उपमहानगरको आफ्नै कलेज
धनगढी : सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर धनगढीले प्राविधिक कलेज सञ्चालन गर्ने भएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन लिएर कलेज सञ्चालन गर्ने तयारी गरेको हो।
अटो मोबाइल इन्जिनियरिङ र होटल म्यानेजमेन्टमा तीन वर्षे डिप्लोमा तहको कोर्स पढाउने गरी उपमहानगरपालिकाले आफ्नै लगानीमा कलेज सञ्चालनको तयारी गरेको शुक्रबार पत्रकार सम्मेलनमा मेयर नृपबहादुर वडले जानकारी दिए। कलेजमा भर्नाका लागि आवेदन फारम वितरण गर्ने काम सुरु भएको छ। उपमहानगरपालिकाले होटल म्यानेजमेन्टमा ४० जना र अटो मोबाइल इन्जिनियरिङमा ४८ जनाको कोटा निर्धारण गरेको छ।
पढाइ सञ्चालन धनगढीस्थित त्रिनगर माध्यमिक विद्यालय र नवदुर्गा मावि भन्सारको भवनमा हुनेछ। नवदुर्गामा १६ वटा कोठा खाली भएको जानकारी आएकाले कक्षा सोही विद्यालयमै सञ्चालन हुने सम्भावना रहेको उपमहानगरले जनाएको छ। उपमहानगरपालिकाको कार्यपालिकामा छलफल गर्न बाँकी रहे पनि उपमहानगरका १९ वडाबाट एक÷एकजना, सुदूरपश्चिम प्रदेशका नौ जिल्लाबाट एक÷एकजना, कार्यपालिकाको सिफारिसमा एक जना र १९ जना खुल्ला गरी विद्यार्थी भर्ना लिने तयारी गरिएको मेयर वडले बताए।
अटो मोबाइलमा ४८ जना भएको खुल्लाका लागि १९ सिट रहे पनि होटल म्यानेजमेन्टमा भने ४० जनालाई मात्रै राख्न सकिने भएकाले खुल्लाको कोटा घट्ने मेयर वडको भनाइ छ। अहिले तत्कालका लागि आवेदन फारम संकलन उपमहागरबाटै भइरहेको छ। कात्तिक २३ गते नै प्रवेश परीक्षा लिएर मंसिर पहिलो सातादेखि कक्षा सञ्चालन गरिने तयारी गरेको छ। स्थानीय सरकारको लगानीमा धनगढीले कलेज सञ्चालन गर्न लागेको नेपालमै दोस्रो भएको सीटीईभीटीका सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख कुष्माकर भट्टले बताए।
सीटीईभीटीका एक पटकका प्रवेश परीक्षा सकिएका छन् तर धनगढी उपमहानगरपालिकासँगको साझेदारीका लागि फेरि उसले प्रवेश परीक्षा कात्तिक २३ गते सञ्चालन गर्दैछ। बजारमा एकदमै अभाव रहेको र निजी इन्स्टिीच्यूटहरूले अध्ययन सामग्री बढी लाग्ने भएकाले बजारको माग पूरा गर्ने ढिलै भए पनि पढाइको तयारी भएको जनाएको छ। सीटीईभीटीका धेरै यस्ता कार्यक्रममा निजी क्षेत्रको पकड छ।
महंगो शुल्क लिएर छोटो समयमै धनी हुने निजी संस्थाले होटल म्यानेजमेन्टका लागि पकाउनु पर्ने धेरै समान र अटोमोबाइलका लागि गाडीका पाटपूर्जामा बढी लगानी गर्नुपर्ने भएकाले यो कार्यक्रम रुचाउँदैनन्।