहस्र किरणधारी सूर्य, हे तेजका समूह, हे संसारका स्वामी, तपाईं आउनोस्। हामीमाथि अनुकम्पा गर्नोस्। हे दिवाकर, हामीले प्रेमपूर्वक दिएको अघ्र्य ग्रहण गर्नोस्। यही व्रतबाट सन्तुष्ट भएर भगवान् भास्करले सबै व्रतालुको दुःख हरण गरिदिनुहुन्छ।

पर्वको लोकस्वरूप र विधान

छठलाई कठिन पर्व मानिन्छ। चार दिनको यस पर्वमा व्रतालुले दुई दिन भोकै बस्नुपर्छ। जीउ शुद्ध गर्न नुहाउने दिनलाई ‘नहाय–खाए’ भनिन्छ भने दोस्रो दिन दिनभरि उपवास रही रातमा ‘खीर’ बनाई देउतालाई चढाएर खाने विधिलाई ‘खरना’ भनिन्छ। त्यस्तै मूल दिनमा ठेकुवा, भुसबा आदि कृषिजन्य अन्नको पिठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हाती, सुप, कनसुपती, नरिवल, मूला, ज्यामिर, सुठनीसहितका सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अघ्र्य दिइन्छ। छठ पर्व हो, जसमा अस्ताञ्चलगामी सूर्यलाई पनि पूजा गर्ने परम्परा छ। बिहानपख उदाउँदै सूर्यलाई अघ्र्य दिई पर्वको समाप्ति गरिन्छ। करोडौं हात अघ्र्यका लागि एकैचोटि सूर्यतिर फर्काएर नमन गर्दाको अद्भुत दृश्य विश्वमै विरलै होला। आस्थाको यही लोकपरम्परा आज सर्वजनीन भएको छ, एकान्त आस्थाको प्रतीक भएको छ। बिहानीको अघ्र्य दिइसकेपछि व्रतालुहरू प्रसाद ग्रहण गरी आफ्नो उपवास तोड्छन् जसलाई ‘पारन’ भनिन्छ।

घाट क्षेत्रमा केटाकेटी पटाका पड्काइरहेका हुन्छन्। त्यसले वातावरणलाई उल्लासपूर्ण बनाइरहेको हुन्छ। व्रतालु महिलाले नाकदेखि कपालसम्म सिन्दूर लगाइएका हुन्छन्। अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै मनमनै प्रार्थना गरिरहेका हुन्छन्— हे सूर्य, सन्तानलाई सुखशान्ति देऊ, पतिलाई दीर्घायु बनाइदेऊ ! चर्मरोगबाट मुक्ति देऊ।

प्राचीन ग्रन्थ ऋग्वेदमा भनिएको छ— हे, आकाशकी छोरी उषा (सूर्यको पनि किरण) मलाई अन्न, धन, छोराछोरी देऊ ! वरदान देऊ कि म सधैं बिहान ओछ्यानबाट उठेर बलिष्ठ छोराहरूको मुख देख्न सकौं। (४—११)

सूर्यलाई आदि देउता पनि भनिन्छ। मानव मात्रको उदय भएपछि उसलाई सर्वप्रथम उज्यालो दिने, शरीरमा गर्मी उत्पन्न गर्ने, रोगव्याधिबाट जोगाउने सूर्य नै थिए। स्वभावतः उनी सूर्यप्रति आकर्षित भएर सूर्य आराधनाको क्रम सुरु भयो। छठ पूजामा ‘छठिमाई’ को पूजा गर्ने चलन पनि वैदिक अनुष्ठानमा तान्त्रिक (र स्मात्र्त) अनुष्ठानको सम्मि श्रण रूप नै हो। यो पर्वको सम्पादन षष्ठी तिथिमा हुने भएकाले पनि यसको तद्भव रूप छठले ‘परमेश्वरी’ को रूपमा लोकमानसमा ठाउँ पाएको हुन सक्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.