बंगलादेशका राष्ट्रपतिको भ्रमण : उपक्षेत्रीय आर्थिक सहकार्य केन्द्रित

बंगलादेशका राष्ट्रपतिको भ्रमण : उपक्षेत्रीय आर्थिक सहकार्य केन्द्रित

काठमाडौं : बंगलादेशबाट राष्ट्रप्रमुखको औपचारिक भ्रमण हुन लागेको छ। बंगलादेशी राष्ट्रपति अब्दुल हमिदको मंगलबारदेखि हुने चार दिने नेपाल भ्रमणले द्विपक्षीय तथा उपक्षेत्रीय आर्थिक सहकार्यको सशक्तीकरणरमा उल्लेखनीय सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपाल र बंगलादेशबीच व्यापारका अतिरिक्त ऊर्जा, पर्यटन, लगानी, पारवहनका क्षेत्रमा सहकार्य गर्ने प्रयास भइरहेको छ। नेपाल र बंगलादेशले भारतसँग मिलेर ऊर्जा व्यापार, पारवहन तथा ‘मोटर भेहिकल एग्रिमेन्ट’ कार्यान्वयनमार्फत उपक्षेत्रीय सहकार्यलाई अघि बढाउन सक्नेछन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार, ढाका–काठमाडौं बस सेवा सञ्चालन गर्न भएको पत्र आदानप्रदान (लेटर अफ एक्स्चेन्ज) लाई कार्यान्वयनमा लैजान बंगलादेशी राष्ट्रपति हमिदको भ्रमणका क्रममा सम्झौता हुनसक्ने सम्भावना छ।

दुई मुलुकबीच ऊर्जा सहायता सम्झौता अघि बढाउन दुवै देशलाई लाभको अवस्था सिर्जना हुन सक्छ। नेपाल र भारत तथा भारत र बंगलादेशबीचको द्विपक्षीय बैठकमा तीन देशबीच ऊर्जा व्यापारलाई सहजीकरण गर्ने सम्बन्धमा छलफल अघि बढेको छ। नेपाल–भारत अन्तरदेशीय प्रसारणलाइन पूर्वाधारले बंगलादेशसम्म नेपालको विद्युत् व्यापार सम्भव हुने भएको हो। भारत र बंगलादेशबीच पनि यसअघि देखि नै ऊर्जा व्यापार हुँदै आएको छ। बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको दुई वर्षअघि भएको भारत भ्रमणका क्रममा नेपालमा माथिल्लो कर्णालीको विकासकर्ता जीएमआर इनर्जी इण्डिया र बंगलादेशको ‘पावर डेभलपमेन्ट बोर्ड’ बीच विद्युत् खरिद सहमति भएको छ।

बंगलादेशमा अहिले विद्युत्को उत्पादन १६,००० मेगावाट रहेको छ। सन् २०३० सम्म ३४,००० मेगावाट विद्युत् माग हुने प्रक्षेपण छ। बंगलादेश नेपालले जलविद्युत् उत्पादन गरेर स्वच्छ, नवीकरणीय र विश्वासिलो ऊर्र्जा आपूर्ति गरोस् भन्ने चाहेको छ। नेपाल, भारत र बंगलादेशबीच त्रिदेशीय सहकार्यले नेपालमा उत्पादित विद्युत् बंगलादेशी बजारसम्म पुग्न सक्छ।

बंगलादेशी राष्ट्रप्रमुखको भ्रमणअघि नेपाल र बंगलादेशबीच सघन आर्थिक सहकार्यका लागि महत्त्वपूर्ण सम्झौता भएका छन्। नेपाल र बंगलादेशका ऊर्र्जा मन्त्रीले गत वर्ष साउनमा ऊर्र्जा सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए। लामो समयदेखि थाती रहेको नेपाल र बंगलादेशबीचको दोहोरो कर उन्मुक्तिको सम्झौता हालै सम्पन्न भएको छ। दुवै देशबीच यसै महिनाको पहिलो साता सम्पन्न व्यापारवार्तामा द्विपक्षीय हितमा व्यापार सम्झौता, पारवहन र मल्टिमोडल कनेक्टिभिटी अघि बढाउने सहमति भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालका अनुसार बंगलादेशले नेपाललाई मंगला बन्दरगाह, चट्गाउँका अतिरिक्त चार सुक्खा बन्दरगाह प्रयोगका लागि सन् १९७६ को व्यापार तथा पारवहन सम्झौताबाट अनुमति दिएको हो। बंगलादेशको बन्दरगाह प्रयोग गरेर तेस्रो मुलुकसँग व्यापारका लागि रोहनपुर (बंगलादेश)–सिंहवाद (पश्चिम बंगाल, भारत) रेलमार्गको उपयोग गर्ने सम्बन्धमा पनि लामो समयदेखि गृहकार्य हुँदै आएको छ।

बंगलादेशसँगको व्यापारलाई लक्षित गर्दै नेपालले काँकडभिट्टाको सुक्खा बन्दरगाहलाई स्तरोन्नति गरेको छ। काँकडभिट्टादेखि फूलबारीसम्मको ३० किमिको दूरीमा मालबहाक ट्रक तथा बस सञ्चालनलाई सरलीकरण गर्न दुवै देशले भारतसँग पहल गर्दै आएका छन्। ‘चिकेन नेक’ भनिने काँकडभिट्टादेखि फूलबारी (बंगलाबन्ध)सम्मको नेपाल बंगलादेशबीच छोटो दूरीको यो भूभागलाई भारतले सुरक्षा संवेदनशीलता देखाउँदै मालबहाक सवारीको निर्बाध आवतजावतलाई प्रभावित बनाएको छ।

नेपाल–भारत वाणिज्य सन्धिको प्रावधानअनुसार नेपालले तेस्रो देशलाई बजार पहुँचमा दिएको सुविधा भारतले स्वतः पाउने उल्लेख छ। भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। कुल आयातको ६५ प्रतिशत भारतबाट आयात हुने हुँदा नेपालले द्विपक्षीय बजार पहुँचका लागि अन्य मुलुकलाई दिए सरह सुविधा भारतलाई दिन सक्दैन।

नेपाल र भारतबीच वाणिज्य सन्धि नवीकरणको प्रक्रियामा रहेका हुँदा नेपालले तेस्रो मुलुकलाई दिएको सुविधा भारतलाई दिन बाध्यकारी नहुने व्यवस्था समावेश गरी व्यापार विविधीकरण गर्न सक्छ। एकअर्को देशका बजारमा सहज प्रवेशका लागि पहल गर्न सकिने पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझा बताउँछन्। नेपालले विगत वर्षमा बंगलादेशसँगको व्यापार नाफा रहँदै आएको भए पनि पछिल्ला वर्षमा भने क्रमशः घाटाको स्थितिमा आइपुगेको छ। बंगलादेशबाट नेपालले तयारी पोसाक, जुस, प्लास्टिकका भाँडालगायत वस्तु आयात गर्दै आएको छ। नेपालबाट बंगलादेश निकासी हुने सबैभन्दा प्रमुख वस्तुका रूपमा मुसुरोको दाल रहेको थियो। बंगलादेशले आफैं उत्पादन बढाएसँगै दाल निकासीमा कमी आउँदा व्यापारघाटाको अवस्थामा पुगेको हो।

तयारी पोसाक निर्यातमा विश्वबजारमा प्रतिस्पर्धी देखिएको बंगलादेश चीनपछि विश्व बजारमा सबैभन्दा बढी तयारी पोशाक निर्यात गर्ने राष्ट्र हो। बंगलादेशको अर्थतन्त्रको सबैभन्दा सशक्त तयारी पोसाक उद्योगले वार्षिक ३० अर्ब अमेरिकी डलरको निर्यात गर्दै आएको छ।

केही महिनाअघि बंगालादेशी निर्यातकर्ताले काठमाडौंमा स्थापना गरेको तयारीपोसाकको आउटलेटको उद्घाटन गर्दै बंगलादेशी राजदूत मास्फी बिन्ते साम्सले नेपालले तयारी पोसाक उद्योगमा लगानी भित्त्याउन पहल गर्नुपर्ने बताएकी थिइन्। राजदूत साम्सले बंगलादेशको लगानी र प्रविधिले नेपालले तयारीपोेसाक र मूल्य शृंखलामा आधारित यसका सहायक उद्योग विस्तार गर्न सक्ने उल्लेख गरेकी थिइन्। यसका अतिरिक्त बंगलादेशको प्रमुख जुस निर्यातकर्ता प्रान जुसले नेपालमै उद्योग स्थापना गरेर उत्पादन गर्न छलफल अघि बढाइरहेको छ। बंगलादेशका प्रतिस्पर्धी यी उद्योग नेपालमा भित्त्याउन सके यसले नेपालमा उत्पादन विकास र रोजगारी सिर्जनामा योगदान गर्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.