सुगाले मनायो ७० औँ जन्मदिवस
सामान्यतः सुगा बढी बाँच्यो भने ५० वर्षसम्म बाँच्छ। तर, अमेरिकाको जर्सीस्थित सेन्ट हेलियर नगरमा रहेको रुज बुइया स्कुलको एउटा सुगाले गत हप्ता आफ्नो ७० औँ जन्मदिवस मनायो।
उसको नाम सिम हो। सन् १९८८ देखि ऊ रुज बुइया स्कुलको घरपालुवा पन्छी रहिआएको छ। ऊ स्कुलको महत्त्वपूर्ण सदस्य हो।
सुगा सिमले जीवनमा धेरै उतारचढाव भोगेको छ। स्कुलमा आइपुग्नुअघि ऊ एउटा खेलौना पसलमा थियो। सन् १९९१ मा स्कुलको छानोमा आगो लाग्दा सिमले झण्डै ज्यान गुमाएको थियो।
स्कुलका विद्यार्थी सिमको हेरचाह गर्छन्। उनीहरू उसलाई खुवाउँछन्, पियाउँछन्। उसको पिँजडा सफा गरिदिन्छन्।
सिमको ७० औँ जन्मदिवसमा केटाकेटीले उसको पिँजडालाई असाध्यै राम्रो बनाएर सिँगारेका थिए। उसका लागि मीठो केक बनाइएको थियो। जन्मदिनको केक सिम र स–साना विद्यार्थीले खाएका थिए।
सिमको स्याहार गर्ने एक जना पाँच वर्षीय बालक भन्छन्, ‘सिमको हेरचाह गर्न हामी तँछाडमछाड गर्छौं। उसलाई खुवाउने र उसको पिँजडा सफा गर्न प्रतिस्पर्धा नै चल्छ। कहिलेकाहीँ सिमले पिँजडामा धेरै फोहोर गर्छ।’
अर्का छ वर्षीय विद्यार्थी भन्छन्, ‘सिम कुरा गर्न सक्छ। उसले हामीलाई ‘हेलो’ भन्छ। हामी उसलाई एकदमै माया गर्छौं। ऊ पनि हामीलाई माया गर्छ।’
स्कुलकी उपप्रधानाध्यापक जेस डोयल सिमलाई विद्यार्थीका पुस्तौँपुस्ताले सम्झिने बताउँछिन्। भन्छिन्, ‘सिमको उपस्थिति स्कुलका लागि निकै प्रिय छ। ऊ थुप्रै विद्यार्थीको प्रिय चरा हो। स्कुलमा आउने नयाँ केटाकेटी हडबडाएका हुन्छन्। जब उनीहरू सिमलाई देख्छन्, उनीहरूलाई भरोसा मिल्छ। सिम उनीहरूसँग मीठो कुराकानी गर्छ। हेलो भन्छ।’ सिमकै कारण स–साना विद्यार्थीले स्कुललाई माया गरेको डोयल बताउँछिन्।