खुसीको अर्थ र परिभाषा
सन् २०२१ का लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी)को आवेदन दिने म्याद यही नोभेम्बर ५ मा समाप्त भयो। धेरै नेपालीले डीभी भर्नकै लागि पासपोर्ट बनाए अनि डीभी भरे। तर अमेरिका नेपालबाट सोचेजस्तो सहज छैन। नेपालमा गज्जपको जागिर गरिरहेकाहरू डीभी परेर अमेरिका भित्रिएपछिका कथाव्यथामध्येको यो एक सत्यघटना हो। एक प्रतिनिधि पात्र हुन्, सरोज शर्मा (नाम परिवर्तन)। नेपालमा निजामती सेवामा अधिकृत रहेका शर्मा सन् २०१२ मा डीभी परेर अमेरिका आएका थिए। त्यसपछि उनको जीवनमा आएका उतारचढाव :
हुन त उनी त्यति सपना देख्दैनन् अचेल। देखून् पनि कसरी ? सपना देख्ने भनेको रातमा हो। रातभरि उनी सुत्नै पाउँदैनन्। अमेरिकामा सपना देख्ने सपनामा बाँचिरहेका लाखौंमध्ये एक हुन् उनी। तर विगत केही वर्ष अगाडिजस्तो रातमा सपना देख्न उनीसँग समय छैन। पहिलाका जस्ता सुनौला दिन जीवनमा फर्किएर आउने हुन् या हैनन् ? त्यो पनि निश्चित छैन। त्यसैले अचेल सपना र सपना देख्ने कुरामा उनको खासै रुचि छैन। रुचि छ त केवल विगतको सम्झनामा। उनलाई अहिले पनि लाग्छ, ‘मेरो जीवनमा त्यस्ता पनि दिन थिए है !’
जीवनको कथा सुरु हुन्छ तनहुँबाट। अनि सपनासहितको सफलताको कथा सुरु हुन्छ पोखराबाट। अनि सपनाको अन्त्य र निराशाको कथा सुरु हुन्छ, काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट।
उनी सामान्य आर्थिक अवस्था भएको परिवारमा जन्मिए। तर बाबुआमाले आफूले खाईनखाई उनलाई पढाए। त्यही जन्म, शिक्षा अनि दैनिकीबाट जीवनको सुरुआत भयो। यसपछि पोखरामा गएर क्याम्पस पढे। सँगसँगै मेहनतसाथ लोक सेवा पढे। पहिलोपटक खरिदारमा नाम निकाले। यो उनको सफलताको सुरुआत थियो। लोक सेवामा भनसुन, नातावाद कृपावाद, घुस केही चल्दो रहेनछ भन्ने थाहा पाए। मेहनत गर्ने हो भने देशको प्रशासनको उपल्लो तहमै पुग्न सक्छु भन्ने आत्मविश्वास बटुले। सपना देखे। आत्मविश्वासका साथ सपनालाई पछ्याउँदै मेहनत गर्दै गए। अनि नायब सुब्बा हँदै अधिकृत भए।
अनि लहडैलहडमा भरेको डीभी पर्यो। अमेरिका पुगेपछि के के हुन्छ भन्ने उत्कट आकांक्षाले नराम्रोसँग बेर्यो। यही आकांक्षा र चाहना बोक्दै परिवारैसहित नेपाल छाडे। उनी यसलाई सपनाको अन्त्य र नैराश्यको कथा सुरुआत मान्छन्। जीवनको र सफलताको कथाले उनलाई आज पनि आनन्द दिन्छ। तर नैराश्यको कथा भोगिरहेका छन्। यसले उनलाई नमीठो पीडा दिन्छ। कहिलेकाहीँ एकान्तमा आँसु दिन्छ। कुनै कुनै बेला आँखामा महासागरको भेल बग्छ। फेरि सम्हालेर बाँध्छन् भेललाई। अनि पेपर टावलले विस्तारै पुस्छन् आँसुलाई।
नेपालमा शान, सौकत र इज्जतको जागिर थियो। कार्यालयमा उनीअन्तर्गतका केही नायब सुब्बा, खरिदार तथा सहयोगी काम गर्थे। उनलाई सम्मान गर्थे। हरेक दिन कार्यालय जान रहर लाग्थ्यो। कार्यालयबाट निस्किँदा पनि थाकेको महसुस कहिल्यै गर्नु पर्दैनथ्यो। बिहान १० बजे कार्यालय पुगेर ५ बजे निस्किन्थे। कुनै दिन साथीभाइसँग चिया खान्थे। नत्र समयमै घर पुगेर उपसचिवका लागि लोक सेवा तयारी गर्थे। उनकी श्रीमती पनि बैंकमा काम गर्थिन्। दुवैको आम्दानी खासै नराम्रो थिएन। नेपालमा उच्च आम्दानी थियो। अफिसकै गाडीमा आउजाउ गर्थे। इन्धन खर्च, मर्मतसम्भार सबै कार्यालयले नै गरिदिथ्यो। आफ्नो खर्च हुँदैनथ्यो। समग्रमा भन्दा अत्यन्तै सम्मानित र सुखसयलसहितको जीवन थियो।
यद्यपि आफूले बिताइरहेको जीवन कति गुणस्तरीय हो र सम्मानित हो भन्ने उनलाई राम्रोसँग थाहै भएन। बरु अमेरिकामा जीवन थप सम्मानित र गुणस्तरीय हुन्छ कि भन्ने आशामा नियमित डीभी भर्थे। सन् २०१२ मा उनलाई डीभी पर्यो। डीभी परेपछि खुसी नहुने कुरै भएन। त्यो बेलासम्म डीभी पीआर लिएकालाई जागिर छाडिहाल्नुपर्ने कानुन थिएन। तर पनि उनी अलि बढी नै आत्मविश्वासी देखिए या हौसिए। जागिर राजीनामा दिए। श्रीमतीले पनि जागिर छाडिन्। अनि परिवार नै अमेरिका भित्रिए। ‘हाँसिखुसी हिँडेको यो बाटो त नैराश्य र दुःखको लामो सुरुङ रहेछ, जति हिँड्दा पनि सुखरूपी उज्यालो भेट्नै नसकिने’, उनले लामो सुस्केरा हाल्दै भने, ‘अब त यो सुरुङ पार गर्दा नगर्दै जीवन नै सकिन्छ जस्तो लाग्छ।’
अंग्रेजी भाषामा अलि कमजोर उनलाई यहाँ विश्वविद्यालयमा पढ्न सहज भएन। बरु श्रीमतीको भाषामा पकड थियो। यद्यपि अमेरिका भित्रिनेबित्तिकै पढ्न सक्ने अवस्था भएन। पढ्नलाई ऋण त पाइन्छ तर राम्रो क्रेडिट हिस्ट्री हुनुपर्छ। त्यो उनीहरूको बनिसकेको थिएन। त्यसैले बाँच्नका लागि काम गर्नुको विकल्प थिएन। अमेरिकामा बाँच्नु पनि पर्यो। त्यसैले दुवैले सामान्य सुपर मार्केटमा काम सुरु गरे। अलिअलि पैसा जम्मा गरेपछि उनकी श्रीमतीले पढ्न थालिन्।
उनले नर्सिङको प्रोफेसनल कोर्स गरिन्। अध्ययन सकिएपछि आफ्नै व्यावसायिक जागिर सुरु गरिन्। उनले पढेनन्। सुरुसुरुमा साह्रै धेरै गह्रौंजस्तो लाग्थ्यो। तर बिस्तारै पैसा नै सबै कुरा हो भन्ने लाग्न थाल्यो उनलाई। ‘आखिर पढेर पनि पैसा नै कमाउने हो, अमेरिकामा इज्जत र सम्मान अब हाम्रो पुस्ताले कमाउन सक्दैन भन्ने निश्चित भएँ’, उनले सुनाए, ‘त्यसैले म पढ्नेतिर खासै लागिनँ, बरु काम गर्नेतिरै लागेँ।’
उनी अहिले मोटलमा काम गर्छन्। मोटल भनेको करिबकरिब नेपालको गेस्ट हाउस भनेजस्तै हो; जहाँ खानेकुरा पाइँदैन, सुत्नका लागि कोठा मात्र पाइन्छ। उनको परिवार बस्नका लागि मोटलले नै अपार्टमेन्ट दिएको छ। उनी हप्तामा तीन रात फ्रन्ट डेस्कमा बसेर काम गर्छन्। अन्य समय कोठा सरसफाइको काम गर्छन्। मोटलले काम गर्नेलाई निःशुल्क अपार्टमेन्ट दिएको छ। अपार्टमेन्टको पैसा तिर्नु नपर्दा मात्रै करिब आठ सय डलर मासिक जोगिन्छ। उनी हरेक दिन कोठा सरसफाइ गर्छन्। राति फ्रन्ट डेस्कमा बसेर काम गर्छन्। ‘पैसा त राम्रै कमाइ हुन्छ तर समय हुन्न’, उनले भने, ‘त्यसैले पढ्ने समय पनि मिलाउन सकिनँ, अब मिल्दैन पनि होला।’
राति फ्रन्ट डेस्कमा काम गर्नु आफैंमा जोखिमयुक्त काम हो। उनले पनि पटकपटक यस्तो जोखिम भोगेका छन्। रातको समयमा कतिपय लुटेरा आउँछन्। पेस्तोल लिएर आएका लुटेराहरूले रजिस्टरमा भएको पैसा लुटेर लैजान्छन्। उनले दुई पटक यस्तो अवस्था भोगिसकेका छन्। आउनेबित्तिकै हात उठाएर आत्मसमर्पण गरिदिन्छु उनले भने त्यसैले अहिलेसम्म कुनै नराम्रो अवस्था भने भोग्नुपरेको छैन।
रातभर जागा बस्नुपर्दा विगतलाई पटक पटक सम्झन्छन्। पटक पटक विगतका ती सुन्दर दिन कल्पिन्छन्। कुनै मीठो सपनाजस्तै लाग्छ उनलाई। उनीसँगैका कतिपय साथीहरू उपसचिव भइसके। उनको पनि लोकसेवा पढाइ राम्रो थियो। यति बेलासम्म आफू पनि उपसचिव भइसक्ने थिएँ कि लाग्छ उनलाई। अधिकृत हुँदा नै विभिन्न तीन देश घुमिसकेका थिए। उपसचिव भएपछि त झन् धेरै घुम्ने थिएँ भन्ने पनि लाग्छ। अमेरिका आएको ६ वर्षमा पनि नागेरा फल्ससम्म पुग्न नसकेको पीडा उनको मनभित्र गुजुल्टेर बसेको छ। उच्च सम्मान पाउने थिएँ भन्ने कल्पनाले घरिघरि झापड हान्थ्यो पहिलापहिला। अब झापड खाने मन र हृदय पनि थेत्तरो भइसक्यो। अनि घाउ पनि खाटा बसिसक्यो। थेत्तरो भइसकेको हृदयलाई जति झापड हाने पनि सहँदो रहेछ। खाटा बसिसकेको घाउ पनि त केही छेस्काले छुँदैमा दुख्दैन नि। त्यस्तै भएको छ उनलाई।
अमेरिका आएको ६ वर्षमा आर्थिक जीवनले एउटा लय समातेको छ। उनले मासिक तीन हजार डलर जति कमाउँछन्। उनकी श्रीमतीले वार्षिक ५० हजार डलर जति कमाउँछन्। केही समयपछि मोटल किन्ने योजना बनाउँदैछन् उनीहरू। आफैं मालिक हुने योजनामा छन्। त्यसको केही समयपछि अमेरिकामा घर पनि किन्न गाह्रो नहोला। आर्थिक रूपमा त उनले राम्रै प्रगति गरेका छन् अहिले। तर के जीवन आर्थिक उपार्जनका लागि मात्र हो त ? के पैसाले सबै सन्तुष्टि किन्न सकिन्छ र ? उनी घरिघरि आफैंलाई प्रश्न गर्छन्। अनि कहिलेकाहीँ आफैंलार्ई गाली पनि गर्छन्, यो प्रश्न डीभी भर्ने बेलामा किन आफंैलाई सोधिनँ होला भनेर।
यति बेला उनीसँग केही पैसा त छ तर समय र सम्मान छैन। फेरि उनी त्यो मोटलको म्यानेजर छन्। एक हप्ता बिदा लिनु पर्यो भने तीन महिना अगाडिदेखि योजना बनाउनुपर्ने अवस्था छ। ‘अमेरिकामा कामका आधारमा कसैले कसैलाई राम्रो या नराम्रो भन्दैन। सबैलाई सम्मान त गर्छन् तर आत्मसम्मान भन्ने कुरा महत्वपूर्ण रहेछ’, उनले भने, ‘अरूको सम्मानको कुरा छाडौं, आत्मसम्मान भने गुमेको छ।’
अमेरिका आएपछि एक पटक मात्र नेपाल गएका थिए, त्यो पनि एक्लै। उनको परिवार त एक पटक पनि नेपाल गएको छैन आएदेखि। काठमाडौंमा घर किनेका छन् वनस्थलीमा। बूढा भएका बाबुआमालाई पैसाको अभाव त छैन तर दुःखसुखको कुरा गर्ने बुढेसकालको सहारा छोराको अभाव छ। ‘काम गर्ने मान्छे राखिदिएको त छु तर आफू भएजस्तो नहुँदो रहेछ’, उनी भन्छन्, ‘बुढेसकालमा बाबुआमालाई समेत केही गर्न सकिएन।’ हुन त उनका बाबुआमा दुई पटक अमेरिका आइसकेका छन्। तर यहाँ रमाउन सक्नुभएन। आफूले पनि घुमाउनका लागि टाढाटाढा लैजान समय नहुने, कोठामा मात्र बसिराख्दा बुवाआमालाई साह्रै सकस हुने। उनले भने, त्यसैले आउनेबित्तिकै फर्किने दिन गन्न थाल्नुहुन्छ।
अमेरिका आउनु र यहाँको नागरिक बन्नु कुनै ठूलो सफलता नभएको उनको अनुभव छ। यहाँ एउटा राम्रो कुरा भनेको व्यक्तिको न्यूनतम सुविधा र आधारभूत आवश्यकता परिपूर्तिको अवस्था राम्रो छ। काठमाडौंमा चिसो मौसममा तातो पानीले नुहाउन घरबेटी नै हुनुपर्छ। तर यहाँ हरेक धारोमा चिसो तातो पानी आउँछ। नेपालमा आफ्नै निजी गाडी चढ्न व्यापारी वा उच्च सरकारी अधिकारी हुनुपर्छ। यहाँ सामान्य लेबरले पनि चढ्न सक्छन्। साना बालबालिकालाई पार्कमा घुमाउन लैजान कुनै ठाउँ छैन काठमाडौंजस्ता सहरी क्षेत्रमा तर यहाँ हरेक बस्ती तथा टोलैपिच्छे बच्चाका लागि पार्क र खेल मैदान छन्। यस्ता केही सवालमा अमेरिका अब्बल छ, उनले भने, यस्तै कुरा भए जीवन सम्मानित हुन्छ भन्ने ठान्नेलाई यहाँ आउनु र नागरिकता लिनु ठूलो कुरा हो भन्ने लाग्नु ठीक हुन्छ। यद्यपि सम्मानित जीवन बिताउँछु, आफ्नो परिवारसँग बस्छु, सामुदायिक र सामाजिक जीवन पनि बिताउँछु भन्नेलाई अमेरिका काम छैन। अमेरिका छिर्ने पहिलो पुस्तालाई यस्तो जीवन बिताउन गाह्रो हुन्छ। दोस्रो पुस्ताले त्यस्तो अवसर निर्माण गर्न सक्छन्, उनको अन्दाज छ।
सुत्न पाएको हरेक दिन उनी नेपाल गएको सपना देख्छन्। आफ्ना साथीभाइ, ईष्टमित्रसँग भेटघाट गर्छन्। आमाको काखमा लुटुपुटु गर्दै निदाएको सपना देख्छन्। बाबुसँग बार्दलीमा बसेर उनको पालाको कुरा सुनेको, साथीहरूसँग चिया खाएको रमाएको आदि इत्यादि सपना देख्छन्। यस्ता सपनाले उनलाई पहिला पहिला साह्रै पीडा दिन्थ्यो अचेल आनन्द दिन्छ। पीडा यो अर्थमा दिन्थ्यो कि त्यो सबै कुरा किन छाडे होला भन्ने लाग्थ्यो। अचेल आनन्द यो अर्थमा दिन्छ कि कम्तीमा सपनामा भए पनि त त्यो ठाउँ पुग्न पाएको छु। तर त्यसरी सपनामा पनि नियमित नेपाल पुग्न पाउँदैनन्। किनकि रातभरि मोटलको फ्रन्ट डेस्कमा सुत्न पाइँदैन। दिउँसो सुतेर सपना देखिँदैन। एउटा नेपाली गीतले नै भन्छ नि, ‘मरिकाटे देखिँदैन दिनमा सपनी।’
[email protected]