अझै राजतन्त्रकालीन शैली

अझै राजतन्त्रकालीन शैली

हरेक संस्था स्थापनाको ध्येय हुन्छ। त्यो ध्येय पूरा गर्ने उद्देश्य राखिन्छ। त्यसअनुकूलको विधानसमेत बनाइन्छ। स्थापनाका केही दिन, केही महिना उत्साह र जाँगर पनि चल्छ। संस्थामार्फत समाज विकासमा योगदान पुर्‍याउँछु भन्ने स्थापनाकर्ताहरूको उद्देश्य हुन्छ। त्यो विस्तारै निष्क्रिय हुँदै जान्छ। त्यस्ता संस्था स्थापनामा लाग्नेहरूमा अवकाशप्राप्त जीवन बिताइरहेकाको बाहुल्य हुन्छ। किनकि पदमा बसेका बेलाको सम्मान अवकाश जीवनपछि पाइँदैन भन्ने ख्याल उनीहरूमा हुँदैन।

 कुनै जमाना राज्यका जिम्मेवार पदमा बसेको मान्छे भएपछि आजीवन पुजिन्छ भन्ने मान्यता बोकेकाहरूको बाहुल्य छ समाजमा। हिजो पदमा बस्दा सामान्य नागरिकलाई भेट्दा सानो भइन्छ भन्नेहरू अहिले त्यही भेट्न जाने व्यक्तिबाट सम्मानको आस गरेको हुन्छ। उसले त्यो पुरानो कुरा बिर्सन्छ। भेट्न जानेलाई थाहा हुन्छ- हिजोको तेरो शैली र औकात बिर्सिएको छु र आज सम्मानको आशा गर्ने ?

आदर्श समाजका नाममा त्यस्तै कुनै एउटा संस्था खोलेर त्यसैका नाममा राजनीति गर्ने जमात बढ्दै गएको छ यतिबेला। संस्था खोल्ने, एउटा परिचित मन्त्री बोलाउने र आफ्नो प्रभुत्व स्थापित गर्ने। मन्त्री बोलाउनुको उद्देश्य उससँग नजिकिने र राजनीतिक लाभको पद अपेक्षा गर्ने। समाजलाई नै आदर्श बनाउने ध्येय राख्ने व्यक्तिहरूलाई किन चाहियो मन्त्री नै प्रमुख अतिथि ? सरकारको उच्चपदस्थ जिम्मेवारीमा लामो समय बसेर अहिले अवकाशप्राप्त जीवन बिताइरहेकामध्ये अधिकांश यही रोगले ग्रसित छन्।

राज्यले अब तपाईंको भूमिका आवश्यक छैन भनेर अवकाश दिएको व्यक्ति त्यस्तै समाजका नाममा राजनीतिका आडमा फेरि महत्वपूर्ण भूमिकामा पुगेको हुन्छ। अनि फेरि देखाउँछ पुरानो संस्कार र प्रवृत्ति। अवकाशप्राप्त त्यही व्यक्तिको पुरानो संस्कार र प्रवृत्तिबाट उन्नत समाज निर्माणको हामी अपेक्षा गर्छौं। राजनीतिक नेतृत्व किन त्यही जमातको पछि लाग्छ ? के त्यो जिम्मेवारी वहन गर्न सक्ने उदीयमान शक्ति तय नभएकै हो त ?

बीपी कोइराला र पुष्पलालहरूको पनि पार्टी स्थापनाको ध्येय थियो-जनतालाई रैतीबाट नागरिक बनाएर आदर्श समाज निर्माण गर्ने। तत्कालीन निरंकुश शासकहरूले उनीहरूको त्यो परिकल्पना साकार पार्न दिएनन्। उनीहरू बाँचुञ्जेल त्यो उद्देश्यमा निरन्तर लागिरहे। उनीहरूको अवशानपछि त्यही पुस्ताका नेताहरूकै नेतृत्वमा त्यो उद्देश्य हासिल भयो। बहुदलीय व्यवस्था स्थापना पनि भयो।

परम्परागत राजतन्त्रकालीन सामन्ती शैलीको विरोध गरेरै हामी यो ठाउँमा आइपुगेका हौं। त्यही सोच र शैली परिवर्तन गर्न सकिन्न भने कसरी गणतन्त्र आएको मान्ने ?

बीपी र पुष्पलालहरूको आदर्श समाज स्थापनाको परिकल्पनाले मूर्तरूप पाउला भन्ने धेरैको आशा थियो। तर, क्रान्तिपछि जन्मिएको नयाँ सौखिन वर्गले त्यो क्रान्तिका उद्देश्यलाई खाइदियो। हिजो राजाले खान हुने, आज हामीले नहुने भन्ने होडबाजी चल्न थाल्यो। आज जनताको शासन, लोकतन्त्र, संघीयता, गणतन्त्र वा जेजे व्यवस्था भनिए पनि सबैले त्यही राजतन्त्रकालीन शैलीको सिको गरिरहेका छन्, हिजो राजा र कांग्रेसले खाए आज हाम्रो पालो। आज पनि सबैको त्यही उद्देश्य छ- भाषणमा आदर्श समाज स्थापना तर व्यवहारमा ठीक त्यसको उल्टो।

आदर्शको अर्थ हुन्छ, रूप, गुण र विचारको अनुकरण गर्न सुहाउँदो व्यक्ति पदार्थ वा सिद्धान्त। तर यहाँ ठीक उल्टो संस्कार र संस्कृति बस्यो। यहाँ राम्रोलाई राम्रो भन्ने र त्यसको अनुकरण गर्ने प्रचलन नै छैन। त्यही उद्देश्य प्राप्तिको खातिर जीवनभर जेलनेल भोगेका यो युगका सम्झनलायक पुरुष बीपी कोइराला बिर्सिइए। नयाँ वर्गले उनको आदर्श समाज निर्माणको परिकल्पनालाई खाइदियो र सुविधाभोगी चरित्र निर्माण गर्दै लग्यो। सत्तामा बस्नेले जनताका म्यान्डेटलाई हल्का र सामान्य ठान्ने प्रवृत्तिले प्र श्रय पायो। सत्ताको उपयोग आदर्श समाज निर्माणका खातिर नभई आगामी चुनाव कसरी जित्ने भन्ने हिसाबले गरियो। त्यही सुविधाभोगी वर्गको सिको गर्दै आफूलाई स्वघोषित अग्रज ठान्नेले आदर्श समाज निर्माणका नाममा अहिले पनि आमनागरिकलाई बेबकुफ बनाइरहेका छन्। त्यही संस्कार र संस्कृतिले निरन्तरता पाइरहने हो भने क्रान्ति, बलिदान, त्याग र तपस्याको के अर्थ ?

देशमा संघीय शासन व्यवस्था चलिरहेको छ। तर, हिजोका संस्कार र संस्कृति छाड्न सकिएको छैन। राजाका ठाउँमा राष्ट्रपति आएका मात्र हुन्। इन्द्र्रजात्रामा पैसा फाल्न जाने। टुँडीखेलमा सलामी खाने। कोजाग्रत पूर्णिमामा नवदुर्गा मन्दिरमा जाने। शिवरात्रीमा पशुपतिनाथको मन्दिरमा जाने। रातो कार्पेटमा हिँड्ने। कार्यक्रममा एउटा अलग्गै र उत्कृष्ट सोफामा बस्ने राजतन्त्रकालीन संस्कारले अझै पालो पाएको छैन। राजा बूढानीलकण्ठको मन्दिरमा जान हुँदैन भन्ने मान्यतालाई अहिले राष्ट्रपतिले निरन्तरता दिएको विषयले गणतन्त्र नांगिएको पुष्टि हुन्छ।

जनताबाट निर्वाचित राष्ट्रपतिलाई चढ्न राजाले प्रयोग गर्नेभन्दा महँगो र सुविधासम्पन्न हेलिकोप्टरको व्यवस्था भएको छ। जहाँ एउटा नारी सुत्केरी हुँदा मर्नुपर्ने अवस्था छ भने त्यस्तो राष्ट्रको राष्ट्रपतिलाई किन चाहियो महँगो हेलिकोप्टर ? त्यो हेलिकोप्टर त्यही सुत्केरी बेथाको प्र श्रव वेदनामा रहेका नारीको उद्धारमा प्रयोग गर्नुपर्छ गणतन्त्र सार्थक बनाउने हो भने।

परम्परागत राजतन्त्रकालीन सामन्ती शैलीको विरोध गरेरै हामी यो ठाउँमा आइपुगेका हौं। त्यही सोच र शैली परिवर्तन गर्न सकिन्न भने कसरी गणतन्त्र आएको मान्ने ? कहाँ र कसलाई आयो गणतन्त्र ? निमुखा र विपन्नलाई जहाँको त्यहीं छाडेर कसरी देशमा गणतन्त्र आएको मान्ने ? नागरिक सार्वभौम भएका छन् भनिएको छ, कुन नागरिक सार्वभौम भए ? आज आफ्नो भूमि अर्कोले मेरो हो भनिरहँदा त्यहाँका वासिन्दाको चित्त कति दुखेको होला ? दुईतिहाइको सत्ता मात्र गणतन्त्र हुन सक्दैन। प्रधानमन्त्री, राष्ट्रपति मन्त्रीबाहेक को सार्वभौम भएको छ ? हिजो रानी ऐश्वर्या पशुपतिनाथको दर्शनमा जान लाग्दा छेकथुनकै लागि ढुंगामुढा गरिन्थ्यो, राजनीतिको आडमा तर आज राष्ट्रपतिमाथि स्वतःस्फूर्त ढुंगामुढा हुनुपर्ने अवस्थाको आमन्त्रण शासकीय शैलीको उपज होइन ? हिजो बाँचुञ्जेल राजा हुने परम्परा थियो। तर, आज गणतन्त्रका शासक र दलका नेतालाई त्यो रोगले किन छाड्न सकेन ? कसरी गणतन्त्रको सुरक्षा भइरहन सक्छ ?

यही शैलीको निरन्तरताका लागि थियो त्यति धेरै व्यक्तिको बलिदानी ? ‘जनयुद्ध’ ? मधेस तथा जनजाति आन्दोलन ? के पायो मधेस र जनजातिले ? कहाँ हराए समानता र समृद्धिका कुरा ? मुख्यमन्त्रीको उपहार नै आदर्श समाज निर्माण भएको मान्ने ? समाजलाई उल्टो भार थप्न शासकबाट आदर्श समाज निर्माण हुन सक्दैन। पार्टी र नेताले आफूलाई नागरिकभन्दा ठूलो ठान्छ भने स्वतः वर्ग विभाजन हुन्छ। राजनीति नेता हुन वा ठूलो हुनका लागि गरिन्न। राजनीति सेवामूलक हुनुपर्छ, व्यापारिक होइन। तर यहाँ व्यापारलाई प्र श्रय दिइएको छ। समाजलाई जोडेर कसैले संस्था खोल्छ भने त्यसलाई आफू प्रतिष्ठित हुने भर्‍याङ बनाउनु हुँदैन।

राजधानीको धापासीमा पनि त्यस्तै एउटा ‘आदर्श समाज तिलिंगाटार’ स्थापना भएको छ। समाज स्थापनाको उद्देश्यमा आपसी सम्बन्ध, सद्भाव र सहयोगको विकास भनिएको छ। समाज गठनको दुई वर्ष पूरा भयो। यसबीचमा केही फलदायी अन्तरसंवाद, सन्देशमूलक र ज्ञानमूलक प्रवचन भए। हरेक क्षेत्रमा सुपरिचत व्यक्ति ल्याएर गराइएका प्रवचन कति सार्थक भए, त्यसको लेखाजोखा भएको छ कि छैन त ? समाजमा आबद्ध र उपस्थिति व्यक्ति वा दर्शकका लागि मात्र गरिएको प्रवचनले आदर्श शब्दको मान राख्न सक्छ कि सक्दैन ? हामीले समाजमार्फत दिन खोजेको सन्देश के हो ? कुनै अतिथि बोलाउने, ड्यास खडा गर्ने, सुकिलामुकिला अघि बस्ने, महिला र अन्य व्यक्ति तल बस्ने शैली आदर्श समाजको हुनु हुँदैन। शासनसत्तादेखि ठूला पार्टीमा समेत वर्ग विभाजनले समाज स्वतःस्फूर्त अघि बढ्न नसकिरहेको अवस्थामा हामी फरक रूपमा प्रस्तुत हुन सक्नुपर्छ। आदर्श समाज त्यस्तो होस् जसको ‘आदर्श’ अरूले पछ्याऊन्। हरेक ठाउँमा यही संस्थाको उदाहरण दिऊन्। परम्परागत शैलीको सिको गरेर आदर्श समाज बन्न सक्दैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.