देशभरका १०१ मालपोत कार्यालयमा अनलाइन सेवा

देशभरका १०१ मालपोत कार्यालयमा अनलाइन सेवा

जनकपुरधाम : जग्गा पास गराउन महोत्तरीको बलवाकी लिलमदेवी झा बुधबार मालपोत कार्यालय बर्दिबास गइन्। आदित्य डेभलोपमेन्टसँग चारजना मिलेर पाँच कठ्ठा ५ धुर बर्दिबासमा घडेरी किनेकी थिइन्।

कम्प्युटर अपरेटर महेशकुमार महतोले जग्गाधनीको नाम र नागरिकता नम्बर कम्प्युटरमा हाले। मोठ नम्बर र जग्गाधनीको विवरण कम्प्युटरमा कर्मचारीले एक क्लिकमै देखाइदिए। अनलाइन फर्ममा कम्प्युटर अपरेटरले जग्गा किन्नेको र बिक्री गर्नेको वेभ क्यामराबाटै फोटो खिचे। फिंगर प्रिन्ट लिइयो। सिग्नेचर प्याडमा हस्ते गरे। भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमा अभिलेखीकरण भयो। बर्दिबासमा मात्रै होइन, देशभरका १०१ मालपोत कार्यालयमा अनलाइनमार्फत सेवा प्रदान भइरहेको छ।

‘सेवाग्राहीलाई मालपोत कार्यालयमा आफ्नो जग्गाको मोठ खोज्नै सास्ती थियो। धेरै समय खोजे मोठमा जग्गाको अभिलेख भेटिँदैनथ्यो’, सेवा लिन मालपोत कार्यालय बर्दिबास पुगेका महोत्तरी बर्दिबासका हर्क तामाङले विगत सम्झिए। ‘एकछिनमै हुने काम धेरै दिन लाग्थ्यो। अहिले सबै सेस्ता, मोठहरू कम्प्युटरमा हालिएको छ’, उनले भने, ‘मालपोत कार्यालय अनलाइनमा गयो। सेवा लिन सजिलो भयो।’ जग्गा नागरिकको अचल सम्पत्ति हो, मालपोत कार्यालयलाई जग्गाधनीले त्यसको बैंकको रूपमा मान्छन्।

मालपोत बर्दिबासका निमित्त प्रमुख कोमलरञ्जन बराल भन्छन्, ‘जग्गाको मालपोत मोठ खोज्नु परे जग्गाधनीको नाम र नागरिकता नम्बर हाले फ्याट्टै थाहा हुन्छ। र्‍याकबाट तुरुन्तै झिकेर मोठ भिडाउने काम भइहाल्छ।’

केही कारणले जग्गाको अभिलेख च्यातियो, आगलागीमा जल्यो, धमिराले खायो वा चोरी भयो भने पनि त्यसको अभिलेख कम्प्युटरमा सुरक्षित रहन्छ। लेखापढी व्यवसायी राजन भुजेल भन्छन्, ‘मालपोत कार्यालयका मोठ, सेस्ता कम्प्यूटराइज भएपछि र्‍याक भरीका मोठका पाना पल्टाइरहने झन्झट हटेको छ। काम भरपर्दो र सुरक्षित भयो।’

अनलाइन सेवालाई प्रभावकारी बनाउन दू्रत गतिको नेट सुविधा सधैं हुनु पर्ने उनको माग छ। नेट गइहाल्यो भने सबै काम ठप्प हुन्छ। जग्गाको भाउ बढ्दै गयो। भूमाफिया सल्बलाउँदै गए। ‘कर्मचारी र जग्गादलाल मिलेर जग्गाधनीलाई थाहै नभई अर्काको नाममा पास भएको थुप्रै घटना हामीले देखेका छौं’, बर्दिबास पशुपतिनगरका अमृतकुमार महतोले भने, ‘अनलाइनमार्फत मालपोत कार्यालय सञ्चालन भएपछि गलत मनसाय लिएर कार्यालय पुग्नेको मनोबल तोडिएकोे छ।’

जग्गाधनीले आफ्नो जग्गा के, कति अवस्थामा छ भन्नेबारे घर बसी बसी थाहा पाउन सक्छन्। त्यसका लागि भूमि व्यवस्था मन्त्रालयले भू–सूचना केन्द्रको कार्यान्वयनमा ल्याएको छ। सञ्चालनमा रहेका एक सय २६ कार्यालयमध्ये १ सय १ वटा कार्यालय अनलाइनमार्फत सेवा प्रदान भइरहेको भूमि व्यवस्थापन तथा अभिलेख विभाग बबरमहल काठमाडौंका सूचना प्रविधि निर्देशक शिव पोखरेलले जनाए। काठमाडौंको कलंकीबाट गत साउन २५ गतेबाट अनलाइन सेवाको सुरुआत गरिएको थियो।

निर्देशक पोखरेलका अनुसार ८ वटा कार्यालय ढेड हप्ताभित्र अनलाइनमार्फत सेवा दिने गरी प्रविधि जडानको काम भइरहेको छ। अन्य कार्यालय चालु आर्थिक वर्षभित्र अनलाइनमा जाने स्वीकृति भइसकेको उनले बताए। ‘ मालपोत सेवा डिजिटलाइज्ड भएपछि कार्यालयको सेवा व्यवस्थित भएको छ। कमै जनशक्तिबाट छिटोछरितो सेवा प्रदान गर्न सकिएको छ’, पोखरेल भन्छन्, ‘कार्यालयमा भीड कम हुँदै गयो। कर्मचारीलाई कामको बोझ पनि घटेको छ।’

लिखत लेख्ने कानुन व्यवसायीलाई पनि अनलाइन सिस्टमले जिम्मेवार बनाएको उनले बताए। ‘पहिले केही तलमाथि भए कर्मचारीले गर्दा भयो भन्ने लिखत लेख्नेहरूले भन्थें। अब चाहिँ लिखत लेख्नेको सहीछाप, फोटो ‘सर्भरमा सेभ’ रहन्छ’, उनले थपे।

०००

मालपोत कार्यालय बर्दिबासमा अनलाइन मार्फत सेवा प्रदान गरिदै। तस्वीर, राजकरण महतो

कम्प्युटरमा मोठबाट मोठ खोजेर काममा खटिएका मालपोत कार्यालयका कर्मचारी र सेवा लिन आएका सेवाग्री। तस्वीर, राजकरण महतो


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.